
सन्दर्भ-१: पाँच वर्षअगाडि छायांकन भएको चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आउँदा अभिनेत्री विनिता थापा असाध्यै खुसी थिइन्। उनले लामो प्रतीक्षापछि सिनेमा घरहरूमा हल्कारा प्रदर्शनमा आएपछि आफ्नो करिअर उकासिने सोचेकी थिइन् तर ठीक उल्टो भयो। किनकि भनेजस्तो शो नपाएको कारण हलमा फिल्म धेरै चलेन।
हल्काराले भनेजस्तो शो नपाएपछि खिन्न हुनुपर्यो। चलचित्रले राम्रो समीक्षा पाउँदा पनि हलवालाले शो नदिएपछि चलचित्र उद्योगमाथि नै प्रश्न गर्नुपर्यो अभिनेत्री विनिताले। तर नेपालमा समीक्षाका आधारमा फिल्म चल्दैन।
हल्काराजस्तो आफ्नो माटोको मौलिक कथा बोकेर आएको चलचित्र यतिबेला शो नपाएर खुम्चिनु परेको छ। दर्शसम्म पुग्न सकेको छैन। ‘व्यवस्थित गरेर दर्शकलाई पायक पर्ने समयमा शो राखिदिनूस्’, उनले अनुरोध पनि गरिन्। तर उनले चाहेको समयमा शो पाउन सकेन।
रामकृष्ण पोखरेलेको लगानी र विक्रम सापकोटाको निर्देशन रहेको चलचित्र हल्कारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकाे थियो भने दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएकै हो।
सन्दर्भ-२: ऐना झ्यालको पुतली हेरेपछि दर्शकले भने, ‘दशककै उत्कृष्ट चलचित्र’
यस चलचित्रले दर्शकको तारिफ जति बटुलेको थियो, त्यति नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको थियो। चलचित्रले ओस्कारसम्मको यात्रा तय गरेको थियो। रिलिजअघि नै अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई हलमा स्थान पाउन भने सकस परको थियो।
मल्टिप्लेक्सहरूले शो टाइम नदिएको निर्देशक सुजित बिडारीले गुनासो गरेका थिए। त्यसपछि उनले अनेक माथापच्ची गर्नुपर्यो, निश्चित समय लिएर चलचित्र चलाउन। उनले सामाजिक सञ्जालमा समेत लेखेका थिए- भावनात्मक कुराले मात्रै सिनेमा नचल्ने भन्दै दर्शकसम्म पुग्न कठिनाइ भइरहेको छ।
सन्दर्भ-३: सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’लाई शो नपाएको कारण अचानक पत्रकार सम्मेलन गरेर हलबाट उतार्नु परेको थियो। निर्देशक थापाले शो नै कम पाएका कारण हलबाट उतारेका थिए।
सन्दर्भ-: ४ अभिनेत्री सुरक्षा पन्तको लिड रोल रहेको चलचित्र ‘बुलाकी’ पनि हलबाट उतारिएको थियो। जम्माजम्मी दुई दिनमात्रै देखाएर निर्माता विराज विष्टले बुलाकीलाई हलहरूबाट फिर्ता लिएको घोषणा गरेका थिए। दर्शकहरूको राम्रो प्रतिक्रिया पाउँदा-पाउँदै हलवालाहरूले ’बुलाकी’ लाई ’प्राइम टाइम’ शो नदिएको निर्माता विष्टको गुनासो थियो।
यी चार फिल्मका कथा आम फिल्मभन्दा फरक छन्। दर्शकले पनि रुचाएका थिए। तर हलहरूले मौलिक कथामा बनेका चलचित्रलाई वर्षौँदेखि विभेद गर्दै आएको नकार्न मिल्दैन। यतिसम्मकि हलवालासँग हात जोड्नुपर्छ। यो दीर्घरोग जस्तै भएको छ। तर सम्बन्धित हलवालाहरू यसमा ठूलो विवाद र बखडा गर्न चाहँदैनन्।
हलवाला:
निर्माता संघका अध्यक्ष नवल खड्काले पनि यो पटक-पटक आउने समस्यालाई समाधान गर्न जरुरी रहेको बताए। नेपाल चलचित्र संघसँग वार्तापछि कार्यदल बनेको र आगामी दिनमा कुनै समस्या आएमा ‘टेबलटक’ गर्ने निर्णय भएको उनले बताएका थिए।
शो बाँडफाँटदेखि प्राइम टाइम, अग्रिम बुकिङ, हल विज्ञापन लगायतका विभिन्न विषयमा छलफल गरिआएको निचोडलाई लिएर अघि बढ्ने योजना थियो उनको।
त्यस्तै, चलचित्र संघका महासचिव एवं हल सञ्चालक नरेन्द्र महर्जनले कार्यदल गठन भइ आफूहरूबीचको विवाद सकिएको बताएका थिए। अब कुनै समस्या आउँदा मिडियाबाजी नगर्ने र विज्ञप्ति ननिकाल्ने भन्दै महर्जनले आफूहरू वार्तामा बसेर समाधान गर्ने तर्क अघि सारेका थिए।
‘खासमा धेरै फिल्म रिलिज हुँदा विवाद आएको हो। धेरै फिल्म भएपछि शो कम भइहाल्छ नि! हामीले पनि जुन फिल्ममा बढी दर्शक आउँछ, त्यसैलाई बढी शो दिने हो। अस्ति ‘लाइगर’ नचल्दा प्रकाशलाई शो थपेकै थियौँ। नेपाली फिल्ममा दर्शक आउँदा हामीले स्वतः शो थप गछौँ’, उनले भनेका थिए।
हल सञ्चालकलाई विदेशी फिल्मभन्दा नेपाली फिल्म चल्दा नै बढी फाइदा हुने बताउँछन् महासचिव महर्जन। उनका अनुसार नेपाली फिल्ममा १५ प्रतिशत कर छुट हुने तर विदेशी फिल्ममा १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। नेपालमा विदेशी र नेपाली फिल्मको शो बाँडफाँटको विषयमा विवाद हुनु नौलो विषय होइन। जब बहुचर्चित विदेशी फिल्महरू रिलिज हुन्छन् तब नेपाली फिल्महरू जहिल्यै चेपुवामा पर्छन्। विदेशी फिल्मले उच्च शो पाउँदा नेपाली फिल्मलाई भने शो पाउन नै मुस्किल हुन्छ। फिल्म रिलिज हुँदा ताका फिल्ममेकरले स्वदेशी फिल्मलाई हलले शो बाँडफाँटमा भेदभाव गरेको भनी गुनासो पोखेको सुनिन्छ।
‘हलवाला र निर्माताहरूले एक-अर्कालाई नबुझ्दा यस्तो भएको हो। नेपाली फिल्म निर्माताले पनि आफैंले बढी शो पाउनुपर्छ भन्न मिल्दैन’, हलवाला भन्छन्। साथै, फिल्मकर्मी र हल संचालकबीचको हुने विवादमा वितरक बढी जिम्मेवार हुने दाबी छ कतिपय हलवालाको।
‘हल सञ्चालकलाई सबैभन्दा ठूलो प्रेसर वितरकबाट हुन्छ। वितरकले नेपाली फिल्म चलाएवापत यति पैसा लिने भनेको हुन्छ। जुन पैसा उसले फिल्म फ्लप भए पनि लिन्छ। जसकारण स्वदेशी फिल्ममा वितरकको पैसा सुरक्षित हुन्छ,’ एक वितरकले भने, ‘तर विदेशी फिल्मलाई वितरकले करौडौँ खर्च गरेर ल्याएको हुन्छ। जसले फिल्म चलेन भने सबै लगानी डुब्ने डर हुन्छ, जसकारण नेपाली र विदेशी फिल्मको एउटै वितरक भए पनि उसले विदेशीलाई नै बढी शो र प्राइमटाइम हलवालालाई माग्छ। शो दिएन भने ठूलो फिल्म आउँदा आफूले नदिने धम्कीसमेत दिन्छ वितरकले। जसकारण हलवाला पनि विदेशीलाई राम्रो शो दिन्छन्।’
क्युएफएक्स सिनेमाज्:
क्युएफएक्सको केन्द्रीय कार्यालय लबिम मलमा बिजनेस डेभलपमेन्ट हेर्दै आएकी त्रिप्ति गिरीकाअनुसार बलियो कथावस्तुमा आएका चलचित्र राम्रो चल्छन्, जसको शो रोक्न सकिँदैन। ‘क्युएफएक्सको टिम क्वाइस्टले कुन सिनेमाले दर्शक तान्यो भनेर हेर्छ। ‘बुलाकी, बिहे पास र जारी तीन चलचित्र एक साथ प्रदर्शनमा आए तर जारीलाई दर्शकले रुचाए, बाँकी दुई फिल्ममा खासै दर्शक देखिएनन्।
‘अब जुन चलचित्रले दर्शक तानेको छ, त्यही चलचित्र हाम्रो पनि ध्यान जाने हो। राम्रो दर्शक बटुल्ने फिल्मलाई हल संख्या र शो पनि थप्नु पर्छ। यस्तो अवस्थामा दर्शकको अभावमा अन्य चलचित्रलाई शो दिएर त भएन’, उनले भनिन्।

