
हजुरआमा ढोग गरेँ!
चिन्नुभएन जस्तो छ
म कान्छीको साहिँलो छोरो
हजुरकाे मन पर्ने नाति।
हजुरआमा!
मलाई चिन्नुभएन भने
मलाई दुःख अवश्य लाग्नेछ
तर हजुरलाई कुनै दोष दिने छैन,
हजुरको मस्तिष्कका कोषिकाहरू
कमजोर भएका छन्
अनुहारका विम्बहरू बिर्सँदै जानुभएको छ,
आँखाहरू धुमलिएका छन्।
हजुरलाई भेट्न आउँदा
‘कस्तो दुब्लो भएछ, के खान्छस्?’
भन्नुभएन भने मन खिन्न पार्नेछैन,
बुझेको छु
अब त पकाउन पनि सक्नुहुन्न,
झ्वार्र आगो बालेर भुक्लुक्क केही उमाल्न,
हात काँप्छन्, मैले देखेको छु।
मैले ल्याइदिएको मिठाइ र फलफूल
खोलेर खानुभएन भने
अचम्म त पक्कै लाग्ला
हजुरलाई केही स्वाद लाग्दैन
भोक पटक्कै छैन भन्ने
मलाई ज्ञात छ
हजुरलाई मन पर्ने राम्रो लुगा
कुनातिर फाल्दिनुभयो भने
मलाई नराम्रो लाग्ने छैन
मैले पनि सानोमा यसरी नै हुर्याइदिएको थिएँ
हजुरले उपहार दिएको नयाँ कपडा
रंग मन नपरेर!
हजुरआमा
हजुरले हिँड्ने बेला
खुसुक्क खल्तीमा हालिदिएको पैसा त
त्यतिबेलै सकिसक्यो,
त्यसको सम्झना अझै बाँकी छ
त्यो पैसाले किनेको चकलेटको
गुलियो मनभरि फैलिएको छ
अगणित माया गरेर
पुल्पुल्याएको जहिल्यै सम्झना छ।
कसैले गाली गर्यो भने
त्यसैलाई मुखभरि गाली गरेर
‘मेरो नातीलाई केही नभन’ भनेको
के गरी बिर्सिएला र?
भाग्यमानीले मात्र पाउँछन्
हजुरआमाको माया र सान्निध्य,
शिशुको अनुहार जस्तै पवित्र,
हिमतालको पानीजस्तै शुद्ध र
सागरझैँ गहिरो प्रेम,
त्यस्तो माया कहाँ गएर किन्नु?
त्यो जमानामा सानै उमेरमा
विवाह गरेर
आउँदा कति दुःख भयो होला
कसरी हुर्के होला
लस्करै लागेका लालाबाला?
त्यो सम्झेर तीतो महसुस गरेको
कहिल्यै देखिनँ हजुरआमा।
आफ्नो उमेरमा गर्नुपर्ने भन्दा बढी
हजुरले गरिसक्नु भएको छ
त्यही भएर कुनै चिन्ता गर्नुपर्दैन
न त अफसोच नै
म त हजुरको अस्तित्वमै परम खुसी छु
मैले बुझेको छु
हजुर नभएको भए म पनि हुने थिइनँ।