
सिमकोट – औलो रोग देखिँदै आएको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका सबै घरधुरीमा औषधि छर्कने कार्यक्रम सुुरु गर्न स्वयंसेवक परिचालन गरिएको छ। लामखुुट्ने भगाएर रोग नियन्त्रण गर्न सरोकारवाला पक्षको सहयोग समन्वयमा औषधि छर्कने कार्य गरिएको हो।
ताँजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले यो समयमा गर्मी बढेसंगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने भएकाले त्यसलाई नियन्त्रण गर्न औषधि छर्किन थालिएको बताए। यो कार्यक्रम महामारी रोग नियन्त्रण महाशाखा (ईपिडिमियोलोजी) काठमाडौं, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सुुरु भएको हो।
गत वर्ष ताँजाकोट गाउँपालिकामा सात जना बिरामीमा औलो रोग देखिएको थियो। यो रोग साउन, भदौ महिनामा देखिने गर्छ। रोग नियन्त्रणको पूर्वतयारीस्वरुप गाउँपालिकाका पाँच वटै वडाका तीन हजार १५० घरधुरीको घर, शौचालय, गोठ, कटेरोलगायत मानिसको बसोवार हुने सबैतिर औषधि छर्कने कार्य सुुरु भएको छ। १५ दिनभित्र सबैतिर औषधि छर्कने कार्य पूरा हुनेछ।
यसका लागि आठ जना स्वयंसेवक स्पे्र मेसिनसहित परिचालन गरिएको छ। स्वयंसेवकले छर्कने औषधिको अनुगमन गर्न दुुई जना सुपरभाइजरसमेत परिचालन गरिएको छ। औषधि छर्कने स्वयंसेवकका लागि एक दिने अभिमुुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।
ताँजाकोट गाउँपालिकामा ६ वर्षदेखि औंष रोग देखा पर्दै आएको छ। गत वर्ष औषधि छर्कने र झुुल वितरणको कार्यक्रम गाउँपालिकाले गर्नुपरेको थियो। गाउँपालिका अध्यक्ष लालकेश जैसीले सन २०२५ सम्म नेपाल सरकारको औलो रोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।