काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले साउने संक्रान्तिको अवसरमा आज धार्मिक यात्रा गर्ने भएको छ।
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउनको पहिलो सोमबारको अवसरमा आज पहिलो दिन
धार्मिक यात्रा गर्न लागेको हो।
पार्टीले एक विज्ञप्ति जारी गर्दै धार्मिक यात्रा दिउँसो १ बजे मैतीदेवीबाट सुरु भइ पशुपतिनाथमा गएर समापन हुने जनाएको छ। राप्रपाले धार्मिक यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा अपिल समेत गरेको छ।
शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने, आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गर्न लागिएको आयोजक नेपाल सनातन धर्म संस्कृति सङ्गठनले जनाएको छ।