बसाइँ झरेकालाई गाउँ फर्काउन होमस्टे सहारा

बसाइँ झरेकालाई गाउँ फर्काउन होमस्टे सहारा
+
-

पोखरा – भारतीय सेनाबाट रिटायर्ड क्याप्टेन इन्द्रबहादुर गुरुङ २०६७ सालमा पोखरा बसाइँ झरे। जतिबेला बसाइँ झर्ने गलेमवासीको लर्को थियो। कोही रहरले त कोही बाध्यताले थातथलो झरिरहे।

बसाइ झरे पनि इन्द्रबहादुरको पोखरामा मन त्यति रमाएन, जति गलेमको पाखापखेरीमा रमाएको थियो।

त्यसैले त इन्द्रबहादुरले छाडेको थातथलोको चटक्कै माया मार्न सकेनन्। बसाइँ झरेको दशकपछि त झन् उनी गाउँ धाइरहेका छन्। उनको पोखरा–गलेम ओहोरदोहोर निकै बाक्लिएको छ।

बर्खामासको बेला बाँदर लड्ने छङ्गाछ्र भीर छिचोलेर उनी गलेम धाउनुको कारण हो, होमस्टे चलाउन। बसाइँसराइले रित्तिएको गाउँलाई गुल्जार बनाउन गलेमबासीले होमस्टे सहारा लिएका छन्।

गाउँमा पाहुना आउने खबर पाएपछि इन्द्रबहादुर झरी बादल नभनिकन गाउँ उक्लन्छन्। पाहुनाको स्वागत सत्कारमा खटिन्छन्। पाहुना फर्किएपछि पोखरा झर्छन्।

‘होमस्टे सञ्चालन गर्‍यौँ भने जो गाउँबाट पलायन भएर बजारतिर गएका गलेमवासी हुनुहुन्छ उहाँहरुले आफ्नो गाउँ प्रवर्द्धन गर्नपर्छ भनेर सोचून्। र हाम्रो गाउँको विकास होस् भन्ने सोच हो’, होमस्टे सञ्चालनबारे उनले सुनाए।

होमस्टेले पहिला गाउँकै मान्छेलाई फर्काउने योजना रहेको गुरुङले बताए। ‘यहाँ जो बसोबास गरिरहेका छन् अब पलायन नहोस्। हाम्रो सन्ततिहरु पनि पैतृक थलो सम्झेर आवतजावत गरिरहून्’, उनले भने, ‘पर्यटकहरु ल्याउन सकियो भने गाउँको विकास हुने नै भयो।’

कुनै बेला ३६० गलेम भनेर गाउँ परिचित थियो। शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पहुँचबाट दूर भएपछि ३६० घरधुरीको गलेम गाउँ ६० घरमा खुम्चिएको छ। ती घर पनि बुढापाकाले मात्रै धानेका छन्।

गाउँबाट बसाइँसराइ कसरी रोकिएला? बजार झरेकालाई गाउँ फर्काउने उपाय के होला? स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का गलेमबासीले बसाँइ झरेकासँग पनि छलफल गरे। सबैसँगको छलफलमा निचोड निक्लियो, ‘गाउँमा होमस्टे चलाउने, पर्यटक भित्र्याँउदै बसाइँ झरेकालाई गाउँ फर्काउने।’

गाउँको विकास गर्न देखेको ‘होमस्टे सपना’मा डेढ वर्षदेखि गलेमबासी वामे सर्दैछन्। होमस्टे सञ्चालन गरेपछि बसाइँ सरेकाको गाउँमा आउजाउ बढेको राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेकी संस्थापक अध्यक्ष पुजा गुरुङले बताइन्। ‘हामीले यो गाउँमा विकास गर्नुपर्छ भनेर आउजाउ बढिरहेको छ’, उनले भनिन्। उनका अनुसार बसाइँ झरेका गाउँले पर्यटक भित्र्याउन पनि सघाइरहेका छन्।

गाउँमा होमस्टे चलाउन बसाइँ झरेका इन्द्रबहादुरहरुले हौस्याइरहेका मात्रै छैनन् काँधमा काँध मिलाइरहेका छन्। पोखरा बसाइँ झरेर संगठित भएको गलेम रापुँ तमु समाजले होमस्टे चलाउन सुरुमा २ लाख रुपैयाँ निर्ब्याजी लगानी गरिदियो। त्यसपछि गाउँलेलाई होमस्टे खुल्ने आँट आयो।

होमस्टे खुलेपछि पाहुनाको मात्रै नभएर गाउँलेको पनि ओहोरदोहोर बाक्लिएको छ। गाउँका पूराना घरलाई चिरिच्याट्ट पारेर पाहुना बस्नेयोग्य बनाएका छन्।

गलेम गाउँको १० घरमा होमस्टे सञ्चालन गरिएको छ। जहाँ ७० जना अटाउने क्षमता छ। पाहुनासँगै लगानी बढाउने योजनामा छन्।

पोखरादेखि २७ किलोमिटर पर रहेको गलेमको होमस्टे पुग्न पाहुना लालयित नभएका होइनन्। तर, सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक खण्डको आरुखर्क–गलेमको २.८ किलोमिटर अक्करे भीर काटेर बनाइएको सडकले पाहुनाको पाइला रोकिरहेको छ।

बर्खा लागेपछि पैदलै हिँड्न नसक्ने गरेर भीरको सडकमा पहिरो खस्छ। सडक अबरुद्ध हुँदा १ घण्टा घुमाउरो वैकल्पिक सडकमा कष्टकर यात्रा गर्नुपर्छ। सडककै कारण पाहुनाको संख्या बढ्न नसकेको होमस्टेकी अध्यक्ष नानुमाया गुरुङले बताइन्।

‘यो बाटोको असुविधाले गर्दा गाउँ पिछडिएको हो। जुन पाहुना आउँछु भन्छ उनीहरुले बाटो सोध्छ पहिला कस्तो छ भनेर? यो बाटो राम्रो भइदिए गाउँमा पाहुना आउनेजाने क्रम बढिरहन्थ्यो’, उनले भनिन्।

सडककै असुविधाले बसाँइसराइले गाउँ रित्तिएको उनको अनुभव छ। सडक स्तरोन्नती भए पर्यटक मात्रै होइनन् बसाइँ झरेका गाउँले पनि फर्कने उनको विश्वास छ।

ढुंगाले छाएका मौलिक शैलीको घर, घुमाउने घर, अर्गानिक खानपानको स्वाद, गुरुङ संस्कार संस्कृति गलेम गाउँमा होमस्टेको आकर्षण हो। लोपोन्मुख सुनिने सुनिमाया भाका गलेम गाउँमा गुञ्जन्छ।

गलेम गाउँको शिरमा राम्चेदेवी मन्दिर, काखमा भञ्जयाङ डाँडा स्तूप। प्राकृतिक भ्युटावर ढिकिचौरको डाँडाबाट देखिने दृश्य हेर्नलायक छन्। पर्यटकीयस्थल पञ्चासेसँग गलेम जोडिएको छ। गलेम गाउँबाट नजिक रहेको कल्छे झरनाले त मोहोनी लगाउँछ। सुसेल्दै झर्ने पानीको फोहोराले गर्मी बिर्साउँछ। क्यानोनिङ प्रचुर सम्भावना छ झरनामा।

गलेममा होमस्टेसँगै कृषि र जडीबुटीको खेतीको सम्भावनासमेत रहेको वडाध्यक्ष ख्यामनारायण पौडेलले बताए। पर्यटनसँग त्यसलाई जोड्न योजना बनाएको उनको भनाइ छ। ‘यो ठाउँको विकास, पूर्वाधार निर्माण र सम्भावनाहरुको खोजिमा लागिरहेका छौँ’, उनले भने, ‘यहाँ जडीबुटीको प्रचुर सम्भावना छ। अर्गानिक खेती पनि उस्तै राम्रो हुन्छ। कृषिमा आलुको पकेट क्षेत्र बनाउन सकिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?