मीन विश्वकर्मालाई प्रश्नः शेखर कोइरालालाई देउवा गुटमा भित्र्याउनुभएको हो? (भिडियो)

+
-

काठमाडौँ– कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति गुट अन्त्य गर्ने रणनीतिमा भएको बताएका छन्।

संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला र देउवाबीच सहकार्य हुन लागेको भन्दै त्यसरी नजिकिनु आश्चर्यजनक नभएको बरु देउवाले गुटको अन्त्य गर्न खोजेको विश्वकर्माको भनाइ छ।

विश्वकर्माले देशसञ्चारसँग भने, ‘नेता कोइरालाले पनि सभापतिसँग सहकार्य गर्न प्रारम्भ गर्नुभएको छ। त्यो पार्टी, देश र व्यवस्थाको लागि उदाहरणीय काम हुन्छ।’

कांग्रेसको आन्तरिक खिचातानी, गुट, उपगुट, सभापतिको कार्यशैलीले नित्याएको चरम फुटको अवस्था, युवा नेताको असन्तुष्टिलगायत विषयवस्तुमा केन्द्रित भएर पार्टी प्रचार विभाग प्रमुख विश्वकर्मासँग देशसञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश:

पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच निकटता बढेको हो?
पार्टी एउटै हो। उहाँहरु एउटै पार्टीको प्रतिस्पर्धी हुनुहुन्थ्यो। शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी हुनुभयो। कोइराला निकटतम प्रतिस्पर्धी हुनुभयो। पार्टी सञ्चालन गर्नको लागि सबै नेताहरुको सहमति, एकता, सहकार्यको आवश्यकता हुन्छ, प्रतिष्पर्धाका क्षणलाई बिर्सिएर सहकार्य गरिहरनुभएको छ। त्यसरी नजिकिनु भनेको आश्चर्यजनक कुरा होइन। यो राम्रो कुरा हो, अहिले उहाँहरु सहकार्य गर्दै हुनुहुन्छ।

डा. शेखर कोइराला पार्टी सभापति देउवा गुटमा भित्रिइसक्नुभएको हो?
सभापतिको गुट हुँदैन नि त। सभापति बन्नको लागि समूह निर्माण गर्ने हो। त्यो समूह विजयी भयो भने मूलधार भइहाल्यो। विजयी भएन भने एउटा समूह प्रतिस्पर्धाको लागि सधै मिहिनेत गरिरहेको हुन्छ जसलाई हामी गुट भन्छौँ। तर सभापतिको गुट हुँदैन। सिंगो कांग्रेस सभापतिको नेतृत्वमा चलेको हुन्छ। प्रतिस्पर्धीहरुले सभापतिलाई साथ दिनु उहाँहरुको व्यक्तिगत र संस्थागत पनि जिम्मेवारी हुन्छ। गुटीय अभिव्यक्ति कम गर्दै लैजानुपर्छ भन्ने सबैको अभिव्यक्ति छ। नेता कोइरालाले पनि सभापतिसँग सहकार्य गर्न प्रारम्भ गर्नुभएको छ। त्यो पार्टी,देश र व्यवस्थाको लागि उदाहरणीय काम हुन्छ। त्यसैले एक गुट अर्कोसँग मिलेको वा भित्रिएको वा बाहिरिएको भन्ने ढंगले बुझ्नु हुँदैन।

संस्थापन इतर समूहलाई कमजोर बनाउन पार्टी सभापति देउवाले डा. कोइरालालाई हात लिनुभएको हो? त्यस्तो चर्चा छ।

सभापति सबैको हुनुहुन्छ। इतर र वितर नभनीकन इतर पक्ष सबैलाई आफ्नो बनाउनुभयो भने त गुट सक्किगो नि। त्यसैले देउवाले मुख्य प्रतिस्पर्धीलाई अहिले विश्वास दिलाइरहनुभएको छ। बाँकी अन्य प्रतिस्पर्धीहरुलाई पनि उहाँले चित्त बुझाइरहनुभएको छ। देउवा प्रतिस्पर्धी, विरोधी र समकक्षी सबैलाई सम्मान गरेर सँगै लिएर जान सक्ने धैर्यवान शालिन, कम बोल्ने, प्रतिक्रिया कम दिने र कसैसँग पनि बदलावको भाव कम राख्ने भएको हुनाले उहाँले सबैलाई लिएर जानसक्ने हुनुहुन्छ। कहिलेकाहिँ त्यो ढिलो हुन्छ र ढिलो भएबापत गुनासो गर्नुहुन्छ।

तपाईंलगायत संस्थापन समुहका नेताले गुट नै छैन जसरी कुरा गर्नुहुन्छ तर बाहिरबाट हेर्दा गुट मात्रै होइन, दुई,तीन वटा पार्टी एक भएर चिरा परेको जस्तो देखिन्छ, यो कसले बनायो?

नेपालमा प्रचलनमा रहेका राजनीतिक दलहरुमध्ये केहि उग्र बामपन्थी छन् र केहि उग्र दक्षिणपन्थी। कांग्रेस लोकतान्त्रिक पार्टी हो। विचारधारामा आधारित लोकतान्त्रिक पार्टी। यो व्यवहारमा लोकतान्त्रिक पार्टी हो त्यसैले कांग्रेसले बोलेका कुरा अर्को पार्टीले बोल्न सक्दैन। कांग्रेसका सदस्यले बोलेका कुरा अर्को पार्टीका सदस्यले बोल्न सक्दैन। सँगै निर्वाचनमा होमिएको छ। विजयी र पराजय हुनेबीच आलोचना पनि भैरहेको छ। अरु पार्टीको पटक्कै नेतृत्वको विरोध नभएको बेलामा हाम्रो पार्टीको नेतृत्वको पनि आलोचना भइरहेको देख्दा पार्टी त खत्तम भैहाल्यो कि, छियाछिया भैहाल्यो कि जस्तो लाग्न सक्छ। यही विषेशताका कारण हाम्रो पार्टी बलियो छ।
पार्टी एकरुप र एकढिक्का बनाउनका लागि सभापतिसँग धेरै धैर्यता छ।

तपाईं सभापति देउवा निकट भएर उहाँ धैर्यवान हुनुहुन्छ भन्दै गर्दाखेरि सार्वजनिक कार्यक्रममा नै महामन्त्रीलाई थर्काएको त देखियो नि?
त्यो थर्काएको होइन। हामीले हेर्दै जाँदा पार्टीभित्र विरोध गरेपनि देउवाले नेता कार्यकर्तालाई फकाउनुहुन्छ। देउवाले कसैसँग पनि प्रतिशोध राख्नुहुन्न। मैले निकट भएबापत भनेको होइन। उहाँलाई विरोध गरेबापत अहिले कोही पनि कारबाहीमा परेका छैनन्। कम बोल्नुहुन्छ। धेरै सुन्नुहुन्छ। सबैको मूल्याङ्कन राख्नुहुन्छ। सबैको सहमति नभइकन निर्णय गर्दिन भन्नुभएको कारण निर्णय ढिलो हुन्छ। ढिलो निर्णय गरेबापत उहाँ आलोचित हुनुहुन्छ। त्यो खपिरहनुभएको छ।

सभापतिले आलोचना सुन्न नसकेर पार्टीको बैठक आह्वान नगर्नुभएको हो?
नेपालका शीर्ष नेताहरुमध्येमा अथवा प्रधानमन्त्री बनिसकेका नेताहरुमा देउवा आलोचना सहन र सुन्न सक्ने नेतामा पर्नुहुन्छ। उहाँले कसैप्रति आग्रह पूर्वाग्रह राख्नुहुँदैन। आफ्नो पार्टीका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन देउवाले गठबन्धन नै फेरबदल गर्नुभयो। आफ्ना विरोध गर्नेहरुलाई रोजीरोजी टिकट दिनुभयो। जिताएर ल्याउनुभयो, मन्त्री पनि बनाउनुभयो। उहाँसँग जसले संवाद गर्दैन, संवाद नभएका मानिसलाई बाहिर निर्णय देख्दा के के न हो जस्तो लाग्छ। उहाँले गर्ने काममा सबैलाई समेटेर लैजानुहुन्छ।

त्यसो भए इतर समूहले सभापतिको कार्यशैलीको विरोध किन गरिरहेका छन् त?
राजनीति भनेको आधा समर्थन र आधा बिरोध हो।

इतर समूहले राखेका बिषयबस्तु सभापतिले सुन्न तयार हुनुहुन्न भन्ने आरोप छ। त्यस्तो हो?
मैले के कुरा राखेको थिएँ, के कुरा भएन भन्ने हो। कुरै सुनिएन भन्दै गर्दा तपाईंले के कुरा राख्नुभएको थियो भन्ने हुन्छ तर केही कुरा हुँदैन। यस्तोमा कुरा राख्न दिए पो राख्ने भन्ने त हुँदैन। कुरा सुनिएकै छ हाम्रो पार्टीको प्रचलनमा के छ भने सभापति र महामन्त्री मिलेर बैठक बोलाउनुहुन्छ। सभापतिले बैठकको अध्यक्षता गर्नुहुन्छ। महामन्त्रीहरुले बैठकमा प्रस्ताव पेश गर्नुहुन्छ। अनि बाँकी अरुले छलफल गर्छौँ। पार्टीमा सभापतिले सबैलाई सोधेर गर्दा काम ढिलो हुन्छ।

सब ठिकठाक छ, सबैलाई सोधेर काम हुन्छ भन्नुहुन्छ तर पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम पठाउँदा किन गाईजात्रा देखाउनुभयो? पार्टीभित्रका असमझदारी गठबन्धनका दल र राजनीतिमा छरपस्ट पार्नुभयो।
गाईजात्रा देखाएको होइन। सबैलाई मिलाउन खोजेको हो। सबैसँग सल्लाह गरेर नाम माग्दा र पठाउँदा ढिला भएको हो।

पार्टीको हैसियत कमजोर बन्दै सक्किने वा सच्चिने भन्ने अवस्थामा पुगेको छ। प्रभावशाली नेताहरु बाहिरिँदै छन्। विद्रोह गरेका छन्। यो के को संकेत हो?
हामीले जे प्रचार गरिरहेका छौँ, त्यो गलत हो। हामीसँग लामो समय रहनुभएका साथीहरुले समेत अहिलेसम्म केही प्राप्त गर्न सक्नुभएको छैन। उहाँहरु पार्टीमै हुनुहुन्छ। पार्टीमा १५ सालदेखि लागिपरेका साथीहरुले केही पाउनुभएको छैन। पार्टी, व्यवस्था र मुलुकको चिन्ता गर्नुभएको छ। तर, जसलाई पार्टीले पटक पटक अवसर दियो, उहाँहरुलाई अवसर कम भएर छोड्नुभएको हो।

राजनीतिमा नयाँ पुस्ता आएको छ तपाईंहरुको पुरानो शैलीले त नहोला नि त?
पुरानो शैली र नयाँ शैली भन्ने हुँदैन। यो कुनै एउटा घटना वा कार्यक्रम होइन। काँग्रेस भनेको सौर्यमण्डल जस्तै हो। यसमा युवा, वयस्क, महिला,पुरुष, जेष्ठ नागरिकदेखि भर्खरका बालबालिकासम्म हुनुपर्‍यो। युवा नेताहरुको पनि देखियो, कसैको नराम्रो भन्नै नपाइने भएको छ। फेसबुकबाट जन्मियो, फेसबुकमै प्रचार र फेसबुकबाट चुनाव भएको हो, त्यति मात्रै त होइन होला नि त।

तपाईं स्वीकार्नुहुन्न होला तर कांग्रेस अहिले मृत्युशैयामा छ भन्नेहरु छन्,पार्टीलाई ब्युँत्याउने योजना के छन्?
तपाईँले यो प्रश्न गर्ने कसरी आँट गर्नुभयो? वर्ल्डकपमा जसले जितेर कप लग्यो त्यो सकिएको र जो हारेर रुँदै घरमा फर्कियो त्यो जागेको हुन्छ? अहिले हामीले ७ सय ५३ स्थानीय तहमध्ये ३ सय २९ वटा तह जितेका छौँ। प्रदेश र संघीय संसदमा हामी पहिलो छौँ। हामी कसरी कमजोर?

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?