लबिम मलस्थित टिम क्वाइस्टको बिजनेस डेभलपमेन्ट हेर्दै आएकी त्रिप्ति गिरी।
गिरीकाअनुसार बलियो कथा र बलियो मेकिङ भएका चलचित्र चल्ने हुन्। केही चलचित्र स्टारकास्टका अनुसार पनि चल्ने भएकाले नयाँ अनुहार कम बजेटका चलचित्रले भनेजस्तो दर्शक पाउँदैन। जब दर्शक नै नपाएपछि हलवालाले शो मात्रै दिएर पनि भएन।
‘प्रकाश’ र ‘राधा’ आउँदा प्रकाशले मन जित्यो त्यतिखेर लाइगर चलेन। हिन्दी फिल्म पनि सबै चल्छन् भन्ने छैन।
‘अहिले जारीले दर्शक तानेको छ तर सलमान खान अभिनित किसीका भाइ किसीका जानले दर्शक तानेको छैन। कहिलेकाहीँ ठूलो ब्यानरका बिग मुभी आउँदा सानो चलचित्रले शो नपाउन सक्छ। यस्तो अवस्थामा वितरक र निर्माताले चलचित्र प्रदर्शनको मिति मिलाउन सक्नुपर्यो’, गिरीले भनिन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जिते पनि हलमा दर्शक कति आएका छन् भन्ने चासो हुन्छ हाम्रो। व्यावसायिक रूपमा सोच्नु पर्ने भएकाले फिल्मले समीक्षा र प्रशंसा राम्रै पाए पनि दर्शक हलमा कति गए भन्नेले नै ध्यान तान्ने हो।’
‘जति दर्शक आए, त्यति धेरै शो थप्ने हो। दर्शक नआएपछि हलमा पोस्टर मात्रै टाँसेर पनि भएन। जस्तै, जारी चल्यो तर बुलाकी चले अनि उतार्नै पर्याे। पहिलो दुई दिन त हामीले पुरै शो दिएकै हुन्छौ, जब चलचित्रकाे फिटव्याक, रेटिङ र माउथ पब्लिसिटीले सकारात्मक प्रतिक्रिया पाउन थालेपछि कुन चलचित्र कति चल्छ भन्ने अनुमान लगाउन सकिने हो। त्यहीअनुसार चलचित्रले शो पाउने र घट्ने क्रम हुन्छ। यसमा खासै ठूलो राजनीति हुन्छजस्तो लाग्दैन, हात पनि जोडिरहनु पर्दैनजस्तो लाग्छ’, गिरीले थपिन्।
अहिले उपत्यकाभित्र ५ र उपत्यका बाहिर ६ वटा गरी देशभरि क्युएफएक्स हल ११ वटा छन्। जहाँ किनमेलका साथै फुर्सदको समयलाई सदुपयोग गर्दै सिनेमा पनि हेर्छन्।
विकास बोर्ड:

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी। फाइल तस्बिर।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने चलचित्रकाे शो बाँडफाँट गर्ने कार्य बोर्डको काम नभएको बताउँदै तर्किन्छन्। उनी विश्वभरका चलचित्र नेपालमा प्रदर्शन हुनुपर्ने तर धेरै शो भने नेपाली चलचित्रले नै पाउनुपर्ने आफ्नो मान्यता सुनाउँछन्। बोर्डले राष्ट्रिय चलचित्रको हकहितका लागि मात्रै काम गर्ने केसीको भनाइ छ।
केसी भन्छन्, ‘मेरो पनि पहिलो प्राथमिकता नेपाली चलचित्र नै हो। हल पाउनुपर्छ भन्ने मेरो पनि चाहना हो। तर शो वितरणमा हाम्रो पावर चल्दैन। विदेशी चलचित्रलाई रोक्नेभन्दा पनि विदेशी चलचित्र नेपालमा र नेपाली चलचित्र विदेशमा चलोस् भन्ने हाम्रो मान्यता हुन्छ। शोमा विभेद ५० वर्षदेखिको दीर्घरोग हो। जसलाई कसरी उपचार गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ।’
विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जित्न सक्ने चलचित्रले नेपाली बजारले पत्याउँदैन। अझ दर्शक पाउँदैन। तब हलवाला नेपाली दर्शकको अभाव खट्काउँदै चलचित्र नै नचलेपछि कसरी शो दिने भन्न पुग्छन्! हाम्रो देशका विडम्बना- सम्भावना बोकेको मौलिक चलचित्र चलाउन हात कहिलेसम्म जोड्नु पर्ने हो? यस्तो चाहिँ कहिलेसम्म चलिहरन्छ?