
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बुधबार जिल्ला अदालत, काठमाडौँ उपस्थित गराउने तयारी भइरहेको छ।
बुधबार बिहान प्रकाउ परेका खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई अदालतमा उपस्थित गरेर हिरासतमा राख्न अनुमति लिने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
खाण पक्राउ गरेलगत्तै आजै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। खाणलाई भने उनकै निवास चाबहिलको मैजुबहालबाट आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो। खाणलाई पक्राउ पुर्जी जारी भएकोबारे थाहै थिएन। बुटवलमा रहेका खाण मंगलबार मात्रै काठमाडौँ आएका थिए ।
प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतका पक्राउ परिसकेका छन्। टोपबहादुर भने फरार छन्।