
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान जारी छ।
खाणको बयान सोमबार पनि लिइएको थियो। सोमबार बयानको क्रममा उनले स्वास्थ्य अवस्था ठीक छैन भनेपछि बाँकी बयान आज लिन लागिएको हो।
आज बिहान ११ बजेबाट नै उनको बयान चलिरहेको सरकारी वकिल कार्यालय प्रमुख अचूतमणी न्यौपानेले बताए। उनको बयान बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा भइरहेको छ।
वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरे पनि उनको बयान भने रेकर्ड गरिएको थिएन। प्रहरीले बयानका लागि खाण गृहमन्त्री हुँदा उनले गरेका निर्णय र बिचौलियाहरूसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयार गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने छ। जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्नका लागि खाणविरुद्ध थप चार दिन समय दिएको छ।
आज खाणको बयान सकिएसँगै पक्राउ परेका सबै जनाको बयान सकिनेछ। यद्यपि हिजो प्रहरीसामु आत्मासमर्पण गरेका कांग्रेसका पूर्वसांसद आङ्तावा शेर्पालाई भने प्रहरीले हालसम्म अदालतमा प्रस्तुत गरेको छैन।