
मुलुकमा शासन र तिनीहरुका प्रतिनिधिबाट आस गर्ने ठाउँ देखिँदैन वर्तमान परिवेशमा। तर त्यस्तै निराशाका बादलमा चाँदीका घेरा देखिनु दुर्लभ दृश्य बन्न जान्छन् यदाकदा। देशमा तमाम अवस्था सकारात्मक नहुँदा खुसी हुने बहाना बनेको खेलकुद। यद्यपि त्यो क्षेत्रमा पनि समस्या बेहिसाब छन्। तर, खेलाडीको मिहिनेतले दिएको खुसीले कम्तीमा तमाम निराशा र असन्तुष्टिलाई केही हदसम्म बिर्सने बहाना नेपालीलाई दिएको छ। अन्तर्राष्ट्रिय जगतमा खेलकुदमात्र यस्तो विधा हो जसले भूगोल र सीमानाको घेरालाई तोडेर मानवीयताको भावनात्मक सम्बन्धलाई सर्वाधिक नजिक ल्याउने गर्छ। खेलकुदको भाषा विश्वले बुझ्छ। नेपालले त्यस्तो उपलब्धि हासिल गर्दा हरेक नेपाली आफू विजयी भएको अनुभूति गर्छन्।
पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमले हासिल गरेको एकपछि अर्को जितले निराश बनेका नेपालीहरुलाई एकपटक पुन: उत्सवमा एकताबद्ध बनाएको छ। झरी, बादल र हुरीबतास नभनी खेलाडीको हौसला बढाउन मैदानम पुग्ने दर्शकहरुले आफ्नो ठाउँबाट भूमिका खेलेका छन्। उनीहरुले खेलाडीलाई गर्ने हुटिङले नेपाली क्रिकेटलाई अर्को एक कदम अघि धकेलेको छ भने खेलाडीले गर्ने खुसीले हरेक समर्थकलाई उत्साह र उत्प्रेरणा दिएको छ। खेलका लागि सर्वाधिक ठूलो कुरा समर्थन र समर्थकहरु हुन् जसले हारमा हौसला र जितमा उत्साह थप्ने गरेको छ। नेपाली दर्शकको यही अटूट प्रेम खेलकुदको सफलताको मानकका रुपमा मान्न सकिन्छ।
त्यसो त नेपाली खेलकुद क्षेत्रले सीमित मात्र अन्तर्राष्ट्रिय सफलता हात पारिरहेको छ। कमजोर लगानी, भौतिक पूर्वाधारको अभाव, उचित प्रशिक्षण तथा जीवनयापनकै समस्याबीच उपलब्धिको आशा गर्नुपर्ने बाध्यता छ। राज्यको नजरमा सफलतामात्र पर्ने र उपलब्धिमा बधाई दिन तँछाडमछाड गर्ने शासन र राजनीतिकर्मीका लागि यो क्षेत्र अघि पछि भने उपेक्षित छ। खेलकुदलाई साँच्चिकै विकास गर्नुपर्छ भन्ने राजनीतिक चेत अझै पलाइसकेको छैन। सबैभन्दा कम बजेट प्राथमिकतामा पर्दै आएको खेलक्षेत्र पैसा र उचित व्यवस्थापन अभावमा प्रतिभावान खेलाडीहरु पलायनको बाटो रोज्न बाध्य भइरहेका छन्। तर पनि समस्याको चाङलाई एकातिर थाँती राखेर उपलब्धिमा रम्ने माध्यम फेरि पनि खेलकुद क्षेत्र नै बनेको छ।
समग्रमा पछिल्लो समय नेपाली क्रिकेटले दिएको खुसीले निरास मनहरुलाई एउटा आशाको आधार तयार गरेको छ। नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ। एकदिवसीय विश्वकप छनोट हुँदै एसियाकपमा पुगेको नेपाली क्रिकेट टिम सर्वाधिक ठूलो धन्यवादको पात्र बनेको छ।
