
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान आजैबाट सुरु भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनको बयान आजैबाट लिन सुरु गरेको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताएका छन्। रायमाझीको बयान अहिले जारी छ।
यसअघि आजै जिल्ला अदालत काठमाडौँमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नुपर्ने भएकाले उनको बयान आजै सुरु गरिएको न्यौपानेले बताएका छन्।
म्याद थप भएलगत्तै उनको बयान सुरु भएको हो। जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ।
सोही प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणको पनि आज बयान लिइएको थियो। उनले स्वास्थ्य अवस्था ठीक छैन भनेपछि खाणको बाँकी बयान भोलि लिने गरी उनको आजको बयान सकिएको छ।