
काठमाडौं- संघीय संसद्को संयुक्त सदनमा २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिरहेका छन्। संसद्को अघिल्लो संयुक्त बैठकमा ‘सारसौँदो’ देखिएका राष्ट्रपति पौडेल यसपटक नीति तथा कार्यक्रम वाचनका क्रममा गलेका देखिएका छन्।
नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पौडेलको स्वर अस्पष्ट तथा उनले अप्ठ्यारो महसुस गरिरहेको देख्न सकिन्छ। उनी नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा बीचमा घाँटी सुकेर खोकिरहेका थिए।
बीचमा अस्वस्थ भई भारतमा उपचार गराएर फर्केका राष्ट्रपति पौडेल अझै पूर्ण स्वस्थ भइसकेका छैनन्।
उमेरले ८० कटिसकेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम आफैँले प्रस्तुत गर्नैपर्ने बाध्यताका कारण उनलाई समस्या परेकोमात्र होइन र संसद सदस्यहरुले समेत असजिलो मानेको स्पष्ट देखिएको छ। यसको सामाजिक सञ्जालमा चर्को विरोधसमेत भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उमेरले पाको भइसकेको तथा बिरामी राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नबुझेको भनेरसमेत विरोध गरिरहेका छन्।
राष्ट्रपतिको स्वास्थ्य अवस्था ठिक नभएको अवस्थामा वा अन्य कुनै समस्या आइपरेमा राष्ट्रपतिले गर्ने काम उपराष्ट्रपतिले गर्ने भनिएको छ तर नीति तथा कार्यक्रम प्रस्तुत गर्दाको बखत त्यस्तो परिस्थितिमा गएको देखिँदैन। पौडेल आफूले नै जुनसुकै अवस्थामा पनि नीति तथा कार्यक्रम गर्नेपरेको बाध्यता जस्तो देखिन्छ।
राष्ट्रपति अस्वस्थ भएको अवस्थामा वा उनले गर्दै आएको काम गर्न नसकेको अवस्थामा उपराष्ट्रपतिले उक्त कार्य गर्ने भनेर नै उपराष्ट्रपति राखिएको कानुनका जानकारहरु बताउँछन्।
‘सकि नसकी, त्यति धेरै दु:ख देखाएर उहाँले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नैपर्छ भन्ने छैन। हाम्रो देशमा उपराष्ट्रपति पनि हुनुहुन्छ,’ अधिवक्ता बालकृष्ण न्यौपानेले भने, ‘राष्ट्रपतिले नसक्दा वा उहाँको उपस्थिति नहुँदालाई त उपराष्ट्रपतिले काम गर्ने हो नि होइन भने उपराष्ट्रपतिको काम के त?’
अस्वस्थ राष्ट्रपतिलाई सकिनसकी नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनु गलत रहेको उनी बताउँछन्। राष्ट्रपतिको उमेरका कारण पनि उनलाई लामो समयसम्म एकोहोरो रुपमा पढिरहन् समस्या भएको प्रस्टै देख्न सकिन्छ।
सामाजिक सञ्जालहरुमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गर्दै राष्ट्रपतिको ज्यान तलमाथि भए कस्ले जिम्मेवारी लिने, र्याल सिङान गरी पढ्नुपर्ने यो कस्तो बाध्यता लगायतका थुप्रै प्रश्न र जिज्ञासाहरु उठेका छन्।
संसद् बैठक आउने क्रममा हिँड्न असजिलो भएका राष्ट्रपति पौडेल कठीन अवस्थामा रोष्ट्रममा पुगेका छन् भने उनले वाचनका क्रममा तातोपानीसमेत खाएका छन्।