
काठमाडौं- ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक नाबालिगलाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताएका छन्। ३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो। शाहका अनुसार जेठ ३१ गते बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका कोइरालाले बयानमा भने पीडित नाबालिग नभई उमेर पुगेको युवती भएको दाबी गरेका छन्। १८ बर्षभन्दा तलको कसैलाई पनि क्लबमा प्रवेश नै नपाउने बताउँदै पीडित नाबालिग नरहेको उनले बतानमा बताएको प्रहरी स्रोतले बताएको छ।
प्रहरी स्रोतका अनुसार एलओडी क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। नाबालिग एसईई परीक्षा दिएर बसेको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ।