
काठमाडौँ- पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले समयमै क्यान्सर रोगको पहिचान भए सजिलै निको हुने बताएका छन्।
परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त भएका डा. शाहसँग बुधवार काठमाडौंमा गरिएको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले सुरुमै पहिचान गर्न सके क्यान्सर रोगको उपचार शतप्रतिशत सम्भव रहेको बताए।
क्यान्सर शरीरका विभिन्न अंगमा फैलिसकेको अवस्थामा यो जति अरु खराब रोग केही नभएको बताउँदै डा. शाहले ढिलो पहिचान भए उपचार जटिल हुने र बिरामीलाई बचाउन गाह्रो हुने बताए।
‘समयमै क्यान्सर रोगको पहिचान भए सजिलै तर क्यान्सर शरीरका विभिन्न अंगमा सरिसकेको अवस्था छ भने क्यान्सर जति अरु खराब रोक केही हुँदैन। बिरामी मात्र होइन, पारिवारिक वातावरणमा पनि असर पर्छ । खर्च पनि बढी गर्नुपर्ने हुन्छ,’ उनले बताए।
पुरुषमा फोक्सो क्यान्सर पहिलो नम्बरमा आउने उनले बताए।
दोस्रोमा ओठ तथा मुखको क्यान्सर, तेस्रोमा पेट, चौथोमा ल्युकेमिया र पाँचौमा लिम्फोमा क्यान्सर आम देखिएको र महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा रहेको बताउँदै उनले स्तन दोस्रो, फोक्सो तेस्रो, डिम्बाशय चौथो र गलब्लाडरको क्यान्सर पाँचौ नम्बरमा रहेको जानकारी दिए।
क्यान्सरको पहिचान र रोकथामका लागि परिक्षणमा ध्यान दिनुपर्ने र सुरुकै अवस्थामा पहिचान भयो भने ९० प्रतिशत क्यान्सर निको पार्न सकिने डा. शाहीको भनाइ छ ।
ढिलो पहिचान हुँदा बिरामीको उपचार खर्चिलो हुनुको साथै पूर्ण रुपमा निको नहुन पनि सक्ने उनले बताए। उनले भने, ‘शहरी क्षेत्रका महिलामा स्तन र ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुने गरेको देखिएको छ । सर्जरी, रेडियोथेरापी र किमोथेरापी क्यान्सर रोगको उपचार विधिहरु हुन् । अनियन्त्रित कोषिकाहरूलाई नष्ट गर्न केमो दिइन्छ। केमोले शरीरमा आवश्यक नभएको र अनियन्त्रित तरिकाले वृद्धि भइरहेको कोषिकालाई नष्ट गर्छ। त्योसँगै शरीरलाई आवश्यक भएको कोषिकालाई पनि मार्छ। बिरामीलाई एक पटक दिएपछि फेरि केही समयमा ग्याप राखिन्छ।’
सुर्तीजन्य पदार्थको प्रयोग नगरे क्यान्सरको जोखिम ९० प्रतिशत कम गर्न सकिने उनले बताए।
योसँगै माटोपनाको नियन्त्रण, दैनिक शारीरिक व्यायाम गरे र सन्तुलित खाना खाए क्यान्सरको जोखिमबाट बच्न सकिने उनले बताए।
कलेजोको क्यान्सरबाट बच्न हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन डा. शाहीको सुझाव रहेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रम एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजना र देउराली फाउण्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा भएको हो।