अवस्था ज्युँका त्यूँ राखेर व्यवस्था परिवर्तन गरेको हुँकार गरिरहेका राजनीतिक दल र तिनका स्वार्थी नेतृत्वले अहिले पनि दशकौं अघि अर्थात पञ्चायतकालमा बनेका खेलकुद संरचनामा प्राप्त उपलब्धिमा नै नाक ठड्याउनुपर्ने अवस्था उनीहरुका लागि लज्जाबोधको विषय बन्नुपर्ने हो। दशकौंदेखि गतिलो मैदानको प्रतीक्षा गरेका नेपाली समर्थकहरु अहिले पनि वर्षामा भिजेर खेल हेर्नुपर्ने अवस्थाले वर्तमान राज्यव्यवस्थाप्रति झनै वितृष्णा बढाउँछ। तर समर्थकहरुको रूझानले वर्तमान राज्य र ब्यवस्थालाई किञ्चित पनि फरक पार्ने छैन। यस्तो अवस्थाबीच नेपाली क्रिकेटले दिएको खुसी मनाउने अधिकार कम्तिमा वर्तमान दल र राज्यको नेतृत्वमा पुगेकाहरुका लागि नहुनुपर्ने हो तर उनीहरु नै सर्वाधिक बढी खुसी भएको कृतिम सन्देश दिइरहेका छन्। दशकौंदेखि खेलाडी र समर्थकहरुको सर्वाधिक ठूलो अभाव बनेको गतिलो स्टेडियमको सपना अझै कति दशक पर्खनुपर्ने हो, टुंगो छैन। तर अभावबीच अब नयाँ उचाइमा पुगेको नेपाली क्रिकेटका लागि फेरि पनि समर्थक र खेलकर्मीले देखाएको सद्भाव भने अतुलनीय छ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि राज्यले खेल्नुपर्ने सीमित दायित्व निर्वाहमात्र गरिदिएमात्रै नेपाली खेलाडीले राष्ट्रका लागि ठूला अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्ने कुरामा दुईमत छैन। तर राज्य निरीह छ। यसै वर्ष चीनमा हुने एसियाली खेलकुदको ओलम्पिकका रुपमा रहेको एसियाडमा नेपालको सहभागिता निश्चित छ तर बजेट अभाव र तयारी नहुँदा पदक सपना कति यथार्थ बन्ला- हेर्न बाँकी छ। कथंकथाचित खेलाडीले पदक जितिहाले भने त्यसमा राज्यको लगानी र मिहिनेत हैन, खेलाडीको एक्लो ‘इफोर्ट’ मानिनुपर्छ। छोटो तयारीले पदक जित्ने भनेको खेलाडीको क्षमताले मात्रै हो किनकि एसियाडका लागि अन्य देशले वर्षौंदेखि तयारी गरिरहँदा नेपाल तयारीविहीन अवस्थामा छ।
समग्रमा पछिल्लो समय नेपाली क्रिकेटले दिएको खुसीले निरास मनहरुलाई एउटा आशाको आधार तयार गरेको छ। नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ। एकदिवसीय विश्वकप छनोट हुँदै एसियाकपमा पुगेको नेपाली क्रिकेट टिम सर्वाधिक ठूलो धन्यवादको पात्र बनेको छ। विश्व क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैगर्दा आफूलाई क्रिकेटमा उदीयमान देशको रुपमा स्थापित गर्दै नयाँ उचाइको प्रतीक्षामा छ नेपाल। कम्तिमा खेलाडीले प्रदर्शन गरेको यो बुलन्द आत्मविश्वास राज्यकै कारण नगुमोस्। हरेक क्षेत्रका खेलाडीले राज्यप्रति गर्व गर्ने माहोल बनेका नेपाली खेलजगतले उत्कृष्टता हासिल गर्न सक्छ भन्ने प्रमाण नेपाली खेलाडीहरुले दिएका छन्।