जो अरुले फ्याँकेका फोहोर टिप्दै सगरमाथा र अन्नपूर्णको चुचुरोसम्मै पुगे (भिडियो)

+
-

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यक्तिगत तहको निकै ठूलो महत्वाकांक्षाका रूपमा लिने गरिन्छ र यसमा विश्वभरका आरोही लागिपर्छन्। कति सफल हुन्छन्, कीर्तिमान बनाउँछन् त, कति त्यतै हराउँछन् पनि। यो आरोहणको होडले हिमालमा फोहोरको चाङ बढ्दै गएको छ। त्यही फोहोर उठाएर ल्याउने अभियान अर्थात् सफा हिमाल अभियान २०२३ सहित नेपाली सेनाका सहसेनानी विष्णु राईले यो वर्ष हिमाल चढे। हिमाल चढ्नु आफैँमा कीर्तिमान थियो तर त्योभन्दा फरक त्यो हिमाललाई सफा गर्नु उनीसहितको टोलीको जिम्मेवारी थियो।

सगरमाथाको फेदीदेखि चुचुरोसम्म उनीसहितको टोलीले सुरक्षित रूपमा चढ्ने मात्र होइन, बाटोमा देखिएका फोहोर पनि संकलन गर्दै गए। सगरमाथा आरोहण गर्न जानेहरूको उद्देश्य चुचुरोसम्म पुग्ने हुन्छ। तर, आफू भने तीन उद्देश्य लिएर सगरमाथाको चुचुरोमा पुगेको उनी बताउँछन्।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले ‘सफा हिमाल अभियान’साथै सगरमाथा आरोहण गरेका बिष्णुबल राईलाई कदरपत्र दिँदै।

अभियानअन्तर्गत राष्ट्रको उद्देश्य, संस्थाको उद्देश्य र सफा हिमाल अभियानको उद्देश्यसहित झण्डा बोकेर आफूहरू पुगेको उनले बताए।

‘जिम्मेवारीसाथ सगरमाथाको सफल आरोहणपछि निकै खुसीको महसुसका साथै त्यहाँ पुगेपछि अब संसारको पुग्नुपर्ने ठाउँ कुनै छैन होला भन्ने अनुभूति भयो’, उनले भने।

राईसँगै अभियानमा सहभागी पाँच जनाले सगरमाथा आरोहण गरेका थिए।

सगरमाथाभन्दा पनि आरोहणका लागि कठिन मानिन्छ अन्नपूर्ण हिमाल। त्यही हिमालको आरोहण गरेका सहसेनानी सुमन पाण्डेको खुसीको कुनै सीमा छैन।

जिम्मेवारीकै क्रममा आरोहण गर्न सफल हुँदा खुशी अझै बढिरहेको उनी बताउँछन्। आफूले संगठनबाट पाएको जिम्मेवारी बोकेर चुचुरोतिर पाइला चाल्दै गर्दा उनले त्यहाँ छाडिएका फोहोरमा पनि ध्यान दिनुपर्ने थियो। बेस क्याम्पदेखि क्याम्प ४ सम्म फोहोर अलि बढी मात्रामा हुने र चुचुरोमा कम हुने गर्छ। क्याम्प ४ सम्मको फोहोर संकलनपछि एक खालको जिम्मेवारी अब पूरा भयो भन्ने लागेको पाण्डेले बताए।

सेना प्रमुख प्रभुराम शर्मा ‘सफा हिमाल अभियान’अन्तर्गत अन्नपूर्ण हिमाल चढेका सुमन पाण्डेलाई बधाई दिँदै।

यसअघि हिमाल आरोहणको सोच नबनाएका उनलाई सफाइ अभियानअन्तर्गत अन्नपूर्णको सफल आरोहणपछि भने अरु पनि चढ्न पाए हुन्थ्यो भन्ने लागेको छ।

हिमाली क्षेत्रसँगै खासै राम्रो परिचय नभएका सेनाका प्यूठ मानसिंह चौधरीले पनि यो पटक सफा हिमाल अभियानकै क्रममा आरोहण मात्रै गरेनन्, अरुले छोडेका फोहोर संकलन गरे।

तराईमा हुर्केको मान्छेलाई ८ हजार माथिसम्मको उचाइमा पुगेर फोहोर संकलन गर्ने जिम्मेवारी लिँदा केही असहज हुन्छ कि भन्ने डर सुरुमा लागेको उनले बताए। तर, सफल आरोहण तथा जिम्मेवारीअनुसार फोहोर संकलन गरेका उनी अहिले मुस्काउँदै भन्छन्, ‘गर्वको महसुस भइरहेको छ, दुःख त भयो तर अहिले आनन्द लाग्छ आफूले गरेको काममा।’

सेना प्रमुख प्रभुराम शर्मा सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल चढेका मानसिंह चौधरीलाई कदरपत्र दिँदै।

खाल्टोहरूमा भएको फोहोर संकलन गर्न कठिन र चुनौती हुने गरेको उनी बताउँछन्। ‘हिमपहिरो पनि बेला–बेला आइरहेको हुन्छ। मौसमको पनि ख्याल गर्नुपर्ने हुन्छ’, उनी भन्छन्, ‘अनि फोहोर पनि संकलन गर्नुपर्छ।’ उनीसहितको टोलीले बेसक्याम्पदेखि चुचुरो सम्मको फोहोर संकलन गरेको हो।

चुचुरोमा जथाभावी फालेका झण्डा, चक्लेटका खोल, पानीका बोतल पाएको उनले बताए।

हिमालबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यस यात्रामा नेपाली सेनाका सदस्य र शेर्पा गरी ९७ जना सहभागी थिए।

तस्बिर सौजन्य: नेपाली सेना

गत चैत १४ गते सुरु भएको यस वर्षको अभियान यही जेठ २२ गते सकिएको छ। अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ भएको हो।
३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य लिइएकोमा सगरमाथा तथा ल्होत्से हिमालबाट १३ हजार ६ सय २१ किलो, अन्नपूर्णबाट तीन हजार ५ सय ६७ किलो र बरुञ्चे हिमालबाट १८ हजार ५ सय २० किलो गरी ३५ हजार ७ सय ८ किलो संकलन भएको अभियानले जनाएको छ।

संकलित फोहोरमध्ये कुहिने फोहोर स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ भने नकुहिने फोहोर व्यवस्थापन तथा त्यसको पुनःप्रयोग गर्ने संस्था क्रियसन भेन्चर्सलाई दिइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष