
विषयप्रवेश
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य वि.सं.(१८७१—१९२५) का विषयमा छविलाल नेपाल पाल्पाली (१९०५—१९७९), मोतीराम भट्ट (१९२३—१९५३) इत्यादिदेखि आजसम्म धेरै लेखक–समीक्षकहरूले कलम चलाएका छन् । नेपाली साहित्यमा भानुका जीवन–चरित्रको सोधखोज गर्न र उनका कृतिहरूको समीक्षा गर्न रचिएका ग्रन्थहरू धेरै नै भैसकेका छन् । तथापि कतिपय विषय अझै विवेचनीय छन् । भानुभक्तसित सम्बद्ध विभिन्न घटनामध्ये गजाधर सोतीका घरमा भानुको बास विशेष रूपमा चर्चित छ । उक्त घटनाका विषयमा यस लेखमा केही विवेचना गरिन्छ ।
मोतीराम भट्टको वर्णन
मोतीराम भट्टले गजाधरका घर कवि पाउना हुन गएका विषयमा “कविभानुभक्त को जीवनचरित्र”मा यस्तो लेखेका छन्— “विक्रमीय सम्वत् १९०१ मा कलाधर ब्राह्मण् लाई मंत्र सुनाउन भनी कार्त्तिक मास मा भानुभक्त लाई २।३ दिन्को बाटो हिँडी निज कलाधर का घर जानु पर्यो । रम्घा गाऊँ देखी दुइ कोस् पर रहने एक गजाधर सोती थिये इन्को घर रिस्ती नदी का किनारा नेरै थियो फुर्सत् पाये का बेला मा गजाधर सोती रम्घा गाउँ मा आई भानुभक्तजी सित भेट गरी एक् दिन् त मेरा घर्पाल्नु होस् भनी सद्धैं भन्थे । भानुभक्त पनी अनुकूल न पाई गजाधर का घर जान सकेका थियेनन् र निज कलाधर कहाँ जानु पर्दा बाटा मा गजाधर सोती को घर पनी(र्ना?) ले तेस् दिन् तहीं बास बस्न आँटी ती गजाधर का घर मा गै बास् पाउँछू की भनी भने । तेस् दिन गजाधर सोती काम विशेष ले आफ्नू ज्येठो छोरो ली एक् दुइ दिन्को बाटो परदेस् गये का रहे छन् र गजाधर्की बुहारि ले भानुभक्त लाई पीढी मा बस्नु होस् भनी भन्दा भानुभक्त कविजी तहीं बसे फेरि गजाधर सोती की ब्राह्मणी आये र ह्यां न बस भनी पीढी मा बस्न दिइन छन् फेरी बुहारी अलिक् दयावती हुना ले ढीकी राखे को छाप्रो देखाई ह्यैं बस्नु होस् भनी गइन् भला पर्देश्मा यो छाप्रो पनी हत्तपत्त कहाँ पाइन्छ भनी सन्तोष गरी तेसै ढीकी राखे का छाप्रा मा बास् बसे तर साँझ हुने हुने बेला मा फेरि गजाधर्की पत्नी तेस् ढीकी राखे का छाप्रा मा गै हुंदैन ह्यां बस्न भोली बिहानै हाम्रा धान् कुट्ना पर्ने छन् भनी बिचारा पर्देसी भानुभक्त लाई तेस् छाप्रा बाट पनी निकालीन् । वर पर ताहाँ आर्का को झोपडी न देख्ता निरास् भै एक् रुख् भनी(मनी?) गै रात्भर् तहीं सित्मा डल्लिये भोली पलृ(ल्ट?) बिहानै उठी बाटा लाग्ने बेला मा एक् ६।७ वर्ष को लडिको देखे र को ह्वौ नानी तिमि कस्का छोरा ह्वौ भनी सोद्धा गजाधर को कांछो छोरो हूं भनी तेस् लड्का ले भन्यो र उसो भये एक्कै छिन् पखहैत भनी यो श्लोक् बनायेः—
गजाधर्सोती का घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जाना लाई सब सित बिदा बादि भइ छन् ।
पुग्यो (पुग्यौं?) सांझ् मा तिन्काघर पिढिमहां बास गरियो
निकालिन् सांझैमा अलिक पर गुल्जार (गुज्रान) गरियो ।।
फेरि यो श्लोक लेखे को कागत् लड्का का तना मा बाँधि दिये बाबा लाई घर आये पछी दिये है भनी फेरी यै श्लोक् तेस् लड्का लाई कण्ठ गराई भानूभक्तजी आफ्ना बाटा लागे । गजाधर्का छोरा ले बालक्खै हुंदा श्लोक् को अर्थ न जानी यो श्लोक् भनी भनी अरु लड्का हरु सित खेल्दा अरु अरु लड्का हरू ले पनी यै श्लोक भने २।४ दिन्पछी गजाधर्सोती घर आई पुग्दा साथ् लड्का अरु (हरु?) ले यो श्लोक् भने को सुनी मन मा बडो खेद् गरे आफ्नी पत्नी लाई खुप् हप्काये” (वि.सं. १९४८, पृ. १६–१९) ।
ब्रह्मसम्सेरको भनाइ
मोतीरामको उक्त लेख देखेर ब्रह्मसम्सेरले “कवि भानुभक्त” भन्ने पुस्तकमा तल लेखेका कुरा लेखेका छन्— “गजाधर सोतीकी ब्राह्मणीले आफ्नो पाउना भै आएकालाई यसरी असत्कार गरी घर बाहिर धपाउनु बहुत नालायकको कुरा थियो । तर आफूलाई बास दिइन भनेर एक स्त्री उपर आक्षेप गर्ने उद्देश्यले उनका छोरालाई कागज मात्र दिएर चित्त नबुझी उसलाई सो श्लोक समेत कण्ठ गराएको हुनाले उनले सो बखत उनको कविताशक्ति कुमार्गमा लगाए भनी भन्नुपर्छ, …..” (वि.सं. १९९५, पृ. १७–१८) ।
मोतीराम भट्टको भनाइ अतथ्यपूर्ण
तर यस कुरामा ब्रह्मसम्सेरको भनाइको मूल आधार मोतीरामका भनाइमा नै पहिला विचार गर्न आवश्यक छ । “मोतीराम भट्टका भनाइमा यस प्रसङ्गमा मात्र हैन, अन्य कतिपय प्रसङ्गमा पनि अयथार्थ कुरा परेका छन् । जम्मा सात–आठ कोस टाढा आफ्ना मामाका घर कवि गएका हुन् । दुई–तीन दिनको बाटो भनी मोतीरामले लेखेका छन् । कात्तिक महिनामा मन्त्र सुनाउन जाने कुरा पनि विचारणीय नै देखिन्छ । गजाधरको घर रम्घाबाट पूरा पाँच कोस पर छ, मोतीरामले दुई कोस पर भनी लेखेका छन् । गजाधर रम्घा गाउँमा आउने–जाने गर्थे भन्ने कुरा पनि यथार्थ हैन । भानुभक्त अगि–अगि पनि मावल जाँदा–आउँदा ती सोतीको घर बाटामा पर्ने हुँदा बाटामा कविजीको गजाधर सोतीसित भेट¬घाट र चौतारामा थकाइ मार्न बस्ता बातचित अलि–अलि हुने गरेको मात्रै हो । ढिकीमा बस्नुहोस् भन्दा ढिकीमा बसेर निर्वाह चल्ने किसिमसँग ओड्ने–ओच्छ्याउने, खाने–पिउने, भरिया–तरिया गरेर कविजी टाढाको परदेश गएका पनि हैनन् र ढिकी राखेका छाप्रामा बसेका पनि हैनन् । गजाधर घर नभएका पनि हैनन् । बुढीले गजाधरकै समक्ष जिताहार भएर पतिको इच्छाविपरीत पाउना बेहोर्न नचाहेर भानुलाई बास नदिएकी हुन् । सोतीको छ–सात वर्षको छोरालाई तुनामा कविता लेखेको कागज कविजीले बाँधेका पनि हैनन् । गजाधरको छोरालाई आफूले रचेको श्लोक कण्ठस्थ गराएर कविजी बाटो लागेका पनि हैनन् ।” यी कुरा भानुभक्तको सच्चा जीवनचरित्रमा लेखिएका छन् ।
पण्डित कविराज नरनाथ आचार्यको समीक्षा
यसरी उक्त घटनाको स्पष्टीकरण र मोतीरामका भनाइको समीक्षा हाम्रा पितामह पण्डित कविराज नरनाथ आचार्यले (१९६२—२०४५) “आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र”मा गर्नुभएको छ । यसै विषयमा उहाँ विवेचना गर्दै लेख्नुहुन्छ—
