पोखरामा फेवातालपछि सबैभन्दा बढी अतिक्रमणको चपेटमा फिर्केखोला छ। काठमाडौंको टुकुचाको जस्तै हविगत फिर्केखोलाले भोगिरहेको छ।
पोखराको बीचबाट बग्ने फिर्केलाई गायव पारेर खोलामाथि ठूल्ठूला कंक्रिटका संरचना ठडिएका छन्। फिर्केको मापदण्ड मिचेर बनेका कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ। अधिकांश ठाउँमा खोला भन्न नमिल्ने गरेर नालीजस्तै आकारमा फिर्के साँघुरिएको छ।
‘राजनीतिक शक्तिको आडमा फिर्केखोला मिचिन्छ’, यसलाई २०७६ को उपनिर्वाचनको एउटै घटनाले पुष्टि गर्छ। कास्की-२ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्युपछि रिक्त पदमा हुने उपनिर्वाचनको बेला नेकपा एमालेले नियमविपरीत ५ मिटरको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सम्झौता गरेर फिर्केखोलाको सौदाबाजी गर्याे।
निर्वाचनपूर्व फिर्केखोला संरक्षणको मुद्दा उठाउने हरेक उम्मेदवार निर्वाचन सकिएपछि चुइँक्क बोल्दैनन्। चर्चा निकै तर काम सिन्को नभाँच्ने प्रवृत्तिले चौतर्फी अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको आकार पोखरा महानगरपालिकाले खोज्न सुरु गरेको छ।
दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, प्रवर्द्धन र विशेष सौन्दर्यकरण गर्न महानगरपालिकाले बुधबारदेखि फिर्केखोलाको आकार खोज्न सुरु गरेको हो।
पोखरा महानगरपालिका-६ बैदामस्थित गाईघाटबाट फिर्केखोलाको प्राकृतिक सिमाना यकिन सुरु भएको छ। गाईघाट फिर्केखोला फेवातालमा मिसिएको स्थान हो। २०३२ सालको नापीअनुसार फिर्केखोलाको प्राविधिक सर्वेक्षण र नाँपजाँच गरेर सिमाना यकिन गरिनेछ। खोलाघरमा नम्बरसहितको स्तम्भ राखिनेछ।
खोलाको राइट अफ वे नापेर स्तम्भ राख्ने मेयर धनराज आचार्यले बताए। ‘पहिलो चरणमा खोलाघर छुट्याउँछौं र सिमेन्टको स्तम्भ राख्छौं। त्यसपछाडि फिर्केको साविकको मापदण्ड १० मिटर छ। त्यसमा केही पुर्नविचार गर्नुपर्छ भन्ने खालका कुराहरू आएका छन्। त्यसमा विज्ञहरूको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ। अब केही दिनमा मापदण्डको बारेमा पनि क्लियर गर्नेछौं’, उनले भने।
अँधेरीखोलादेखि गाईघाटसम्म झन्डै ८ किलोमिटर दुरीमा फिर्केखोला बगेको छ। प्राविधिक वासुदेवको पौडेल नेतृत्वको टोलीले गाईघाटदेखि अँधेरीखोलासम्मै खोलाको पूरानो आकार खोज्दै नम्बरसहितको स्तम्भ राख्नेछ।
अतिक्रमणको चपेटमा मात्रै होइन, फिर्केखोला मिचेर बनेका अवैध संरचनाले सिधै मलमूत्र खोलामा मिसाइदिएपछि पानी ढलजस्तै दुर्गन्धित छ।
यसअगाडि महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फिर्केको खोला आसपासको झाडी फाँडेको थियो। त्यतिबेला सेफ्टीट्यांकी सोझै फिर्केमा मिसाएको फेला परेको मेयर आचार्य बताउँछन्। ‘उहाँहरूलाई १५ दिनको समय दिएर खाली गर्नलाई समय दिएका छौं’, उनले भने।
पहिलो चरणमा सिमाना यकिन गरेपछि दोस्रो चरणमा मापदण्डअनुसार क्लियर गर्ने मेयर आचार्यको भनाइ छ। दोस्रो चरण असोजपछि सुरु हुने उनले जानकारी दिए। मापदण्ड मिचेर बनेका सरकारी संरचनालाई पनि भत्काइछाड्ने मेयर आचार्यको दाबी छ।
उनी भन्छन्, ‘सरकारी संरचना पनि हटाइनेछ । म अध्यक्ष रहेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालय पनि पर्छ भने त्यो हामी फाल्नेछौं। चाहे त्यो अदालत होस् अथवा प्रहरीको कार्यालय होस्। कुनै पनि ठाउँ जो अतिक्रमण भएका छन् भत्कन्छ।’
फिर्के खोला संरक्षण गर्न तत्कालीन मेयर मानबहादुर जिसीले ०७५ असार १ गते फिर्केखोलामा डोजर चलाएका थिए। फिर्केखोला मिचेर बनेका संरचना हटाएर ‘फुटट्र्याक’ बनाउने योजनासहित मेयर जिसी आफैंले डोजर पनि चलाए। ‘फुटट्र्याक’ शिलान्यासका क्रममा आफैंले डोजरको लिभर चलाएपछि रिपोर्टिङमा पुगेका ५ जना पत्रकार घाइतेसमेत भए। निकै बदनाम बनेको त्यो योजनाले निरन्तरता पाउन सकेन।
अहिले पनि महानगरले खोलाघर छुट्टाएर फिर्केको सौन्दर्यकरणको योजना त बुनेको छ। एसियाली विकास बैंक (एडिबी)को सहयोगमा फिर्केको दायाँबायाँ साइकल लेनसहितको फुटट्रे्ल, ठाउँ-ठाउँमा चेक ड्याम बनाउने र लाइटिङको काम गर्ने योजना छ। हिउँदको बेला फिर्केमा पानी नहुँदा मर्दीबाट पानी ल्याएर बगाउने महानगरले जनाएको छ। ६२ करोडको यो योजना २ वर्षमा सक्नुपर्नेछ। त्यसैले दिन गनेरै काम गर्ने मेयर आचार्य बताउँछन्।
नेकपा एमाले पोखरा महानगरपालिका संसदीय दलको नेता राधिका शाही योगी सबै दल मिलेर मापदण्ड विपरीतका संरचना क्लियर गर्ने बताउँछिन्। पोखरा-१७ की वडाध्यक्षसमेत रहेकी शाही भन्छिन्, ‘जहाँसम्म लाग्छ यो राजनीतिक दलले नै प्रश्रय दिएर बनेका पक्कै छैनन् होला। मापदण्ड अनुसार क्लियर गरेर जहाँबाट दबाब जसरी आए पनि नीतिगत रूपले हामी एक ठाउँमा हुन्छौं।’
फिर्केलाई आफ्नै गतिमा बग्न दिन एक ठाउँमा उभिएर लाग्ने उनको दाबी छ।
पोखरा महानगरले सुरु गरेको फिर्केको योजनालाई राजनीतिकरण गरेर पछाडि हट्न नहुने नागरिक अभियन्ता रामबहादुर पौडेलको सुझाव छ। ‘फिर्केखोलाको समस्या व्यापक अतिक्रमण हो। राजनीतिक दल शक्ति केन्द्रको आडमा, समाजसेवीको आडमा भएको अतिक्रमणले फिर्केखोला बिग्रेको हो’, उनले भने, ‘फिर्केखोलाकै कारण फेवाताल प्रदूषण भएको छ।’
नागरिक समाजको सर्वेक्षणमा २८ स्थानमा फिर्केखोला अतिक्रमण भएको छ। ‘कोही ठाउँमा मलमूत्र जोडिएको छ। २८ स्थानमध्य पनि ७-८ स्थानमा मात्रै विवादित छन्। त्यसैले यो फिर्केखोलाको सिमाकंन गर्न कुनै समस्या छैन। किनकि फिर्केखोलासँग जोडिएका तमाम पोखरेली साथ दिन तयार छन्’, उनले भने।