
पोखरा – गण्डकी प्रदेशमा स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने रेसबाट आउट हुँदा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने पक्का भएको छ। उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन्।
मुख्यमन्त्रीले फोन गरेपछि शपथ लिन जान लागेको आलेले बताए। ४ बजेपछि नयाँ मन्त्रीको शपथ हुँदैछ। दीपक मनाङे मन्त्री बन्ने चर्चा भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इच्छा देखाएका थिएनन्।
नेपाली कांग्रेस तनहुँका सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छ। राष्ट्रपति पौडेलकै इन्ट्रेस्टमा उनी मन्त्री बन्न लागेका हुन्।
कांग्रेसबाट आलेसँगै नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्दैछन्। नेकपा माओवादी केन्द्रबाट म्याग्दीका रेशमबहादुर जुग्जाली दोहोरिँदै छन्।