
पोखरा – गण्डकी प्रदेशको ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक हजारौं बिरामी आउँछन्। बिरामी भेट्न आउने आफन्तको संख्या पनि उत्तिकै हुन्छ।
बिरामी र तिनका आफन्तले खाजा र खाना खाने अस्पातलको क्यान्टिनले खुलेआम उपभोक्ता ठगेको पाइएको छ। ऋणधन गरेर उपचार सेवा लिन आएकासँग यो क्यान्टिनले चर्को मूल्य लिएर उपभोक्ता ठगेको हो।
बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीले अस्पतालको क्यान्टिनमा अनुगमन गरेको थियो। उपभोक्ताको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनमा अस्पतालको क्यान्टिनल बिरामी र आफन्तसँग चर्को मूल्य असुलेको पाइएको छ।
अस्पतालमा सञ्चालन गरेको ‘सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसल’ले खरिदबिक्री बिल बिना तोकिएको मूल्यभन्दा बढीमा सामग्री बिक्री वितरण गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।
स्वास्थ्य उपचार गर्न पुग्ने बिरामीलाई क्यान्टिनले लेबलिङ नगरेको खाद्य वस्तुसमेत बिक्री गरेको उनको भनाइ छ।
अनुगमनका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित उक्त क्यान्टिन पोखरा महानगरमा सूचीकृत नै नभएको पनि खुलेको छ।क्यान्टिन सञ्चालकलाई ३ दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले जानकारी दिए।
अझ बडो रोचक त के छ भने पोखरा महानगरमा सञ्चान गरिएको क्यान्टिन काठमाडौँ महानगरपालिकामा दर्ता छ।