
पोखरा – गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सरकार गठनका लागि आह्वान गरेका हुन्।
गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका छन्। धारा २ मा प्रदेश सभामा कुनै एक दलको प्रष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।
नयाँ सरकार गठनका लागि तीन दिनको समय दिइएको छ। वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको हो। विश्वासको मत पाउन नसकेपछि गण्डकीमा वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो।
चैत १० मा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए। खगराज नेतृत्वको सरकार पनि धारा १६८ को २ अनुसार गठन भएको थियो।
गण्डकीमा कांग्रेस माओवादीबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति छ। तर, को पहिला मुख्यमन्त्री बन्ने विषयमा भने विवाद छ। विवाद भएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेसहित कांग्रेसको टोली गुहार माग्दै काठमाडौँ पुगेको छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ। सत्ता साझेदार दल नेपाली कांग्रेसको २७, नेकपा माओवादी केन्द्रका ७ र एकीकृत समाजवादी पार्टीका १ सांसद भएकाले बहुमत पुग्छ।