
सिमकोट – चार वटा स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन्। घोषणा हुनका लागि आवश्यक सूचक स्वास्थ्य चौकीहरूले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले आफ्ना चार वटा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो।
गाउँपालिका स्वास्थ्य शाखाले यसरी पोषणमैत्री घोषणा हुन निर्धारित १६ वटा सूचक पुरा गरेको हुनु पर्ने नियम अनुसार चार वटै स्वास्थ्य चौकीले पुरा गरेपछि घोषणा गरिएको हो। स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणाका लागि निर्धारित सूचकमा गर्भवती महिलाले कम्तीमा आठ पटक पूर्व प्रसूति जाँच गरेको, सुत्केरीले कम्तीमा तीन पटक उत्तर प्रसूति जाँच गरेको, गर्भवतीले गर्भ अवधिभर १८० चक्की आइरन फोलिक एसिड खाएको, स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन्।
त्यसैगरी अन्य सूचकमा स्वास्थ्य सस्थामा जन्मिएका बालबालिकामध्ये जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशुको प्रतिशत, ६ देखि ५९ महिनाका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ए क्याप्सुल पाएको, बाह्रदेखि ५९ महिनाका बालबालिकाले वर्षका दुई पटक जुकाको औषधि पाएको, २४ महिलासम्मका बालबालिकाले नियमित वृद्धि अनुगमन गरेको, कम तौल भएका शिशुको जन्म संख्या, पूर्ण खोपयुक्त स्वास्थ्य संस्था भएको, पूर्ण मात्रामा बालभिटा पाएका बालबलिकाको संख्या, बालबालिकालाई झाडा पखाला लागेको बेला जिंक चक्की र पुनर्जलीय झोल खुवाउने गरेको, २६ हप्तासम्म आईरन फोलिक एसिड चक्की पाएका किशोरीको प्रतिशतलगायत छन्।
यी सूचकबाट अंकभार कुल १६ मध्य पन्द्र अंक ल्याउने स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्न सकिने प्रावधानअनुसार चार वटै स्वास्थ्य चौकीले १५ अंक प्राप्त गरेर घोषित भएका हुन्।
घोषित भएका सिमकोट गाउँपालिका–२, ३, ७ र ८ वडाका क्रमशः ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्य चौकी रहेको र त्यहाँ ओटिसी सेन्टर, स्तनपान कक्ष, पोषण कर्नर र स्वास्थ्य तथा सरसफाइ कर्नर स्थापना गरी पोषणमैत्री रहेको प्रमाणित गर्दै चारै स्वास्थ्य चौकीलाई एक कार्यक्रमबीच घोषणा गरिएको हो।
यी कुरा अब स्वास्थ्य चौकीमा सधाका लागि रहनेछन् भने आगामी दिनमा कुपोषित हुने बालबालिकालाई त्यतैबाट उपचारसमेत गरिनेछ।
निर्धारित सूचक पूरा गरेपछि सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले एक कार्यक्रमबीच स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषणा गरेका हुन्। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, वडाध्यक्ष, जिल्लाका सरोकारवाला निकायको सहभागिता थियो।