
काठमाडौं- एक नेपाली महिला विगत डेढ महिनादेखि भारतमा बेपत्ता भएको खुलेको छ।
बैतडी जिल्ला शिवनाथ गाउँपालिका वडा नं ३ मल्लीमड घर भएकी पद्मा साउद विगत डेढ महिनादेखि भारतको पञ्जाबमा बेपत्ता भइरहेको उनका पारिवारिक सदस्यले बताएका छन्। साउदकी माइती घरका भाइ मोहनसिंह पालका अनुसार उनी मे १ तारिखदेखि नै पंजाबमा बेपत्ता भएकी हुन्।
सिंहका अनुसार उनकी दिदी साउदका श्रीमान्को करिब ४ वर्षअघि मृत्यु भइसकेको छ। उनी दुई बालबच्चासहित विवाह भएको घरमा नै बस्दै आएकी थिइन्। साउदका श्रीमान् कामको सिलसिलामा भारतको पञ्जाबमै रहेका बेला सवारी दुर्घट्नामा परी उनको मृत्यु भएको हो। कामकै सिलसिलामा श्रीमान्ले बिमा गराएका थिए। श्रीमानको मृत्युपश्चात पटकपटकको ताकेतामा बिमा कम्पनी रकम दिन तयार भयो। बिमा बापत ३५ लाख रुपैयाँ आउने जानकारी पाएको दिदीले आफूहरुलाई सुनाएको सिंह बताउँछन्।
सिंहका अनुसार दिदी (पद्मा साउद) उनको जेठाजु र देवरसहित मे १ मा बिमा बापतको रकम लिन भन्दै भारतको पञ्जाब पुगेकी थिइन्। तर, सोही दिनदेखि नै विभिन्न बहाना गर्दै दिदीलाई गायब गरिएको उनी बताउँछन्। ‘मे १ मा उनीहरुले बिमा बापतको पैसा लिन भन्दै मेरी दिदीलाई पञ्जाब लिएर गएका थिए, उनीहरु २ तारिखमा नै नेपाल फर्किए तर मेरी दिदी उतै हरायो भन्दै लिएर आएनन्,’ उनी भन्छन्।
‘उनीहरुले मेरी दिदी १ तारिखको ३ बजेतिर नै हराएको भनेका छन्, उनीहरुले मेरी दिदी हिमाञ्चलको एउटा केटासँग पोइला गयो भने तर हामीले दिदीलाई भिनाजुको मृत्युपछि नै सोधेका थियौं अर्को विवाहका लागि, दिदीले बालबच्चा हेरेर बस्छु भनेर इन्कार गर्नु भएको थियो।’
सिंह आफ्नो दिदी हराएको गुनासो सुनाउँदै भन्छन्, ‘फेरि उनीहरु अब दिदीलाई खोज्ने भन्दै ६ तारिखमा भारत गए र ८ तारिखमा फर्किए तर मेरो दिदीलाई ल्याएन।’
आफ्नो दिदी हराइरहेकाले के हुँदै छ भनेर सिंहले १२ तारिखमा दिदीको जेठाजुलाई फोन गरे तर उनले जवाफमा दिदी नभेटिएको तर भारतीय प्रहरीमा उजुरी (एफआइआर) दायर गरेको बताए। ‘तर पछि प्रहरीतिर बुझ्दा कुनै एफआइआर दायर गरिएको रहेनछ। पछि उहाँहरुले नै आफै भन्नु भयो अनि म आफैँले ३० तारिखमा एफआइआर दायर गरेँ’, उनी भन्छन्, ‘प्रहरीमा खोजीको लागि निवेदन दिएको पनि यत्रो दिन भइसक्यो केही पत्ता लागेको छैन। मेरो दिदी त्यसरी पञ्जाबमा गएर एक्लै कतै जान सक्ने मान्छे होइन, उहाँलाई लिएर जानै मान्छेहरुले नै गायब गराएको हुनुपर्छ। पैसाकै लागि हो वा अरु केही हो!’
मोहनसिंह पालले पञ्जाबको हिम्मताना प्रहरी चौकीमा उजुरी दर्ता गराएका हुन्।
पालका अनुसार बिमा कम्पनी श्रीराम इन्सुरेन्स कम्पनीबाट आउने पैसा ३५ लाख रुपैयाँ मध्ये ३४ लाख रुपैयाँ आइसकेको छ। यसमध्ये पनि १७ लाख १५ हजार रुपैयाँ साउदको खातामा आएको र बाँकी रकम दुवै छोरीहरुको खातामा आएको र उक्त रकम १८ वर्ष पूरा भएपछि मात्रै निकाल्न मिल्ने वकिलले जानकारी दिएको उनले बताए। दिदी हराइरहेको भए पनि खातामा आएको १७ लाख रुपैयाँमध्ये १३ लाख २२ हजार रुपैयाँ निकालिसकिएको बुझिएको उनले बताएका छन्। हाल खातामा करिब ३ लाख ९३ हजार रुपैयाँ मात्र रहेको उनी बताउँछन्।
‘खातामा पैसा आइसकेपछि मेरी दिदीलाई उनीहरुले गायब गराए। कहाँ छ, के छ भन्दा पनि चासो दिँदैनन्,’ उनी भन्छन्, ‘मेरी दिदी पोइला जाने भए यत्रो ४ वर्षसम्म भान्जीहरु हेरेर बस्दैन थियो। मेरो दिदीलाई त हिमाञ्चल भन्ने ठाउँको बारेमा पनि राम्रोसँग थाहा छैन। मेरो दिदीलाई टुनामुना गरेर हिमाञ्चलको एउटा मान्छेले लगेर गएको छ भन्छ तर मैले त्यहाँ गएर बुझ्दा दिदी त्यो ठाउँमा पुगेकै छैन भन्छ।’