“हाहा र हुहुको लोक हुन्छ । त्यस्तो लोकका किंवदन्तीबाट पाएका कुरामा विचारशील लेखकले सत्य र असत्य के होला भन्ने अलिकति विचार चलाउनुपर्छ । तर मोतीरामजी पनि यो जीवन-चरित्र लेख्ताका बखत तेइस–चौबिस वर्षका भएको बुझिन्छ । उमेर कच्चै भन्नुपर्छ । त्यस्ता उमेरमा सबै कुरामा विचार नपुग्नु मनासिबै पनि हो।”
“अब अलिकति विचार गरम् त— बालक छोराछोरी पढाउनलाई तलब समेत ख्वाएर घरमा पण्डित राख्नुहोस् । ती पण्डितसँग छ–सात वर्षको आफ्नो छोरालाई पढ्न भनेर भिड्याइदिनुहोस् । ती पण्डितले बडो प्यारो पारी–पारी पढाउन लाग्दा पनि त्यो लड्को राम्रो गरी झ्याम्मिँदैन । कति दिनसम्म दुई पङ्क्ति पनि कण्ठस्थ पार्न सक्तैन । यो कुरा सबैलाई थाहै छ । यस्तामा चिन्नु–न–जान्नुका त्यस्ता नौला मानिससँग आफ्ना बाउ–आमाका परोक्षमा भिडिएर छ–सात वर्षको ठिटो कत्रो पो हुन्छ र, त्यत्राले ढिटो भै म गजाधरको कान्छो छोरो हूँ भन्ने र त्यति लामो शिखरिणी वृत्तको श्लोक नौला मानिससँग आनन्दसँग घोकेर उत्तिखेरै कण्ठस्थ पारेर भन्दै हिँड्ने कुरो सम्भव हो कि असम्भव हो? फेरि रुखमुनि सुती रात गुजार्ने परदेशी प्रायः केही रात बाँकी हुँदैमा हिँड्छन् । नभए पनि उज्यालो भएपछि त जरुर बाटा लाग्छन् । छ–सात वर्षका ठिटाहरू त प्रायः तिन–चार घडी दिन चढेपछि पो ओच्छ्यानबाट उठ्छन् । त्यस्ता उदाराशय कवि, जसलाई सर्वस्व पार्लाजस्तो सरकारी बाँकीमा पक्रिई थुनाहामा परेका वेलामा पनि दुःख रिस र शोकले दक्खल गरेनन्, त्यस्ता वेलामा पनि ठट्टालु हँसिला रहेर जसले रसिला परोपकारी स्थायी कविता गरे, सदाकाल प्रसन्न रहने सर्वव्यवहारमा निपुण उदाराशय कविले त्यो श्लोक देख्ता जसले मजा मान्दैन त्यसैका बालक छोराका तुनामा श्लोक लेखेको कागज बाँधेर आफूले पाहुना–सत्कार नपाएको रिस फेरेर गए हुन् भन्ने बुद्धिमान्ले सम्झनु त साह्रै बेहोसीको कुरा हो । उनका कविता र सबै लेखहरूबाट उनको स्वभाव बुद्धि र चरित्र सबै कुरा बुद्धिमान्हरूका मनमा जस्ताको तस्तो झल्केको छ । यस्ता लायकका मानिसले यस्तो गर्यो होला यसो गरेन होला भन्ने कुरामा पनि एउटा अनुमान हुन्छ । एउटा संयोगबाट त्यो श्लोक कविका मुखबाट निस्क्यो होला, अर्काका मुखमा चढ्यो होला, लोकमा स्वयम् फैलियो होला भन्ने बुद्धिमान्ले ठहराउँछन्” (प्र.सं २०१७, द्वि.सं.२०३६, पृ.१५७—१५८) ।
यस घटनालाई विचार गर्दा लोग्नेमान्छे नभएका स्वास्नीमान्छे मात्रै भएका घरमा कवि भानुभक्तले बास बस्न खोजेका थिए भन्नु नै सबैभन्दा नमिल्दो र अयथार्थ कुरा देखिन्छ । मोतीरामले यस विषयमा ध्यान नपुर्याइकन वर्णन गरिदिनाले पछिपछिका लेखकले पनि विना गम्भीर विवेचना मोतीरामकै वर्णनलाई पत्याउँदा भानुभक्तको अर्घेलो देख्न थालेछन् ।
