
काठमाडौँ — महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।
गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि पाललाई निलम्बन गरीएको हो।
केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जाने तयारीमा थिएन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।
एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेको खुलेको थियो।
प्रस्तावबारे महिलाले प्रतिवाद गर्दै घटनाबारे महिलाले ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको हो।
घटना छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले समिति बनाएको थियो । उक्त समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको हो ।