
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिन सुरू गरिएको छ।
बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा केही बेरअघिबाट बयान लिन थालिएकाे हाे।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खाणलाई वकिलकाे कार्यालयमा पुर्याएकाे हाे।
वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरेपनि उनकाे बयान भने रेकर्ड गरिएकाे थिएन। प्रहरी स्राेतका अनुसार आजै बयान सक्ने तयारी गरिएकाे छ।
प्रहरीले खाण गृहमन्त्री हुँदा उनले गरेका निर्णय र बिचौलियाहरूसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयार गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ।
जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्नका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ।
यसभन्दा अगाडि सरकारी वकिल र प्रहरीले खाणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार लिइसकिएकाे छ। हालसम्म पक्राउ परेका ११ जनाको बयान सकिएको छ।
अब हिजो मात्रै पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोबहादुर रायमाझीको बयान लिन भने बाँकीनै छ।