
पोखरा – गाउँको विद्यालयलाई सहयोग जुटाउन घान्द्रुकका युवा एभरेष्ट म्याराथनमा सहभागी हुने भएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका- १० घान्द्रुकमा रहेको मेश्रम बराह माध्यमिक विद्यालयलाई सहयोग जुटाउन यहाँका ७ जना युवा एभरेष्ट म्याराथनमा सहभागी हुन लागेका हुन्।
जेठ १५ गते १८ औँ संस्करणको एभरेस्ट म्याराथन हुँदैछ। ७० किलोटिरसहित ४२ र २१ किलोमिटरको दूरीको फुल र हाफ म्याराथन हुनेछ। घान्द्रुके युवाहरू सूर्यबहादुर गुरुङको नेतृत्वमा ४२ किलोमिटर बेसक्याम्पदेखि नाम्चे बजारसम्मको दूरी दौडनेछन्।
सूर्य गुरुङसँगै तर्कजंग गुरुङ, जीतबहादुर गुरुङ, जुमप्रसाद गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बु म्याराथनमा सहभागि हुनेछन्।
म्याराथनमा सहभागी भएर ५ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखेको संयोजक सूर्य गुरुङले बताए। ‘हालसम्म झन्डै दोब्बर रकम संकलन भइसकेको छ’, उनले भने।
मेश्रम बराह माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा शिक्षकको तलब भत्ता विद्यालयले नै जुटाउनुपर्ने भएको आर्थिक समस्या रहेको सुनाए। विद्यालयलाई पर्यटन सम्बन्धि नमुना शिक्षण संस्था बनाउने योजना छ।