एउटा यस्तो सरकारी स्कूल, जो कुलीन वर्गका सन्तान पढ्ने ‘बोर्डिङ स्कुल’भन्दा कम छैन

एउटा यस्तो सरकारी स्कूल, जो कुलीन वर्गका सन्तान पढ्ने ‘बोर्डिङ स्कुल’भन्दा कम छैन
+
-

चितवन माडी नगरपालिका- ३ को रत्नी अर्थात् धोवहीमा फूस, मट्का र टिनको छाना हालेका काठको स-साना बाक्ला घरको छेउमा देखिन्छ- लामो र अग्लो दुईतले घर, जसलाई देखेर अहिलेको चल्तीको पालिकाको भवनजस्तो लाग्छ। तर त्यो भवन सरकारी स्कूलको हो, जुन श्री राष्ट्रिय आधारभूत विद्यालयको नामले परिचित छ।

राष्ट्रिय आधारभूत विद्यालय।

राष्ट्रिय आधारभूत विद्यालयको हरेक कक्षा कोठामा पस्दा कुलिन वर्गका सन्तान पढ्ने बोर्डिङ स्कुलझैँ लाग्छ। स्कूलको हरेक कोठामा आकर्षण बेन्च छ, बेन्चमा किताब र झोला राख्ने र्‍याक छ। भित्तामा ३६ इन्चको टिभी छ। सिलिङ फ्यान छ। बुक राख्ने तथा विद्यार्थीले बनाएका अनेक चित्र र मूर्ति राख्ने र्‍याक छ। भित्ताभरि अनेक ज्ञानवर्द्धक अक्षर र चित्र छन्। प्लेकार्ड छ। एउटा सिङ्गो कोठामा कम्प्युटर, ल्यापटप छ। अर्को कोठामा पुस्तकालय छ। क्यान्टिन् छ। सफा र चिटिक्क परेको बाथरुम, ट्वाइलेट, थप निर्माणाधीन चारकोठे भवन, गेटबाट भित्र पस्नेबित्तिकै देखिने विभिन्न विद्धानका विचार र कोटेशन छन्। यस्तो लाग्छ- काठमाडौँको महङ्गो बोर्डिङ स्कूल कसैले माडीको धोवहीमा सार्‍यो। र, यस सरकारी स्कूलमा अध्ययनरत ३ सय ७ जना विद्यार्थीमा कुनै बाहुनक्षेत्रीका विद्यार्थी छैनन्। किनकी रत्नी धोवही मुस्लिम, भोजपुरी, मधेसी, माझी, बोटे, आदीबासी थारूको बाक्लो बस्ती भएको गाउँ हो, जहाँका अभिभावक मजदुरी गर्छन् र स्कूल जाने उमेरका बच्चा राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययन गर्छन्। बोर्डिङ स्कूलको भन्दापनि राम्रो पूर्वाधार भएको यस सरकारी स्कूललाई सरकारले बनाएको भने होइन, न त स्थानीय सरकारले नै बनाएको हो। सहरका एकसेएक बोर्डिङ स्कूललाई मात दिने खालको नमुना स्कूल बनाएका हुन् ४५ वर्षीय बीरेन्द्रप्रसाद महतोले, जो राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

विद्यालयका प्रधानाध्यपक बीरेन्द्रप्रसाद महतो।

झट्ट हेर्दा महङ्गो बोर्डिङ्ग स्कूलको झल्को दिने स्कूल मात्रै बनाएका छैनन् बीरेन्द्रले, पालिकाभित्र पर्ने सरकारी र बोर्डिङ स्कूल मध्य कक्षा ५ सम्म गुणात्मक शिक्षा दिने स्कूलमा पनि स्थापित गरेका छन्। जुन, दुई वर्षअघि २०७७ सालमा मात्रै नमुना विद्यालयको रूपमा घोषित भएको थियो। बीरेन्द्रको सानो संघर्षले बनेको होइन यो सुन्दर सरकारी स्कूल, जसको कथा सुरू हुन्छ साठीको दशकबाट।

०००

यस्तो स्कूल कसले बनायो?
‘थारूको बच्चोले’, स्थानीयहरूलाई सोध्यो भने यस्तो भन्छन्। तीनै थारूका बच्चा अर्थात् बीरेन्द्रप्रसाद महतो २०५१ सालमा एसएलसी पास भएपछि कक्षा ११ पढ्न भर्ना भए। स्कूल भर्ना भएसँगै उनले खाली समय गाडी चलाउन थाले। माडीमै कहिले टेक्टर कहिले बस चलाउँदै कलेज पढ्दै शिक्षा सेवा आयोगको तयारी गरे र परीक्षा दिए। शिक्षा सेवा आयोगको रिजल्ट ढिलो गरी आउने थाहा पाए पछि निराश भए उनी।

विद्यालयका सञ्चालक समितिका अध्यक्ष सुत्ने ठाउँ।

‘शिक्षा सेवा आयोगको रिजल्ट आउन ढिलो हुने भएपछि निराश भएँ, पढाउने रहर मर्‍यो अनि सोचेँ विदेश जान्छु। विदेशको लागि ट्राई गरेँ’, उनले आफ्नो अनुभव सुनाए।

खाडी मुलुक साउदी अरबको लागि उनले गरेको कोसिस सफल भयो। भिसा आयो। उनी साउदी उडे। ८ घन्टासहित थप ४ घण्टा ओभर टाइम गर्दा साउदीमा महिनाको १ लाख ५० हजार तलब हुन्थ्यो उनको। काम पनि राम्रै थियो। गाउँमा टेक्टर चलाएको भएर साउदीमा पनि उनले गाडी नै चलाउँथे। उनी शिक्षा सेवा आयोगको रिजल्ट आयो। पास भए। रिजल्ट आएको थाहा पाएपछि उनको खुसीको सीमा रहेन।

‘आयोगबाट नाम निस्किएको थाहा पाएपछि मलाई साउदी बस्नै मन लागेन। न त १ लाख ५० हजार तलबको माया लाग्यो, तुरुन्तै फर्किएँ’, उनले भने।

धोवही गाउँमा २०२३ सालमा खुलेको स्कूलमा २०६१ साल नियुक्ति लिएर पढाउन थाले। ४२ सय मासिक तलबका लागि फर्किएका बीरेन्द्रलाई घरपरिवारले सत्यसराप हाले। ‘घरपरिवार त रिसाए नै, नजिकका आफन्त र चिनेका मान्छेले थारूको बच्चाको बुद्धि रहेनछ भन्दै हप्काए’, उनी भन्छन्, ‘कतिसम्म कि अहिलेको भरतपुर नगरपालिकाको एयरपोर्टनिर ४० हजार कट्टा जमिन आउँथ्यो र साउदीको कमाइले किन्न सक्थेँ, तर म धनी हुन होइन, आफूखुसी हुनतिर लागेँ।’

जसले जति भनेपनि उनले सुन्दै गए। स्कूलमा पढाउँदै गए तर आफूले पढाइरहेको सरकारी स्कूलको अवस्था र व्यवस्थापनले खुसी हुन सकेनन्। केही बोर्डिङ्ग स्कूलमा पनि उनले अनुगमन गरे तर त्यहाँ पनि चित्त बुझाउन सकेनन्। जब राष्ट्रिय आधारभूत विद्यालयको प्रध्यानाध्यापकमा २०७३ सालमा बीरेन्द्रले नियुक्ति लिए। तब स्कूलको शैक्षिक गतिविधि बदल्न जोरबलका साथ लागे। तर एक वर्ष नबित्दै २०७४ को रिह्यु खोलाको बाढीले स्कूल लगिदियो।

‘त्यो समय बाढीले मेरो गर्दन नै कटेजस्तो भएको थियो’, उनले भने, ‘त्यो पीडा मेरा लागि साह्रै असह्य भएको थियो तर मर्ज गरम् भन्नेले खुच्चिङ् भन्न पाए।’

धोवहीको १८ कट्टा जमिनमा इँट्टा, काठ, फूस र बाँसबाट निर्मित स्कूल बगाएपछि नगरपालिकाले स्कूलहरू ‘मर्ज’ गर्ने अभियान चल्यो। राष्ट्रिय आधारभूत स्कूललाई पनि ‘मर्ज’ गर्न नगरपालिकाले भन्यो। खोलाको किनार बनेको स्कूल पर्याप्त विद्यार्थी नभएको अवस्थामा विद्यालय मर्ज गर्नु एक हिसाबले ठिकै हो। तर उनले ‘मर्ज’ गर्न मानेनन्।

