
पत्रकार एवं लेखक विमल नेपाल उपन्यास ‘पीपला’का कारण चर्चामा छन्। सिन्धुपाल्चोकमा जन्मिएका विमलले जनयुद्ध भोगेका नजिकका आफ्ना आफन्त देखेका छन्। भेटेका छन्। दर्दनाक कथालाई आफ्ना पत्रकारितामार्फत् बाहिर ल्याएका छन्। युद्धपछिको स्थितिको सन्दर्भलाई उजागर गर्न खोजेको बताउने नेपाल आफू हुर्किँदाको त्यो त्रासदीपूर्ण समयलाई मनबाटै महसुस गरेका छन्।
न्युज २४ टेलिभिजनमा काम गर्दा उनले ३/४ वटा रिपोर्टिङ ‘अयोग्य लडाकु’को बारेमा गरेका थिए। ५/७ जनाले आत्महत्या नै गर्नुपरेको दर्दनाक कथा पाएका थिए। कतिपय यौन व्यवसायमा संलग्न पनि भेटेका थिए। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको औचित्य पुष्टि हुन सकेन भन्ने लागेपछि सोही पृष्ठभूमि बनाएर ‘पीपला’ लेखे।
द्वन्द्वमा सहभागी पात्रहरू, जो शान्ति सम्झौतापछि ‘अयोग्य’ ठहरिए। समाजमा पुनर्स्थापित हुन सकेनन्। ती पात्रबारे उनले विभिन्न समयमा लेखिरहेका थिए। ती हरेक पात्रहरूलाई उनले ‘पीपला’मा जोडेका छन्। प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यसमेत रहेका लेखक नेपालसँग पीपलाको लेखन अघि र पछिका अनुभवका बारेमा देशसञ्चारले गरेको कुराकानीको सम्पादित अंश:
खासमा ‘पीपला’ के हो?
जंगलमा पाइने लहरायुक्त एकप्रकारको बहुगुणी जटिबुटी हो-‘पीपला’। सहारा पाएको खण्डमा यसको लहरा निकै विस्तार हुनसक्छ र अधिक फल दिनसक्छ। तर सहरा नपाउँदा यो अरु औसत झार जस्तै छोटो समयमै बिलाएर जान्छ।
‘पीपला’को विशेषता र उपन्यासको नाम ‘पीपला’ हुनुसँग केही सम्बन्ध छ कि?
छ। उपन्यासकी एक प्रधान पात्रको नाम हो- पीपला। उनकै नामबाट उपन्यासको नाम पीपला राखिएको हो। उपन्यासकी पीपला एक क्षमतावान् र प्रतिभाशाली छात्रा हुन्। तर उनी स्कूल पढ्दापढ्दै तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा लाग्न बाध्य हुन्छिन्। उनी जुन सपना साँचेर वा जुन उद्देश्य प्राप्तिका लागि युद्धमा होमिन्छिन्, त्यहाँ त्यस्तो पाउँदिनन्। जसले उनलाई झन्भन्दा झन् कमजोर बनाउँछ।
अझ शान्ति प्रक्रियापछि राजनीतिक रूपमा द्वन्द्व व्यवस्थापन भएपनि लडाकुहरूको उचित व्यवस्थापन हुन सकेन। अनि पीपला र पीपलाहरू समाजमा पुनःस्थापित हुन नसकेको जर्जर कथा हो, यो उपन्यास। जसरी बहुगुणी भएर पनि सहारा नपाएर पीपलाको लहरा फैलन पाउँदैन त्यसैगरी क्षमतावान् भएर पनि यस उपन्यासकी पीपला आफैभित्र खुम्चिएर सकिन अभिषप्त हुन्छिन्।
लामो समय पत्रकारितामा रमाउनुभयो। आख्यान लेख्ने सुर चाहिँ कहाँबाट सुरु भयो?
मेरो आख्यान लेख्ने योजना नयाँ होइन। तर पत्रकारितामा सक्रिय भइरहँदा चाहेर पनि आख्यान लेखनका लागि आवश्यक दिन नसकेको चाहिँ सत्य हो। पोहोर यही बेलातिर हृदयघात नभएको भए अहिले पनि उपन्यास आउँदैनथ्यो होला। किनकि, बिरामी भएर बस्दाको समयलाई मैले आख्यानकारितामा खर्च गरेँ।
हुनतः मैले यो कुनै भर्जिन प्लटमा उपन्यास लेखेको होइन। पत्रकारिता गर्दाका अनुभवसँगै रिपोर्टिङलाई घोलेर ‘फिक्सनाइज’ गरेको हुँ। स्वास्थ्यका कारण ‘धेरै स्ट्रेस’मा काम गर्न नहुने भएकाले उपन्यासका लागि यो आइडिया अपनाएको हुँ।
तपाईँले उपन्यासमार्फत् माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ नि!
हो। तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको औचित्य पुष्टि हुन सकेन भन्ने नै हो। राजतन्त्र हटाएर गणतन्त्र ल्याउनमा उक्त द्वन्द्वको हात छ। तर, आमनेपालीले चाहेको व्यवस्था परिवर्तन मात्रै होइन, अवस्था परिवर्तन हो । देश, दैनिकी र जीवनयापनमै परिवर्तन खोजेको हो नि!
कुनै परिवारको तानाशाह वा निरंकुशता हटेर जनताकै सन्तानले शासन गर्न पाउनु सुन्दर कुरा हो। तर शासित हुने वर्गले शासक फेरिएको अनुभूति गर्नै पाएन। खासमा जनताको सन्तानले होइन, जनताले नै शासन गर्नका लागि यो व्यवस्था ल्याइदिएको थियो। तर बिडम्बना, त्यस्तो हुन सकेन।
‘गणतन्त्र आएर बोल्न पायौँ’ भनेको भरमा कति वर्ष शासन गर्ने? नेपालभन्दा पछि पत्ता लागेका देश कहाँ पुगिसके! समुन्द्रमाथि सीसाको पुल बनाएर सहर बसिसके। मरुभूमिमा कत्रा-कत्रा, कस्ता-कस्ता लोभलाग्दा विकास भइसके। हामी चाहिँ यति सुन्दर देशलाई मागीखाने भाँडो बनाएको हेरेर कहिलेसम्म मख्ख परिरहने?
त्यत्रो त्याग, बालिदानपछि प्राप्त व्यवस्थाको नेतृत्वमा त्यतिबेलाका द्वन्द्वकारी नै छन्, दशकौँदेखि! देशमा केही लोभलाग्दो काम भएको छ? एउटा ठूलो उद्योग बनेको छ? व्यवस्थामा कुनै समाजवाद उन्मुख हुने नीति तथा कार्यक्रम छ? जनताले आफूले तिरेको करको थोरै प्रतिशत पनि उपभोग गर्न पाएको छैन। श्वास फेरेको समेत कर लिने व्यवस्थाले शिक्षा र स्वास्थ्य मात्रै नि:शुल्क बनाउनेतर्फ कुनै ध्यान दिएको छ? दलाली पोस्ने र नेताले मस्ती गर्नकै लागि ल्याइएको हो त यो व्यवस्था? यस्ता बग्रेल्ती प्रश्न छन्, अनि कसरी हुन्छ माओवादी आन्दोलनको औचित्य पुष्टि?
अयोग्य लडाकुले बाँच्नकै लागि अझै संघर्ष गर्नुपरेको यथार्थलाई कसरी पर्गेल्नु हुन्छ?
