
काठमाडौँ – प्रतिनिधिसभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ। आजको पहिलो बैठकमा नक्कली शरणार्थी प्रकरणलाई लिएर सांसदहरुबीच जुहारी चलेको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले उक्त प्रकरणमा सरकारले निष्पक्ष छानबिन नगरेको आरोप लगाएका छन् भने सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले त्यसको प्रतिवाद गरे।
एमालेका प्रमुख सचेतक पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए।
एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिंगो मुलुकको ध्यान नक्कली शरणार्थी प्रकरणमा केन्द्रित भएकोले यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ।’
यस्तै, माओवादी सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरीसमक्ष बुझाउन आग्रह गरे।
कांग्रेस सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए। उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताए।