
काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारी पटकपटक कतारी राजदूतका सहायकसँग सम्पर्कमा रहेको पाइएको छ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारीसँगै पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूको बयानका आधारमा नै प्रहरीले यस प्रकरणमा संलग्न अन्यलाई पक्राउ गरिरहेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने क्रममा विभिन्न समयमा कतारी राजदुतका सहायकसँग भेटेको पाइएको आधिकारिक स्रोतले जानकारी दिएको छ।
कतारमा सन् २०२२ मा भएको फिफा विश्वकप फुटबलको समयमा उनीहरुको भेट राजदूतका सहायक अहम्मद कुसायतसँग बढी भएको स्रोतले बताएको छ। नेपाली नागरिक अहमद कुसायत स्थानीय कर्मचारीका रुपमा दूतावासमा कार्यरत छन्। उनीहरुबीच फिफा विश्वकपकै लागि कतार जान कसायतसँग कुराकानी भएको हो वा नक्कली भुटानी शरणार्थी प्रकरणको लागि हो भन्नेबारे भने स्पष्ट भएको छैन। विभिन्न बहाना बनाएर दुलाल र भण्डारीले कुसायतसँग पटकपटक भेट गरेका थिए।
प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ भने थप प्रमाण संकलनसमेत गरिरहेको छ। सन् २०२२ को नोभेम्बर २१ तारिखदेखि डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना भएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, कांग्रेसका पूर्व सांसद् आङतावा शेर्पा, लगायतका उच्च पदस्थ व्यक्तिहरूसमेत यस प्रकरणमा पक्राउ परिसकेका छन् ।
बादलका छोरा प्रतीक, इन्द्रजीतका छोरा निरज फरार छन्। उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ।