काठमाडौँ महांकालस्थित जोसेफ इन्टरनेसनल स्कुलका प्रधानाध्यापक हुन्- होमबहादुर अधिकारी ‘एच. बी मनोज’। नेसनल प्याब्सन काठमाडौँका जिल्ला उपाध्यक्षसमेत रहेका अधिकारी तालिम केन्द्र विभाग प्रमुख पनि हुन्।
हेम्नस्टी इन्टरनेसनल नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका अधिकारीको जोसेफ कलेज, जोसेफ हाइस्कुल र जोसेफ इन्टरनेसनल पब्लिक स्कुलअन्तर्गत करिब ८ सय प्लस विद्यार्थी छन्।
जोसेफ एजुकेसन नेटवर्किङमार्फत् विद्यालयलाई प्राविधिक र अतिरिक्त क्रियाकलाप गराउँदै आएका प्रधानाध्यापक अधिकारीसँग अहिलेको बालबालिकालाई व्यावहारिक सिकाइ, इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी (आइसिटी) प्रयोग र शिक्षामा राज्यको राज्यलगायतका विषय वरिपरि बसेर देश सञ्चारका लागि गरिएको कुराकानीको सम्पादित अंश:
अहिले जोसफमा कति विद्यार्थी छन्?
जोसेफ एजुकेसन नेटवर्किङअन्तर्गत ८ सय प्लस बढी विद्यार्थी छन्।
जोसेफ एजुकेसन नेटवर्कले के काम गर्छ?
समग्र प्राविधिक शिक्षा नेटवर्क बन्नुको उद्देश्य प्राविधिक शिक्षा सिकाइलाई देशव्यापी लैजान र समाजमा जीवन उपयोगी सीप दिनका लागि जोसेफ एजुकेसन नेटवर्क नाम दिएका हौँ। यसअन्तर्गत जोसेफ कलेज, जोसेफ हाइस्कुल र जोसेफ पब्लिक स्कुल सञ्चालित छ। तर यतिखेर प्राविधिक शिक्षा सञ्चालन गर्न भने बाँकी छ। २५ वर्षदेखि यो सञ्चालनमा छ र यो गुणस्तरलाई अगाडि बढाउने कोसिस जारी छ।
तालिम विभागको प्रमुख हुनुहुन्छ तर कस्तो तालिम प्राप्त शिक्षकले तालिम लिन सकियो भने प्रभावकारी शिक्षा उपलब्ध गराउन सकिन्छ?
अहिले समय परिवर्तनसँगै पढ्ने चाहना, सिक्ने तौर-तरिकाहरूमा फरकपन आइसकेको छ। जस्तै: भूकम्पपछि विद्यार्थीहरूमा एक किसिमको मानसिक डर त्रास थियो। उनीहरूलाई मनौवैज्ञानिक रूपमा काउन्सिलिङ दिनुपर्ने अवस्था पनि थियो। कोरोनापछि बालबालिकाहरू लामो समय अभिभावकसँग बसे। यस्तो परिस्थितिमा उनीहरूलाई इन्टरनेटको पहुँच सजिलो भयो। सोसल मिडियाको अत्यधिक प्रयोग गर्न पाए। सामाजिक सञ्जाल तथा नयाँ प्रविधिसँग नजिक हुन पाए। उनीहरू अतिरिक्त सोच्न सक्ने भएका छन्। ग्याजेटहरूको अलि बढी प्रयोग गर्न पाए। उनीहरूको सिक्ने र बुझ्ने प्रक्रियामा फरक आएको छ। उनीहरूलाई पढ्न मन लाग्ने तरिकाले पढाउनु पर्छ भन्ने सोचले शिक्षकले आफूलाई तयारी गर्नुपर्छ। आइसिटीको प्रयोगमार्फत् पढाउन खोज्नुपर्छ। अहिले शिक्षकहरूले खेलमा कन्टेन्ट हाल्नुपर्ने अवस्था छ । त्यसो हुँदा शिक्षकहरूले पनि यस्ता किसिमका तालिम लिन सकेर पढाउन सकियो भने प्रभावकारी हुन सक्छ।
शिक्षकले लिने तालिममा पहिलो प्राथमिकता के पर्छ ?
अहिले शिक्षकले लिने तालिममा बढी प्राथमिकतामा पर्ने भनेको आइसिटी नै हो। प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ। शिक्षाविद्हरू शिक्षा जानकारीमूलक मात्रै भयो भनिरहेको समय पनि हो यो। त्यसैले शिक्षाले विद्यार्थीहरूको आमूल परिवर्तन गर्दै उनीहरूले सिकेको कुरा अरूलाई पनि सिकाउने पर्ने तथा ट्रान्सफर्मर लेवलमा लैजानुपर्ने हुन्छ। प्रविधि र आइसिटीको प्रयोग गरियो भने विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ। र अहिलेको विद्यार्थीको रुचि नै आइसिटीतिर छ ।
अहिले निजी विद्यालयहरूले प्रविधिमार्फत् पढाइरहेका कारण शिक्षा महंगाे भयो भन्ने अभिभावकहरूको गुनासो रहेको छ। फेरि सबै वर्गका अभिभावकको यस्ता प्रविधिको प्रयोगमार्फत् अध्ययन गराउन आर्थिक अवस्थाले पनि दिँदैन। यस्तो परिस्थितिमा अभिभावकलाई विद्यालयले अभिभावकलाई कसरी बुझाउन सक्छ?
विद्यालय तथा कक्षाकोठालाई नै केही प्रभावकारी बनाएर बालबालिकाको पढाइलाई अगाडि बढाउनु पर्ने समय आएको छ।बालबालिकालाई आइसिटी रुम तयार पारेर लैजानु पर्ने बेला आएको छ। अभिभावकलाई आर्थिक भार नदिनेगरी भिजुअलमा बुझाउने हाम्रो कोसिस रहने हो। अरू देशका विद्यार्थीमार्फत् संस्कृति तथा परम्परालगायतका कुरा आदान-प्रदान गर्दै वर्ल्डवाइज शिक्षाको बारेमा जानकारी दिनु पनि पर्छ। अन्तर्राष्ट्रिय शिक्षाका बारेमा बुझाउने कोसिस गर्ने हो, जसले गर्दा अभिभावकलाई आर्थिक भार पनि नहुने गरी काम गर्ने छौँ।
आइसिटी अन्तर्गत के-के पर्दछ?
अहिले बालबालिकाले किताबबाट भन्दा भिजुअलबाट छिटो र छरितो रूपमा सिक्न सक्छन्। संसारले रिसर्चबाट फाइलिङ भएको सामग्री हेरेर सिकाउने कोसिस हो। त्योसँग सम्बन्धित जियोग्राफिक्स स्टाटसहरू लगायतका विषय चाहिं युट्युबमा पाइन्छ। शिक्षक आफैंले पनि सामाग्री तयार बनाउनु पर्छ। यस्तो सामाग्रीलाई प्रस्तुत गर्ने हो । र अर्को कुरा आइसिटीमार्फत् परीक्षा दिने प्रचलनको विकास नभइसकेकोले त्यो कोसिस हामीले पनि गरेका छैनौँ। उनीहरूलाई मूल्यांकन पद्धतिमा हामीले जोड्ने कोसिस गरेको मात्र हो। हाल हामीले आइसिटीको प्रयोग गर्नु भनेको विद्यार्थीको सर्वांग विकासको लागि हो।
कयौँ शिक्षकहरू तालिम प्राप्त हुँदैनन् भनेर एक अध्ययनले पनि भनेको छ। तालिम नलिइ पढाउने शिक्षकहरू पनि छन्। के भन्नुहुन्छ?
शिक्षकको क्षमता भनेको शिक्षणको गुण हो। शिक्षक अपडेट हुनका लागि पनि तालिम अत्यावश्यक । मैले अघि पनि भनिहालेँ नि- बानी र घटनाक्रममा विद्यार्थीहरूलाई शारीरिक सजाय दिनेभन्दा पनि हौसिला र प्रोत्साहन दिने गर्नुपर्छ। उत्प्रेरणा दिने कोसिस गर्ने हो। सकारात्मक तालिमको आवश्यकता भनेको बालबालिकालाई सकारात्मक प्रभाव दिने हो। सिकाइमा बदलाव ल्याउने हो। त्यो अनुसार विद्यार्थीलाई पढाउनु पर्ने हुन्छ। यदि त्यसो गरिएन भने नकारात्मक असर पर्न सक्छ।
अहिले हामीले के भन्छौँ भने नेसनल प्याब्सन काठमाडौँ जिल्लाको कुरा गर्दा तीन सयवटा विद्यालयका शिक्षकहरूलाई लिडरसिपमा रहनु भएको तालिम प्राप्त गराइरहेका छौँ। अहिले हामीले विद्यालयलाई गुणात्मक शिक्षा दिन सकेनौँ भने विद्यार्थीहरूले समय सापेक्ष शिक्षा लिन सक्दैनन्। त्यसैले देश सञ्चारमार्फत् म तालिम नलिनु भएको शिक्षकहरूलाई तालिम लिन अनुरोध गर्दछु। गुणात्मक शिक्षाको लागि कोसिस गर्नूस् भन्ने हो। अभिभावकदेखि विद्यार्थीहरूलाई पनि तालिमको आवश्यक छ। प्रभावकारी शिक्षा दिनका लागि शिक्षकहरूले तालिम लिन जरुरी छ। जो लिनुभएको छैन, लिनूहोस् भन्न चाहन्छु।
प्रायः गरेर विद्यालयले बालबालिकालाई अतिरिक्त अभ्यासका लागि विभिन्न सामग्री किन्न लगाएर (बच्चाको पहुँच नभएको अवस्थामा पनि) अभिभावकलाई दुःख दिने कोसिस गरेकाे देखिन्छ। अत्यधिक गृहकार्य अभिभावकलाई दिन खोजिएको गुनासो पनि सुनिन्छ, यो विषयलाई कसरी हेर्नू भएको छ?
अहिले सम्पूर्ण अभिभावकहरू सचेत हुनुहुन्छ। कक्षा कोठाको सिकाइलाई अनुसन्धानात्मक विधि अपनाउँदै अभिभावक-शिक्षकको सहकार्यले विद्यार्थीको सिकाइमा अझ बढी प्रभाव पर्न सक्छ भनेर होमवर्क दिने गरिन्छ। अनावश्यक सामान किन्न लगाएको पनि होइन। विद्यार्थीसँग अभिभावक नजिक हुनु वातावरण बनाएको हो। अभिभावकसँग सोधखोज गरेर जानकारी गरेर शिक्षामा जोड्नु सकारात्मक कुरा हो।
आफ्नो तौलभन्दा बढी किताब-कपी राखेको झोला निजी विद्यालयले विद्यार्थीहरूलाई बोकाउँछ भन्ने गुनासो छ, यसलाई कसरी लिनूहुन्छ?
यो अलि अगाडिको समस्या हो जस्तो लाग्छ। अहिले विस्तारै परिवर्तन भएको छ। अहिले किताबभन्दा पनि आइसिटीमार्फत् नै पढाइलाई अगाडि बढाइएको छ। पाठ्यक्रम विकास केन्द्रले तोकेको निश्चित किताबबाहेक अरू किताब बोकाइएकाे छैन। हाम्रो विद्यालयको पनि यही छ। केही रिफेन्स किताब हुन्छ। निजी विद्यालय भन्नेबित्तिकै अन्तर्राष्ट्रिय विद्यार्थी उत्पादन गर्नुपर्ने भएकोले केही थप किताब हुन्छ। त्यो चाहिँ बिस्तारै हराउँछ। सुधारात्मक अवस्थामा छ। अहिले आइसिटी नै अगाडि बढाइएको छ। किताबको भार दिनुपर्छ जस्तो लाग्दैन।
काठमाडौँ महानगरपालिकाले दश प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने कुरा थियो, अर्को कुरा हरेक शुक्रबार ‘बुक फ्री डे’ सुरु भएको छ। यसलाई कसरी हेर्नूहुन्छ ? यो कत्तिको प्रभावकारी हुन्छ ?
महानगरले भनिरहेको दश प्रतिशत सबै विद्यालयले दिँदै पनि आइरहेकाे कुरा हो। र सूचीका कुरा चाहिं दिन समय लाग्थ्यो तर महानगरले हतार गर्याे। छोटो समय भयो। यस्तो बेला केही समय चाहिन्थ्यो भन्ने हो। केही विद्यार्थीहरूले त १५ प्रतिशत पनि दिँदै आएका थिए। सामुदायिक विद्यालय भएकोले केही जिम्मेवारी र दायित्व पनि हुन्छ। छात्रवृत्ति दिन कुनै आपत्ति होइन तर छोटो समय भयो भन्नेमा भने गुनासो हो। तयारी त गर्नुपर्याे नि। हाम्रो विद्यालयबाट १४.५ प्रतिशत विद्यार्थीको छात्रवृत्ति पाएका छन्। यस वर्ष पनि छात्रवृत्ति दिएका छौँ।
बुक फ्री डे विद्यालय एकदम राम्रो हो। जीवन उपयोगी शिक्षा दिनुपर्छ। आफूसँग भएको प्रतिभालाई प्रस्फुटन गर्न पाउने अवसर पनि हो। यसलाई सकारात्मक रूपमा सबैले लिनुपर्छ। यो प्रभावकारी रूपमा अगाडि बढ्न सक्छ। शुक्रबारलाई अतिरिक्त क्रियाकलापका रूपमा दिएका छन्।
निजी विद्यालय सञ्चालक भएको नाताले शिक्षाप्रति राज्यको लगानी कस्तो देख्नुहुन्छ ?
शिक्षामा राज्यको जति लगानी हुनुपर्ने हो, त्यति छैन। अझ निजी विद्यालयलाई भने राष्ट्रिय रूपमा पाउने छात्रवृत्ति नै बन्देज गरिएको छ। सामुदायिक विद्यालयको शिक्षा राम्रो हुन्थ्यो भने निजी विद्यालयमा बालबालिकाहरू भर्ना गर्न ल्याउनु हुन्थेन। भर्ना दर पनि बढ्थेन। त्यसैले राज्यले निजी विद्यालयसँग विभेदकारी भूमिका नखेलिदिओस् भन्ने हो। निजी विद्यालयलाई पनि उचित स्थान दिओस् भन्ने चाहन्छु।