
काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडियो सार्वजनिक भएको थियो। सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अडियो नजिकबाट अनुसन्धान हुनुका साथै उक्त अडियोमा नाम लिइएका दुई सांसदको संलग्नताबारे प्रमाण जुटाउने प्रयास भइरहेको छ।
उनीहरूको संलग्नता देखिए तत्काल कारबाही हुने स्रोतले बताएको छ। साथै यस प्रकरणमा नाम जोडिएका अन्य हाइप्रोफाइलसँगै सम्पूर्ण व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।
यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हाइ प्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ।
बालकृष्ण खाण बुधबार बिहान पक्राउ परिसकेका छन्। उनी बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका हुन्। खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई अदालतमा उपस्थित गरेर हिरासतमा राख्न अनुमति लिने तयारी भइरहेको छ।
यही कसूरमा केशव दुलाल,सानु भण्डारी,सन्देश शर्मा,सागर थुलुङ राई,सन्दीप रायमाझी, टंक गुरुङ, सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका पक्राउ परिसकेका छन्।
यसमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने अहिलेसम्म फरार छन्।