कक्षाकोठामा अध्ययन गर्दै विद्यार्थी।

‘नगरपालिकाले सहयोग गर्न सक्दैन। खोलाको किनारमा स्कूल खोलेर यहाँको बच्चालाई बगाउने काम नगर्नुस्। फेरि बाढी आउन सक्छ। स्कूललाई मर्ज गर्नूस् भन्दै थियो’, उनले तीतो अनुभव सुनाए, ‘हाम्रो स्कूल खासमा दलित, मुस्लिम, थारू, माझी, मुसहरका बच्चाहरू पढ्थे, तिनलाई पायक पर्ने अर्को स्कूल टाढा थियो, जहाँ पुग्न सजिलो थिएन। विद्यालय मर्ज हुनेबित्तिकै विद्यार्थीलाई टाढा हुन्थ्यो त्यसो हुँदापनि मैले मर्ज गर्न मानिनँ, एक वर्षको समय मागेँ।’

नगरपालिकाले सधैँ कचकच गरिरहेको बेला बीरेन्द्रले मनमनै अठोट गरे, ‘थारूको जिन भनेकै अन्तिममा रिसाउने हो। अन्तिममा भनेँ, ‘तपाईँहरू जानूस् यो स्कूल उठाएर देखाउँछु, भाइबहिनीलाई यही पढाउँछु।’ स्कूलको संरचना नभएपनि पाल टाँगेर मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारका बालबालिकालाई पढाउन थाले उनले। ‘देख्यौ बीरेन्द्र हामीले भनेको मानेका थिएनौँ नि अब तिम्रो स्कूल सकियो’, जसजसले स्कूल मर्ज गर्न आग्रह र अनुरोध गरेका थिए तिनैले जिस्काए,’बाढीले स्कूल लग्यो। अब कहाँ पढाउँछौँ तिम्रो विद्यार्थीलाई, हाम्रो स्कूलमा मिसाऊँ तिम्रो स्कूलका विद्यार्थीलाई।’

टेलिभिजन सहितको कक्षाकोठा।

केटीकेटीलाई नजिकै पर्ने भौतिक संरचनासहितको स्कूल बनाउनु थियो उनलाई। स्कूलका नाममा जमिन पनि हुने गरी स्कूल स्थापना गर्न मन थियो। चुनौती मोल्न तयार भए उनी। तर जग्गा छैन, कसरी काम गर्ने? सोचेजस्तो सजिलो थिएन स्कूल बनाउन।

०००

सपना देख्नेको पूरा हुन्छ भनेझैँ बीरेन्द्रले भव्य स्कूल बनेको सपना देख्न छोडेनन्। स्कूलको भौतिक संरचना बनाउनका लागि दौडधूप पनि गर्न छोडेनन्। पाल टाँगेर बालबालिकालाई पढाउँदै स्कूल उभ्याउने जमिन खोज्न थाले।

बोर्डिङ स्कूल खोले व्यवसायिक हुन खोज्नेहरूको अगाडि सरकारी स्कूललाई भव्य बनाउन खोज्दै थिए उनी। त्यसैले दिनभरि स्कूल पढाएर साँझ बस चढेर नारायणगढ जान्थे। भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढ निवासी साहु कृष्णबन्धु पियालाई भेट्थे। घरमा बास र गास दिन्थे पिया। समाजसेवी पियासँग स्कूल बनाउन जमिन दान गरिदिन अनुरोध गर्थे।

साहुको काम गर्ने, विश्वासिला पात्र बीरेन्द्रले जग्गा माग्न धर्नै दिए,’साहुजी जग्गा चाहियो, मेरा बच्चाहरु पाल टाँगेर बसेका छन्।’

तिमी आँट म पुर्‍याउँछु भनेझैँ पाँचौँ महिनाको अन्तिमतिर बीरेन्द्रले आँटेको पुर्‍याइदिए साहु पियाले। अन्तिममा स्कूलका लागि ०-१२-०७ जग्गा जमिन दान दिए पियाले। एउटा खट्को काटेजस्तै भएको थियो बीरेन्द्रलाई। जमिन पाइयो, तर भवन कसरी बनाउने?

