
सिमकोट – एक जना १९ वर्षकै उमेरमा सुत्केरी बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी हुनुुुपर्ने मिति ६ दिन कटेको र बच्चा आमाको पेटमै मृत्युु भएको चिकित्सकले जनाएपछि गर्भवतीको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको हो।
जिल्ला अस्पताल हुम्लाकी बरिष्ठ अनमी सरिता बोहराले खार्पुनाथ गाउँपालिका– १ की १९ वर्षीया अस्मिता टमटाको सुुत्केरी हुने मिति कटेको र पेटमा मरेको बच्चा रहेको पाइएपछि हेलिकोप्टरबाट शुक्रबार दिउँसो सुर्खेत उद्धार गरिएको बताइन्।
गर्भवतीको जिल्लामै शल्यक्रिया गरेर मरेको बच्चा निकाल्दा रगत नपाउने भएको कारण ज्यान जोखिममा देखिएको कारण नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। सुर्खेत उद्धार बिना गर्भवती टमटाको ज्यान बचाउन कठिन हुने देखिएपछि हेलिकोप्टरबाट उद्धार गर्नुको अन्य बिकल्प नभएको बताईन। गर्भवतीलाई सुर्खेत स्थित प्रदेश अस्पतालमा लगिएको छ।
उनको उद्धारका लागि लागि गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालय समन्वय गरेका थिए भने हेलिकोप्टर उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट आर्थिक सहयोग उपलब्ध हुनेछ।