
काठमाडौँ- काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते दिउँसै चक्कुले हानेर एक महिलाको हत्या भयो।
घटना भएको हप्ता दिन बित्दासमेत कसले हत्या गरेको हो भन्नेबारे केही खुलेको छैन। वैशाख ७ गते दिउँसो २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको हो। चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर पाण्डेको हत्या गरिएको थियो।
बागलुङ घर भएकी नीरा कपनस्थित सरस्वतीनगरमा झन्डै दशकदेखि भाडामा भाँडा पसल गरिरहेकी थिइन्। पसल उनको कोठाभन्दा केही मिनेट दूरीमा पर्थ्यो। त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ। घटना भएको दिन योगेश इलेक्ट्रोनिक्स पसलमै थिए।
त्यस दिन नीरा पसलमा एक्लै थिइन्। भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ। प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन्। यही बेला नै उनलाई आक्रमण गरिएको थियो। पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ। काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन। दर्दनाक हत्याको कसैले सुइँको समेत पाएन।
जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा आएकी थिइन्। पसलमा उनले नीरालाई देखिनन्। त्यसपछि उनका श्रीमान्लाई फोन गरेर ‘कोही छैन दोकानमा’ भनेर सोधिन्। श्रीमान्ले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नू न भन्ने जवाफ दिए। भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो। अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेको देखेपछि अत्तालिएर उनले नै प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु) ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ। उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन्।
यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए। तर नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी नै बताउँछन्। ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ। रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे अनुसन्धान गरिरहेका छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले उक्त पसल वरिपरि रहेका सीसीटीभीका फुटेज संकलन गर्ने, शंकास्पद व्यक्तिमाथि छानबिन गर्ने लगायतका अनुसन्धानका कार्यहरु गरिरहेको बताएका छन्।
‘हामी फुटेजसँगै आवश्यक प्रमाणहरु संकलन गरिरहेका छौँ,’ उनी भन्छन्, ‘घट्नाको अनुसन्धान प्राथमिकतासाथ साथ भइरहेको छ।’
प्रहरीले चाबहिलदेखि पाण्डेले सञ्चालन गरेको पसलसम्म जाने बाटोको सिसिटिभी फुटेज संकलन गरेर हत्या गरिएको समयसँगै शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेको छ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत उक्त घट्नामा चासो देखाएको छ ।