
पोखरा – पहिलो र दोस्रो विश्वयुद्वमा ८० हजार बढी गोरखा सैनिकले ज्यान गुमाएको तथ्याङ्क छ। विश्वयुद्वमा ज्यान गुमाएका ८० हजारको समाधिस्थल बनाउने काम अलपत्र परेको छ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ साँल्मेडाँडामा गोरखा स्मारक निर्माण सुरु भएको १० वर्ष भयो। २०७० असार ९ गतेदेखि निर्माण थालिएको गोरखा स्मारकको कामले तिब्रता नपाउँदा अलपत्र परेको हो।
गोरखा भूपू सैनिक संघ (गेसो) ले ८० हजार वीर गोर्खालीको समाधिस्थल एक ठाउँमा बनाउने परिकल्पना गरेर काम सुरु गरेको थियो। नेपाल सरकारले हस्तक्षेप गरेपछि काम अलपत्र परेको गेसोका सभापति पदमबहादुर गुरुङले बताए।
‘वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाइनमा विश्वको सरकोर रहने बहुउदेश्यिय परियोजना गोरखासमाधि बनाउँदै थियौं। बेलायत सरकारको प्रलोभनमा नेपाल सरकारले लगानी गर्दा अलपत्र पर्यो’, गुरुङको आरोप छ।
हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भएको छ। जसमा नेपाल सरकारले ८ करोड लगानी गरेको गुरुङले जानकारी दिए। गोरखा भूपू सैनिक संघले ७ करोड लगानी गरेको छ।
समाधिस्थल निर्माणको कामले पनि पूर्णता पाएको छैन। तर, निर्माण सम्पन्न नहुँदै कतिपय संरचना भत्कन थालेको छ।
गोरखा स्मारकलाई अन्तर्राष्ट्रिय मापदण्ड बनाएर बेलायतको प्रधानमन्त्री ल्याउने तयारी गरेकोमा नेपाल सरकारले हस्तक्षेप गरेको गुरुङको आरोप छ।
५ चरणमा काम सक्ने गरेर साल्मेडाँडाको गोरखा समाधिस्थलाई पर्यटकीय स्थल बनाउने योजना थियो। २० अर्ब लागत अनुमान गरिएको थियो। पहिलो चरणमा ८० हजार बढीको सम्झनामा गोरखा समाधि निर्माण गर्ने योजना थियो।
दोस्रो चरणमा बहुलजातीय संग्रहालय निर्माणको योजना बुनेको गेसोमा डिजाइनमा तेस्रो चरणमा बहुलजातीय साँस्कृतिकग्राम बनाउने भनिएको छ।
चौथो चरणमा नेपालकै सबैभन्दा अग्लो गोरखा टावर निर्माण गरी विश्वका पर्यटकको ध्यान तान्ने लक्ष्य छ। पाँचौं चरणमा सुस्त गतिमा चल्ने पाँच डिब्बाको पहाडी रेल सञ्चालन गर्ने योजना भएपनि कार्यन्वयन हुने सम्भावना छैन्। पहिलो चरणको गोरखा समाधि निर्माण गर्दा नै काम अलपत्र भएको छ।