
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये १६ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौँले शुक्रबार नै जवाफी बहस सकाएर फैसला सुनाएको हो। शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पक्राउ परेका मध्ये टंक गुरुङ र लक्ष्मी महर्जन दुईजना भने धरौटीमा रिहा भएका छन्। टंक गुरुङलाई १० लाख रुपैयाँ र महर्जनलाई ५ लाख धरौटीमा रिहा गरिएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहित १८ जना पक्राउ परेका छन्।
संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा गत जेठ १० गते ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
यसमध्ये १८ जना पक्राउ परे पनि १२ जना अझै फरार रहेका छन्। उनीहरू भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ।