
काठमाडौं- ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह समेत पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो। ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। यसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई सिआइबीले पक्राउ गरेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले बताएकी छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पनि पक्राउ गरेको छ ।
सिआइबीले मुख्य योजनाकार मानिएका मध्ये एक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई मंगलबार नै पक्राउ गरेको छ । साथै उनीसँगै अन्य चार जनालाई समेत आजै पक्राउ गरेको छ। पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारीहरू रहेका छन्।
मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको ब्यूरो स्रोतले जनाएको छ।
यस प्रकरणमा पछिल्लो पटक पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेसँगै एकै दिन पक्राउ पर्नेको संख्या ७ पुगेको छ।