यो झन् गम्भीर सवाल हो। र, मेरो उपन्यासको केन्द्रीय कथा पनि यही नै हो। माओवादीले देश र जनताको पक्षमा त केही गरेन, गरेन! कम्तिमा आफूलाई नेता बनाउने र सत्तामा पुर्याउने लडाकुको पक्षमा त केही गर्नुपथ्र्यो। बेपत्ता तथा सहिद परिवार र घाइतेको पक्षमा त केही गर्नुपथ्र्यो। युद्ध लड्न योग्य भएकाहरूलाई रातारात रिङआउट गरेर ‘अयोग्य’को बिल्ला भिराइयो।
सेना समायोजनमा नयाँ मान्छे भित्र्याएर अर्बौँ रकम हिनामिना गरियो। आज त्यतिबेलाका लडाकुहरू बाँच्नै नसक्ने स्थितिमा छन्। कतिपयले त आत्महत्या गरिसके। कोही खाडीमा पसिना बगाउँदै छन्। १० वर्षमा ८ वर्ष त माओवादी सरकारमै छ। के प्रचण्डले भैँसी पूजा गरेको, गेरु वस्त्र लगाएर महाकालेश्वरको पूजा गरेको दृश्य देख्नकै लागि लडेका थिए लडाकुहरू?
आज पनि सरकार वा व्यवस्थाबाट धेरथोर लाभ पाएकाहरूले प्रचण्डको गुणगान गाउँनै पर्ने दबाब होला, तर स्थिति त दर्दनाक नै छ नि! मैले त्यहीँ विषयलाई उठाएको हुँ।
पछिल्लो समय युद्धमाथि लेखिएको आख्यानमा अझै गहिरो अध्ययन पुगेन भन्ने आरोपलाई मान्नुहुन्छ?
हो। युद्धमाथि लेखिएका अधिकांश आख्यान फितला छन्। तर मैले चाहिँ युद्धमाथि लेखेको भन्न चाहन्नँ। युद्धको पृष्ठभूमि र त्यसको प्रभावबारेको कथा हो मेरो। मैले लेखेको ‘युद्ध साहित्य’ होइन।
द्वन्द्व र प्रेमलाई सँगसँगै भन्न खोज्नु भएको छ पीपलामा। तर प्रेम र द्वन्द्व त विल्कुल फरक विषय हो नि?
द्वन्द्व र प्रेम फरक विषय त हुन्। तर द्वन्द्वभित्र पनि प्रेम हुन्छ र प्रेमभित्र पनि द्वन्द्व हुन्छ। द्वन्द्व र प्रेम दुवै अपरिहार्य सवाल नै हो। द्वन्द्वबिना रुपान्तरण सम्भव छैन। प्रेमबिना वर्तमान अनुभूति अपुरो हुन्छ। जहाँसम्म उपन्यासमा युद्धको कथासँगै प्रेमकथाको सवाल छ, यसलाई व्यवहारिक ढंगमा प्रस्तुत गर्दै व्यवस्थापन गर्ने प्रयास गरिएको छ।
पीपलाको लेखनक्रममा सबैभन्दा सकस कहाँनिर भयो ?
दुईपटक औधी सकस भयो। एउटा, पीपलालाई साइँलौबाट बलात्कृत गराउँदा। दोस्रो, उनलाई मार्ने कि उनले चाहिँ साइँलौलाई मार्ने वा अरू केही गर्ने भन्नेमा निकै अन्योल भएको थियो।
तपाईँ अब लेखक कि पत्रकार?
म दुवै हो। पत्रकारिता पेसा हो, लेखन प्यासन। अब पनि यी दुवैलाई सँगसँगै अघि बढाउँछु।
पछिल्लो समय आइरहेका पुस्तक कति गम्भीर छन्? तपाईँको पीपलालाई कस्तो रेटिङ दिनुहुन्छ?
पछिल्लो समय पढाइ घटेको छ मेरो। खासगरी स्वास्थ्यका कारण धेरै पढ्न, सोच्न वा स्ट्रेस लिन नहुने भएकाले अड्कलेर थोरैथोरै पढ्छु। त्यसैले अरूको मूल्यांकन नगरौँ। अनि पीपलाको मूल्यांकनको जिम्मा पनि पाठाकलाई नै सुम्पन चाहेँ।