स्त्री मात्रै भएका घरमा जोसुकै पुरुषले बास बस्न खोज्नु अनुचित हुने कुरामा मतभेद नहुनुपर्ने हो । साथै “आदिकवि भानुभक्तको सच्चा जीवनचरित्र”मा यस घटनाको युक्तिसङ्गत वर्णन र स्पष्टीकरण देखेपछि त विवेकी समालोचकले वस्तुस्थितिको आकलन गर्न सक्नै पर्ने हो ।
मोतीरामले “गजाधर् सोतीका घर बुढि” इत्यादि पद्य पाए पनि पद्य बन्नुको सन्दर्भको विस्तृत विवरण प्राप्त गर्न नसक्ता आफ्ना बुद्धिले भ्याएसम्म मिलाएर त्यसको विवरण दिन प्रयास गरेको देखिन्छ । तर उनको उक्त विवरणमा नमिल्ने धेरै कुरा परेका छन्।
भानुभक्तको व्यक्तित्व र आचरण
अहिले पनि पुरुष नभएका महिला मात्र भएका घरमा रातमा बास बस्न हिन्दुसमाजका कुनै पनि पुरुषले खोज्दैन र उचित पनि मान्दैन भने त्यति बेलाका ब्राह्मण–समाजमा सासु–बुहारी मात्र भएका घरमा नाता–न–पाताका भानुभक्तजस्ता पण्डित विद्वान् उच्चकुलीन ब्राह्मण कविले बास बस्न खोजे होलान् भनेर कल्पना गर्नु मात्र पनि नेपाली समाज कत्ति पनि नबुझेको लक्षण हो । तथापि पुरुष नभएका महिला मात्र भएका घरमा नै भानुभक्त बास बस्न खोजेका हुन् र त्यहाँ बास नपाएपछि अन्यत्र बास बस्न गएका हुन् भनेर नमिल्दो कुरा नै मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, शर्वराज आचार्य इत्यादि लेखकले पछिपछि पनि लेखिरहेको देखिन्छ । यसबाट उनीहरूले “सच्चा जीवनचरित्र”मा (२०१७, २०३६) वर्णन गरिएको यस घटनाको यथार्थ स्वरूपलाई र स्पष्टीकरणलाई हृदयङ्गम गर्न नसकेको देखिन्छ ।
भानुभक्त शास्त्र पनि पढेका, नीति पनि बुझेका, उच्चकुलीन सदाचारी ब्राह्मण पण्डित कवि भएकाले उनले मनुस्मृतिको तल उल्लिखित श्लोकको मर्म अवश्य नै बुझेका थिए र तदनुरूपको व्यवहारलाई नै अपनाउँथे भन्न सकिन्छ—
मात्रा स्वस्रा दुहित्रा वा न विविक्तासनो भवेत् ।
बलवानिन्द्रियग्रामो विद्वांसमपि कर्षति ।।२।२१५।।
अर्थात्— आफ्नै आमा, दिदी–बहिनी र छोरीसित पनि एकान्तमा नबस्नू, किनभने इन्द्रियहरूको समूह अत्यन्त बलवान् हुन्छ र त्यसले विद्वान्लाई पनि आफूतिर आकर्षित गर्दछ । यसरी आफ्नै निकट नाताका स्त्रीहरूसित त एकान्तमा बस्न नहुने शास्त्रको उपदेश छ भने परस्त्रीहरू मात्र भएका घरमा भानुभक्तले बास बस्न खोजे होलान् भनेर कसरी मान्न सकिन्छ ? त्यति वेला पुरुषहरू परस्त्रीसित बाध्यता नपरी कुराकानी मात्रै पनि गर्दैनथे भन्ने तथ्य विवेकशील व्यक्तिले बुझेकै हुनुपर्ने हो ।
अतः भानुभक्त बास बस्न जाँदा सोतीका घरमा लोग्नेमान्छे नभए पनि भानुभक्तले त्यहाँ बास बस्न खोजेको कुरा देखाउने लेखक–समालोचकहरू अत्यन्त ठूलो भ्रममा परेका हुन् भन्ने देखिन्छ । तिनले न शास्त्र बुझे, न त नेपाली समाज नै बुझे । सदाचारको र नैतिक आचरणको मर्म र गाम्भीर्य त झन् बुझ्दै बुझेनन् । ऐले पनि लोग्नेमान्छे मात्रै भएका स्वास्नीमान्छे नभएका घरमा बास बस्दा “म पुरुषद्वारा दुर्व्यवहारमा परेँ” भन्ने एक जना महिलालाई “पुरुष मात्र भएका घरमा किन बास बस्न गएकी थियौ त ? त्यसरी बास बस्नु नै तिम्रो अनुचित कार्य थियो” भनेर औँला ठड्याउने समाज देखिएको छ भने त्यति वेलाको समाजको नैतिक आचरण त निकै विशिष्ट थियो भन्ने बुझिन्छ । तसर्थ यस सम्बन्धमा सच्चा जीवनचरित्रको विवेचनापूर्ण विस्तृत प्रस्तुतिलाई नै (द्वि.