काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ बुधबार जम्बो टोलीसहित भारत भ्रमणमा जाँदैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रचण्ड झण्डै ९० सदस्यीय टोलीको नेतृत्वमा भारत जान लागेका हुन्।
नेपालको लुम्बिनीलाई भारतले अखण्ड भारतको अंग मान्ने प्रयास गर्दै गर्दा प्रचण्डले भ्रमणका क्रममा नेपाल भारत सम्बन्धबारे कस्तो कदम चाल्छन्, त्यो चासोको बिषय बनेको छ।
प्रचण्डले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। सरकारले छिमेकी मुलुकमा गर्दै आएको भ्रमण र भएका भेटवार्तामा आफ्ना मुलुकका समस्या स्पष्टसँग राख्न नसकेको आरोप लाग्दै आएको छ।
पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले पनि प्रचण्डको भारत भ्रमण सत्तामूखी नभई राष्ट्रकेन्द्रित हुन सक्नुपर्छ भनेर सुझाव दिएका छन्। भ्रमणको तयारी गर्दैगर्दा प्रचण्डले लोहनीसँग सुझाव लिएका छन्। सुझावमा लोहनीले निडर भएर सम्मानपूर्वक आफ्ना कुरा राख्न भनेका छन्। नेपालीहरुको हित स्वाभिमान र आत्मसम्मानलाई तल नपार्ने गरी भेटघाट गर्न पनि लोहनीले प्रचण्डलाई सुझाव दिएका छन्। पूर्व परराष्ट्रमन्त्री डा.लोहनीसँग प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा देशसञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको संपादित अंश:
भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री दाहाललाई तपाइँले के सुझाव दिनुभयो?
भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले सुझाव लिनेक्रममा म सँग पनि छलफल भएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालको मित्रतालाई बलियो बनाउने गरी काम गर्न भनेको छु। मैले‘तपाई सारा नेपालीको विश्वास लिएर प्रधानमन्त्रीको हैसियतमा भारत जाँदै हुनुहुन्छ, त्यो विश्वास र बललाई लिएर अगाडि बढ्नुस्, हामी तपाईको साथमा छौँ तर नेपालीको हक हित र अधिकार र नेपालीको स्वाभिमानलाई जहिले पनि केन्द्रविन्दुमा राख्नुस्’ भनेर सुझाव दिएको छु।
हामीले भारतसँग आफ्ना समस्या किन स्पष्ट र निडर भएर राख्न सक्दैनौँ?
भारत ठूलो देश र नेपाल सानो देश भएको कारण हुनसक्छ। ठूलो र सानो मुलुक भन्दा पनि मनको कुरा हो मनले कसरी हेर्छ कसरी आफ्नो समस्या र मर्म देख्छ भन्ने कुरा हो।
देश ठूलो सानो भन्दा पनि नेपाल पनि त सार्वभौम राज्य हो। भारतले हेपाहा व्यवहार त गर्न पाउँदैन होला नि?
हामी स्वतन्त्र र सार्वभौम हौँ। भारत भन्दा धेरै पहिलादेखि आफ्नो अस्तित्व राखेर आएका हौँ। यसमा गर्व छ। हाम्रा नेताहरुले भारत जाँदाखेरी दुई वटा दृष्टिकोण सत्तामुखी दृष्टिकोण र राष्ट्रिय दृष्टिकोण राख्ने गर्छन्। सत्तामुखी दृष्टिकोणलाई ओझेलमा राखिदिनुस्। राष्ट्रिय दृष्टिकोण, तीन करोड नेपालीको हितको दृष्टिकोणलाई केन्द्रमा राखेर भारतीय अधिकारीसँग भेटघाट र वार्ता गर्नुहोस्। जसरी भएपनि विदेशी राष्ट्रहरुलाई रिझाउनुपर्छ, यिनीहरुको समर्थन लिनुपर्छ भन्ने गलेको मनस्थितिबाट गएको हुँदा आफ्नो कुराहरु राम्रोसँग राख्न नसक्ने समस्या देखिएको हो।
विदेशी राष्ट्रहरुसँग कुरा गर्दा मर्यादा र सम्मानका साथ आफ्नो देशका कुराहरु स्पष्ट रुपमा राख्न सक्नुहुन्छ भने मात्रै विदेशी मित्रहरुले सम्मान गर्छन्।
नेपालले भारतसँग आफ्ना समस्या राख्न नसक्नु, छिमेकीको व्यवहारले दुख्यो भन्न नसक्नु कारण चाहिँ के हो ?
मर्यादा र शीष्टताका साथ आफ्ना मर्का राख्न सक्नुपर्छ। हरेक बर्षाका सिमानामा भारतले बाँध लगाइदिँदा नेपालको तराइको भूमि जलमग्न हुन्छ। सानो देश छ यसै पनि समथल जमिन हाम्रो कम छ। अन्तर्राष्ट्रिय कानुनको विपरीत हो यो गर्नुहुँदैन भन्ने भारतलाई भन्न सक्नु पर्छ।
प्रचण्डले भारत भ्रमणलाई नै धेरै महत्व दिनुलाई तपाई कसरी लिनुहुन्छ?
भारत चीन वा पाश्चात्य मुलुक अमेरिकालाई महत्व दिनुपर्छ। यी संसारका शक्ति र भोलि आउने सुपर पावरहरु हुन्। भारत पनि जुन तरिकाले गएको छ, त्यही लक्ष्य लिएर गएको छ। नजिकका सुपरपावर छिमेकीलाइ महत्व दिनैपर्छ। जनताको हित र महत्वलाई भूलेर छिमेकीलाई महत्व दिनु हुँदैन।
सीमा विवादमा हाम्रा कस्ता अडानहरु हुनुपर्छ?
सीमानामा हाम्रा समस्याहरु छन्। सीमानाका समस्याका कुराहरु उठाउनुपर्छ। कालापानी, लिपुलेक लिम्पियाधुरामा सिमा समस्याको कुरा जुन छ हाम्रो अहिलेसम्मको प्रमाणले त्यो नेपालको भुभाग हो भन्छ। म परराष्ट्रमन्त्री हुँदा पनि त्यो कुरा आएको थियो। आफ्नो लालपुर्जाको बारेमा नेपाल सरकारले बोल्नुपर्छ। दुईवटा मित्रराष्ट्रहरुले एकले अर्काको सम्मान गरेर विश्वास आर्जन गर्दै जानुपर्छ। तर हाम्रो सिमाना यो हो भनेर भन्न सक्नुपर्छ। अहिले प्रचण्डजीले गएर पनि त्यो कुरा भन्नुपर्छ।
भारतले हेपेको छ, त्यस विषयमा हामीले हाम्रो कुरा स्पष्ट राख्न सकेका छैनौँ, यसलाई कसरी समाधान गर्न सकिन्छ?
हामीले आफ्ना कुरा राख्न पाएका छैनौँ भन्ने होइन कुरा राख्नसक्नुपर्छ। भारत र नेपालको आर्थिक,सांस्कृतिक लगायतका सम्बन्ध छन्। जोसँग नजिक हुन्छ, ऊसँग मन पनि मिल्छ र खटपट पनि हुन्छ। खटपट भएको कुरामा यसले मलाई दुख्यो भन्न सक्नुपर्छ। तपाईले हेर्दिनुपर्यो भनेर भन्न सक्नुपर्छ। जबसम्म भन्न सकिँदैन, समस्या थाहा नहुन पनि सक्छ, थाहा पाए पनि नभन्दासम्म सम्बोधन हुन सक्दैन।