विद्यालयको भवन निर्माणको लागि विदेशी संस्थाले सहयोग गर्छन् भन्ने उनलाई थाहा थियो। यस्तैमा उनले गुगलमा प्रपोजल हेर्न थाले। प्रपोजल लेख्न आउँथेन् उनलाई। कसले कसरी डोनेशन दिन्छ भनेर सोधपुछ गर्न थाले। एकाध अन्तर्राष्ट्रिय दातासँग उनले प्रपोजलको फोटो खिचेर पठाए। शिक्षा क्षेत्रमा काम गरेका विभिन्न संस्थालाई प्रपोजल तयार परेर पठाए। महिनौँ उनले कुनै प्रतिक्रिया पाएनन्। जब उनलाई कसैले प्रतिक्रिया दिँदैनथे तब उनलाई तनाब हुन्थ्यो। आत्तिन्थे। सोच्थे- प्रस्तावना नै भएन। कसो गर्ने?

धेरैँ जनालाई प्रपोजल पठाउने क्रममा प्रेसिडेन्ट अफ मोन्टाग्ने एण्ड पार्टेनका फ्रान्स निवासी जेरार्ड क्लिरमाइडीले दुई महिनापछि प्रतिक्रिया पठाए।

‘मैले ११ वटा संस्थालाई इमेल गरेको थिएँ। तर फ्रान्सका जेरार्डले बिस्तारै चासो देखाए’, उनी भन्छन्, ‘धावहीको स्थानीय जनजीवन झल्किने बालबालिकाको फोटो पठाएँ। विजोग फोटो पठाएपछि जेरार्डले भिजिट गर्न चासो राखे।’ २०७६ सालमा जेरार्ड नेपाल आए। बीरेन्द्रको पालले टाँगेको स्कूलका विद्यार्थीले माला र ढाका टोपी लगाएदिए पछि जेरार्डको मन थामिएन।

‘जेरार्डले के माग्छौँ माग भनेपछि मेरो आँखाबाट आँसु बग्यो। गला अबरुद्ध भयो। माग्नै सकिनँ। उनले हाम्रा आवश्यकता बुझिदिए’, बीरेन्द्र बोल्दाबोल्दै भावुक भए। नारायणगढका साहु पियाले जमिन दिए। जेरार्डले स्क‍ूल बनाउनका लागि भौतिक संरचना दिए। शिक्षक दिए। बीरेन्द्रले आदीबासी थारू, मुसहर, मुस्लिम, बोटे, माझीका बालबालिकालाई टोलटोलबाट खोजेर स्कूल भर्ना गर्न थाले।

दुई वटा लामो अग्लो भवन मात्र बनाएनन् उनले कक्षा पाँचसम्मको पढाइलाई गुणस्तर पनि बनाए। व्यवहारिक र सीपमुलक शिक्षा दिने स्कूलमा चिनिन्छ राष्ट्रिय आधारभूत विद्यालय।

कम्प्युटरमा चित्र तथा विभिन्न आकृति बनाउँदै विद्यार्थी।

पहिलो चरणमा भवन निर्माण गर्ने अवसर जुराइदिएका जेरार्डले पछि ६ कक्षा सञ्चालनका लागि दुई कोठाको भवन, मासिक ३३ हजारको दरले २ शिक्षक (दशै खर्चसहित) र दुइ वटा बस हालिदिने भएका छन्। ‘जेरार्डले के भन्नुहुन्थ्यो भने- म दुई बस दिन्छु, एक बसको आम्दानीले दुवै बसको ड्राइभर र खलासीलाई तलब, तेल हाल्ने र बच्चालाई निःशुल्क ल्याउने लैजाने व्यवस्था गर्नु भनेर दुई बस यही वर्षको अन्तिमबाट हालिदिने कुरा भाछ’, बीरेन्द्रले जेरार्डको कुरा जस्ताको तस्तै भने।

स्कूलमा सिसी क्यामारा जडान गर्ने तयारी छ। एउटा बीरेन्द्रको मोबाइलमा र अर्को जेरार्डको मोबाइलमा स्कूलको सबै क्रियाकलाप देखिने गरी जोडिने सिसी क्यामारा तयारी भइसकेको छ। जेरार्ड फ्रान्स नै बसेर हेर्ने छन्। स्कूलमा भएका कमिकमजोरी अभाव र शिक्षकले कसरी पढाइरहेका छन्, त्यो पनि हेर्ने छन्।

०००

अहिले स्कूललाई सहयोग गर्ने दाताको बाक्लो भीड छ तर उनले खासै मागेका छैनन्। कुनै समय घरमा भैँसी पालेर दुधको खर्चले घर खर्च र स्कूलको तलबले विद्यालय निर्माणमा लगाएका बीरेन्द्रको नसा नसामा स्कूल छभन्दा फरक पर्दैन।

