अवैध संरचनामा पोखरा महानगरको डोजर (फोटो/भिडियो)

+
-

पोखरा – पृथ्वी राजमार्ग अतिक्रमण गरेर बनाइएको संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ।

पोखराको पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको राइट अफ वे खाली गराउन सोमबारदेखि महानगरपालिका डोजर एक्सनमा उत्रिएको हो।

महानगरले २३ मिटर दायाँवाया मार्किङसहित सडकको मापदण्डभित्र पर्ने संरचना भत्काउन थालेको छ। राइट अफ वे क्लियर गर्न ठेकेदारलाई सकस परेपछि सहजीकरण गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।

‘तनहुँतर्फ धमाधम काम भइरहेको छ। पोखराबाट पनि काम सुरु गर्नुपर्‍यो भन्दा राइट अफ वे क्लियर भएन भन्ने ठेकदारको कुरा भा’को र पर्सिदेखि एडिबीको मिसन पनि आउँदैछ। त्यो मिसन आउँदा कम्तीमा राइट अफ वे क्लियर छ भन्ने हाम्रोतर्फबाट तयार गर्नुपर्ने भएकाले सडकलाई महानगरपालिकाले स्थानीय रुपमा सपोर्ट गरेको हो’, मेयर आचार्यले भने।

पृथ्वीचोकदेखि कोत्रेसम्म नै सडकको मापदण्ड मिचेका संरचना भत्काएर राइट अफ वे खाली गराउने मेयर आचार्यले बताए। विजयपुर खोलादेखि कोत्रेखोलासम्म भने मुअब्जाको टुंगो लाग्न बाँकी रहेको उनले जानकारी दिए।

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड ४ लेनको बनाइँदैछ। २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो।

पृथ्वी राजमार्गको ८१ किलोमिटर आँबुखैरेनी– पृथ्वीचोकको सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको हो। यो खण्डको ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको हो।

२०८१ भदौमा सम्झौताअनुसार म्याद सकिने छ। हालसम्मको कामको प्रगति कछुवा गतिमा छ। ७.८९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको लेखा अधिकृत महेश ढकालले बताए। ‘पूर्वी खण्डको भन्दा ६ महिना ढिलै ठेक्का लागेको हो। ठेकदारको काम गराइ पनि सुस्त छ’, ढकालले भने, ‘काम छिटो नभए ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेर पनि भनेका छौँ।’ यो खण्डमा साइड सपोर्टको काम भइरहेको उनले जानकारी दिए।

उता आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतीको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो।

२०८१ वैशाखमा यो खण्डको म्याद सकिनुपर्ने हो। तर, हाल ३० प्रतिशत काम भएको छ।

आयोजना प्रमुख नरेन्द्र सुवेदी भन्छन्, ‘हुनुपर्ने काम भएकै छैन। मुख्य त ठेकेदारकै कारण हो। हुनुपर्ने कामदार छैनन्। व्यवस्थापन छैन। खानेपानी, बिजुलीले पनि काममा ढिलाइ भएको छ। दिनुपर्ने मुअब्जा दिन सकियाछैन।’ उनका अनुसार तनहुँको सत्रसयमा १६ सय मिटर सडक कालोपत्रे भएको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने हालसम्म ठेक्का लगाइएको छैन।

आगामी आर्थिक वर्षको बजेटमा पृथ्वी राजमार्ग मुग्लिन– पोखरा सडकको ५० किलोमिटर सडक विस्तार गर्न बजेट विनियोजन भएको छ।

५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन भएको हो। आगामी आर्थिक वर्षलाई ५० किलोमिटरको काम मात्रै सक्न बजेट विनियोजन भएपछि काम लम्बिने आशंका उत्पन्न भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?