काठमाडौँ- पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै चर्चामा रहेको अपराध हो संगठित अपराध। यस किसिमको अपराधमा कुनै पनि समूह अपराध गर्नकै लागस भनेर तयार गरिएको हुन्छ। उक्त समूहले एक मात्रै नभइ थुप्रै अपराध पनि गर्न सक्छ।
आजको कार्यक्रम कानुनमा के छ? मा हामि संगठित अपराध भनेको के हो? कस्तो किसिमका अपराध यस अन्तर्गत पर्दछन्? कानुनी सजाय के हन्छ लगायतका विषयमा बरिष्ठ अधिवक्ता लव मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं। सुरुमा बुझौ संगठित अपराध भनेको के हो?
संगठित अपराध भनेको के हो?
संगठित अपराधको कुरा गर्ने हो भने सामन्यतया दुई किसिमले बुझ्न सकिन्छ। एउटा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलनचल्तिको हिसाबलेभन्दा छुट्टै परिभाषा छ भने हाम्रो कानुनलाई आधार मानेर हेर्ने हो भने फेरी छुट्टै किसिमको परिभाषा छ। समग्र रुपमा बुझ्ने हो भने तीन वा सो भन्दा बढि व्यक्तिहरु मिलेर गरिने अपराध नै संगठित अपराध हो। तर यसलाई व्यवहारमा हेर्ने हो भने तीन जना भन्दा धेरैको समूहमा गरिने सबै अपराध भने संगठित अपराध होइन। अपराध गर्दाको बखत उनीहरुले गर्ने क्रियाकलापको आधारमा संगठित अपराधलाई बुझ्न सकिन्छ। अपराध गर्नकै लागि बनाइएको समूह जस्ले व्यक्तिका लागि नभइ समूहका लागि काम गर्दछ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई मात्रै संगठित अपराध भनिन्छ।

बरिष्ठ अधिवक्ता लव मैनाली
उदाहरणको लागि एउटा कुनै समूहले कुनै अपराध गर्नको लागि भनेर समूह बनाउँछ तर त्यहाँ प्रत्येक व्यक्तिले आफ्नो हिस्सा ताकेता गर्न सक्छ र त्यसबाट समूहलाई कुनै फाइदा हुँदैन भने त्यस्तो समूहबाट भएको अपराध संगठित अपराध होइन । संगठित अपराधमा एउटा मुख्य व्यक्ति हुन्छ र सो समूह उस्कै निर्देशनमा चलेको हुन्छ। उस्ले नै आफुभन्दा तलका सम्पूर्णलाई काम लगाउँदछ। यस किसिमको अपराधमा प्लान गरिएको हुन्छ, संगठनको नेतृत्व हुन्छ, गोपनियताको रक्षा हुन्छ, उच्च पदस्थ व्यक्तिको संरक्षण हुन्छ लगायतका अन्य पनि थुप्रै छन् तर ठ्याक्कै कतिवटा विशेषता मिल्दा चाँहि संगठित अपराध हुन्छ भन्ने त्यस्तो केहि छैन। अपराध गर्ने समूहले म यस किसिमको अपराध चाँहि गर्दिन भनेर आफैले त्यसलाई हटाउन पनि सक्नेभयो।
हामीकहाँ के भ्रम छ भने कोही व्यक्ति मिलेर अपराध गर्यो वा कसैलाई ठग्यो वा केहि गर्यो भने हामी त्यसलाई संगठित अपराध भनिदिन्छौ तर त्यस्तो होइन संगठित अपराध अन्तर्गत अपराभ गर्नकै लागि बनेका समूहहरु मात्रै पर्दछन्। नेपालमा हालसम्म कुनै पनि छुट्टै संगठित अपराधको समूह छैन।
कस्तो कस्तो मुद्दामा संगठित अपराधको मुद्दा दर्ता हुन सक्छ?
संगठित अपरापको कुरा गर्दा कुन मुद्दामा भन्ने नै हुँदैन। किनभने अपराध गर्न बनाएको समूहले जुनसुकै किसिमको पनि अपराध गर्न सक्छ। मानौं उक्त समूहले भष्ट्राचार गर्ने भयो, ठगि गर्ने भयो, कसैको हत्या नै पनि गर्न सक्ने भयो, मानव बेचबिखन लगायत जुनसुकै पनि अपराध हुन सक्ने भयो। यदि समूहमा मिलेर संगठित रुपले अपराध गरेको छ भने उसलाई संगठित अपराधको मुद्दा लाग्न सक्छ।
संगठित अपराधको लागि प्रहरीलाई कम्तिमा ६० दिन अनुसन्धानको लागि दिइन्छ यो किन होला?
यो एकदमै स्वभाविक कुरा हो। किनभने अपराध गर्ने समूह त जुनसुकै ठाउँमा बसेर पनि गर्न सक्ने भयो नि त्यहि देशको पनि हुन सक्छ, अन्य देशको पनि हुन सक्छ त्यस्तै उनीहरुले प्लान गरेर अपराध गर्ने भएकाले उनीहरुको हरेक क्षेत्रमा पहुँच हुन सक्ने भयो, अन्य देशमा भएका प्रमाणहरु पनि जुटाउनुपर्ने हुनसक्छ यस्ता थुप्रै पक्षहरु छन् जसमा प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ त्यसैले गर्दा पनि अनुसन्धानको लागि ६० दिन सामान्य हो। हाम्रो अदालतले विदेशमा सिर्जना भएको प्रमाणलाई आधार मान्दैन सामान्यतया तर संगठित अपराधमा भने विदेशमा सिर्जना भएको प्रमाणहरुलाई पनि अदालतले प्रमाणको रुपमा लिन सक्छ। अझ राम्रोसँग अनुसन्धान गर्ने हो भने त संगठित अपराधको लागि ६० दिन पनि कम हुन्छ।
संगठित अपराधमा एउटा मुख्य व्यक्ति हुन्छ र सो समूह उस्कै निर्देशनमा चलेको हुन्छ। उस्ले नै आफुभन्दा तलका सम्पूर्णलाई काम लगाउँदछ। यस किसिमको अपराधमा प्लान गरिएको हुन्छ, संगठनको नेतृत्व हुन्छ, गोपनीयताको रक्षा हुन्छ, उच्च पदस्थ व्यक्तिको संरक्षण हुन्छ।
संगठित अपराधमा संलग्न व्यक्तिहरु ६० दिनभित्र पक्राउ परेनन् भने उनीहरुको अनुसन्धान कसरी अघि बढ्छ?
यो प्रक्रिया त अन्य मुद्दाहरुको जस्तै हो जति पनि व्यक्ति पक्राउ परेका छन्, अनुसन्धान सकिएको छ उनीहरु विरुद्धको प्रमाण सहित प्रहरीले अनुसन्धान सकाएर पठाउँछ बाँकिको भने फरार रहेकै सूचिसहित अदालतमा पेश गर्ने हो। फरार रहेकाहरुलाई फेला परेका बखत कारबाहि गर्ने या अदालतबाटै म्याद जारी होस् भनि पेश गरिन्छ। यदि फरार रहेका व्यक्तिको ठेगाना खुलेको छ भने उसलाई चाँहि अदालतबाटै म्याद जारी होस् भनि पेश गरिन्छ।
संगठित अपराधमा कति हुन्छ सजाय?
संगठित अपराधको मात्र कुरा गर्ने हो भने ५ बर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म सजाय हुने व्यवस्था छ । तर, संगठित अपराध आफैमा एउटा मात्रै अपराध होइन। यसमा अन्य अपराधसँगै जोडिएर आएको हुन्छ। मानौं कुनै एक समूहले वन्यजन्तु संरक्षण ऐन विपरितको कार्य गर्यो भने उसलाई समूहमा अपराध गरेको भएर संगठित अपराधको सजाय त हुने नै भयो सँगै वन्यजन्तु संरक्षण ऐनमा तोकिएको सजाय पनि थप हुन्छ। त्यति मात्रै होइन उक्त समूहसँग जोडिनुभन्दा अघि अन्य कुनै कसुर गरेको छ भने त्यसको सजाय पनि थप हुन्छ। यसमा जोडिएका व्यक्तिहरुको संलग्नता हेरेर उनीहरुलाई कति सजाय हुने भन्ने निर्धारण गरिन्छ।
पछिल्लो समय चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण संगठित अपराध हो कि होइन?
यस प्रकरणमा अहिलेसम्म जति पनि तथ्यहरु बाहिर आएका छन् त्यसलाई मात्रै हेर्ने हो भने चाँहि यो संगठित अपराध होइन। किनभने एउटा समूहले गर्यो भन्दैमा त्यसलाई संगठित अपराध भन्न मिल्दैन। यदि उक्त समूहको संलग्नता विदेशी अन्य समूहसँग पनि देखियो भने चाँहि फेरी त्यो संगठित अपराध हो तर अहिलेकै अवस्थामा हेर्ने हो भने चाँहि यो संगठित अपराध होइन। नेपालमा अहिलेसम्म एउटा पनि मुद्दा संगठित अपराधका चलेको छैन।