कुनै समय स्कूल मर्ज गरौँ भनेर आइरहेका बोर्डिङ स्कूलमा अध्ययरत विद्यार्थीका अभिभावकले आफ्ना बच्चा राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना गर्न बाध्य छन्। उनी भन्छन्,’मर्ज गरौँ भन्दै आएको नगरपालिका अहिले हामीलाई वार्षिक पाँच लाखदेखि दश लाखसम्म बजेट विनियोजन गर्छन् । बोर्डिङ स्कूलका विद्यार्थी यहाँ पढ्न आउन लालयित छन्। हामीलाई कसैसँग प्रतिस्पर्धा गर्नु छैन् तर तमाम स्कूलभन्दा फरक बनाउनु छ।’

शिक्षक, अभिभावक संघ, विद्यालय व्यवस्थापन र स्कूल मिलेर बच्चा जन्मिनेबित्तिकै पुग्छन् गाउँमा स्वागत गर्न।

स्कूल जाने उमेरका बालबालिकालाई कापी, कलम, किताब, झोला, ड्रेस र स्कूल र घर गर्न बसको व्यवस्था स्कूलले गर्ने हिम्मत राख्छ। स्कूललाई अनुशासित र व्यवस्थापकीय सुन्दरता बनाउनका लागि स्कूल व्यवस्थापनका अध्यक्ष स्कूलमै बस्छन्।

‘सहरको बोर्डिङ स्कूलमा आफ्ना बच्चालाई गर्ने खर्च र पढाइको गुणस्तर हामी यहाँका सुकम्बासी र मदजुरका बालबालिकालाई सरकारी स्कूलमार्फत दिइरहेका छौँ’, उनी भन्छन्,’एउटा बच्चा पढाउन ३५ सय जति लाग्छ, जुन विद्यालयले व्यहोर्छ।’

सुरुवात आफैबाट गरौँ भन्ने नाराका साथ स्कूल सुन्दर र शैक्षिक गुणात्मक रूपमा पनि अग्रणी स्कूल बनाउने सोचमा छन् उनी।

५० को दशकमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिँदा आदिबासी थारूका बच्चा पढेर शिक्षक हुने अत्यन्तै न्युन हुन्थे। उनी भन्छन्,’म त शिक्षक पेशालाई माया गर्थेँ। सानैदेखि गाउँको क्लबमा जोडिएको थिएँ। क्लबमा शिक्षकको कुरा सुन्थे र मान्थे। त्यो आफ्नै आँखाले देखेको भएर पनि मलाई शिक्षकप्रति मोह पलाएको थियो र आदिवासी थारुको बच्चाले शिक्षक भएर देखाउनु पर्छ भन्ने अठोट लिएको थिएँ।’

‘समाजमा शिक्षकले भनेको मान्दा रहेछन् भन्ने लागेर पनि हो’, उनले आफ्नो अनुभव सुनाउँछन्,’विद्यालय बनाउन मलाई हौसाएका यहाँका सरकारी स्कूलले नै हो। सरकारी स्कूल यति कमजोर हुँदैनन् भन्ने बनाउनु थियो।’

राष्ट्रिय आधारभूत विद्यालय बनाउनअघि उनले गुगलमा अनेक स्कूल खोजेका थिए। जापानको एक स्कूलले उनलाई साह्रै लोभ्याएको थियो। त्यस्तै स्कूल माडीमा बनाउने कोसिस अझै गरिरहेका छन् उनी।

‘राम्रो स्कूल बलियो व्यवस्थापनले मात्रै बन्दैन, त्यो सिकाइ उपलब्धी पनि मुख्य कुरा हो। बच्चाको सिकाइमा कति फरक आएको छ त्यो पनि महत्त्वपूर्ण कुरो हो’ उनले आफ्नो अनुभव सुनाए।

अहिले कक्षा ६ को भर्ना सुरू गरेका छन्। १५ जना शिक्षक छन्। ३ स्थायी शिक्षक र बाँकी करारमा छन्। स्थानीय स्रोतले अहिले ती शिक्षक पालेको छ। भवन बनेको दुई वर्षमै नमुना स्कूल बनाउन सकेका प्रध्ययानाध्यापक बीरेन्द्र भन्छन्,’शिक्षक त्यो हुँदै होइन, जो लक्ष्यमा पहिले पुग्छ, शिक्षक त त्यो पो हो जसले लक्ष्यमा विद्यार्थी पुर्‍याउँछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?