सं.२०३६, पृ. १५४—१६०) हृदयङ्गम गरेर स्वीकार्नु उचित देखिन्छ । भानुभक्तलाई मूर्ख वा अनुचित कार्य गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्न खोज्नु युक्तिसङ्गत र विवेकपूर्ण कार्य देखिँदैन । वधूशिक्षामा त्यस्ता शास्त्रीय आदर्शपूर्ण उपदेश अरूलाई दिने भानुभक्तलाई आफैँ शास्त्रविरुद्ध काम गर्ने व्यक्तिका रूपमा चित्रित गर्न मिल्ने देखिँदैन ।
एकातिर वस्तुस्थिति यस्तो देखिन्छ भने अर्कातिर भानुभक्तकै आचार्यवंशका प्रौढ व्यक्ति शर्वराज आचार्यले समेत यस घटनालाई स्वैर कल्पनाका आधारमा भानुभक्तको व्यक्तित्व र चरित्रलाई गिराउने किसिमले वर्णन गर्न पुगेका छन् । “भानुभक्तीय खोज” भन्ने पुस्तकमा (२०६९, पृ. ५३–५४) “भानुभक्त आचार्य र गजाधर सोतीकी बुहारी” भन्ने शीर्षकभित्र उनले यस्तो कुरा लेखेका छन्—
“गजाधर सोतीकी भावुक बुहारी भानुभक्तप्रति आकर्षित भएकी थिइन् । साथै भानुको हृदय पनि अव्यक्त रूपमा उनीप्रति आकर्षित थियो । एक दिन भानुभक्त सोतीकहाँ बास बस्न जाँदा त्यहाँ लोग्नेमान्छे रहेनछन्, स्वास्नीमान्छे मात्र रहेछन् । तिनताका आइमाई मात्र भएको घरमा साँझपख कुनै लोग्नेमानिस आयो भने बास दिने चलन थिएन तर भानुभक्तलाई भने के खोज्छस् काना आँखो भने जस्तो भयो । अँध्यारो भइसकेकाले यही घरमा बास बस्न पाऊँ भनेर भानुभक्त ढिपी गर्न थाले । गजाधरकी बुढीले कारण खोलेर बास नदिने कुरा गरिन् । तर बुहारीले ढिकी भएको ठाउँमा भए पनि बास दिन उचित हुन्छ भनेकाले भानुले बास पाए । तर बुहारी भानुसित गफ गर्दै हाँसेर बसेको देखेपछि बुढीले भानुभक्तलाई त्यहाँबाट लघारिन् ।” यो वर्णन आधारहीन र काल्पनिक मात्र हो भन्ने स्पष्ट नै छ। उक्त ग्रन्थमा निष्प्रमाण तथा स्वैर कल्पनाका आधारमा किंवदन्तीको नाम दिएर भानुभक्तका विविध प्रकारका व्यक्तित्वलाई अयथार्थ रूपमा प्रस्तुत गरिएको देखिन्छ ।
उपसंहार
मोतीरामले “गजाधर् सोतीका घर बुढि” इत्यादि पद्य पाए पनि पद्य बन्नुको सन्दर्भको विस्तृत विवरण प्राप्त गर्न नसक्ता आफ्ना बुद्धिले भ्याएसम्म मिलाएर त्यसको विवरण दिन प्रयास गरेको देखिन्छ । तर उनको उक्त विवरणमा नमिल्ने धेरै कुरा परेका छन्, जसको उल्लेख माथि गरिसकिएको छ ।
माथिको विवेचनाबाट भानुभक्त स्वास्नीमानिस मात्र भएका अवस्थामा सोतीका घरमा बास बस्न गएका हैनन् भन्ने र साँझका पाउनाप्रति गर्नुपर्ने उचित व्यवहार गर्न समाजलाई लोकसम्मत शास्त्रीय शिक्षा दिन परिस्थितिवश भानुले उक्त पद्य बनाएका हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।