
काठमाडौँ- मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको छ।
मिटरब्याज विरुद्धको कानुन पारित गराउन विभिन्न जिल्लाबाट आएका पीडितले संसद भवन घेराउ कार्यक्रमअनुसार माइतीघरबाट मार्च पाससहित नयाँ बानेश्वरसम्म र्याली निकालेका हुन्।
पीडितहरूले ‘सुदखाेर साहुलाई पक्राउ गरी कारबाही गर’, ‘अवैधानिक ऋणकाे पासाे थापेर समाजवाद उन्मुख राज्य बन्दैन’, ‘मिटरब्याज सम्बन्धित कानुन तत्काल पारित गर’, ‘संविधानमा उल्लेख समाजवाद उन्मुख अर्थ/आर्थिक नीति निर्माण गर’ जस्ता नारा लेखेका पम्प्लेटहरू प्रदर्शन गरेका थिए।
गत बुधबार प्रतिपक्षी दलको अवरोधका कारण मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको थियाे। साेही कारण पीडितहरू सडकमा उत्रिएका हुन्।
गत वैशाख १७ गते सरकारले मुलुकी अपराध संहिता २०७४ लाई अध्यादेशमार्फत् संशोधन गर्दै अनुचित लेनदेका रूपमा मिटरब्याजी समस्या समाधानको कानुनी उपाय खोजी गरेको थियो।
कानुनी निरन्तरताका लागि बुधबारसम्म प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित हुनुपर्ने भए पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीले सदन अवरुद्ध पार्दा अध्यादेश निष्क्रिय भएको हाे।
अधिवेशन आह्वानपछि पहिलो बैठकमा पेश भएको अध्यादेश स्वीकृत भएका ६० दिनभित्र स्वत: निष्क्रिय हुने प्रावधानका कारण अध्यादेश निष्क्रिय भएकाे हाे।
हेर्नूहोस् तस्बिरहरू: