एक फकिर हुन्- प्राध्यापक अरुण गुप्तो। काठमाडौंको कला, संस्कृति र मिथकीय दर्शनको दुनियाँमा यायावर भइदिने गुप्तो देवीहरूको प्रेममा चुर्लुम्म डुबेको स्विकार्छन्। ६० को दशकदेखि काँधमा क्यामरा झुण्डाएर काठमाडौं, भक्तपुर, ललितपुरका गल्लीमा भव्य र शालीन देवीहरू चिहाउँदै हिँड्ने गरेका गुप्तो डकुमेन्ट्री मेकर पनि हुन्। ‘एङ्ग अफ काठमाडौं भ्याली’, ‘आर्ट एण्ड द सिटी’ जस्ता डकुमेन्ट्री बनाएका थिए उनले ।
उत्तर औपनिवेशिक सिद्धान्तबाट धेरै नै प्रभावित भएको बताउने गुप्तो संस्कृति अध्ययन अनुसन्धानमा चासो राख्थेनन् भने ‘गनेस अफ काठमाण्डु भ्याली’ जस्ता किताब लेख्थेनन् पनि होला । देवीदेवताको मूर्तिमा घन्टौं डुबिदिन्छन् उनी । मूर्तिलाई हेरेर गहिरो व्याख्या गर्ने गरेका गुप्तो स्टोरी टेलर पनि हुन्। ऐतिहासिक सहर काठमाडौं, भक्तपुर ललितपुरको देवीदेवताले नलोभ्याएको भए उनी हिँड्थेनन् पनि होला। उनी भन्छन्, ‘यी सहरका गल्लीहरूमा जति हिँड्नुस् त्यति नयाँ लाग्छ । त्यति कौतुहुलमय लाग्छ।’
उपत्यकाका हरेक चोक र पाइलाको दुरीमा भेटिने गल्लीभित्र देवीदेवताको बास गरेका मूर्तिमा घोरिएर गुप्तो भाव पहिल्याउँथे । उनको स्मृतिमा अहिले पनि ती गल्ली त्यति नै सौन्दर्यमय छन्। काठमाडौंका राजमार्ग वा चौडा सडकबाट भित्र पातलो गल्ली जहाँ कहिल्यै घामका किरण पस्दैनन्। चिसा, ओसिला र अँध्यारा गल्लीमा पनि जीवनका कथा छन्। अनेकन मौलिक तथा सांस्कृतिक कथाहरू भेटिन्छन्। गुप्तोलाई चिन्नेहरूले भन्छन्- गल्ली गाइड।
‘तपाईं यो सहरको जुनै गल्लीमा पुग्नूस्, बाटो भुल्नुभयो भने मलाई सम्झनूस् र फोन गर्नूस्, फोनमै बाटो बताइदिन्छु’, गुप्ताे आत्मविश्वासका साथ भन्छन्। यत्तिको आत्मविश्वास बनाएका उनी यी सहरका भित्र गल्लीमा कयौंपटक हराएका थिए। कयौंपटक बाटो पहिल्याउन सोध्नु परेको थियो। गल्लीमा भौंतारिएपछिको काठमाडौं माथिको उनको एउटै आविष्कार छ- यहाँ मन्दिर छन्, ज्ञान र करुणाका देवी छन्। उनको विचारमा कला र ज्ञान काठमाडौंको खास चित्र–चरित्र हो। भन्छन् ‘सबैजसो देवीमा केही न केही ज्ञान पाइन्छ।’
२८ वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य पढाएका गुप्तो प्राय: अंग्रेजीमा लेख्ने गर्थे। यिनै देवीहरूको संगतले नेपालीमा लेखे। देवीको प्रेमले उनलाई होसायो। नेपाली पाठकमाझ बोलायो। अहिले प्रकाशित निबन्धात्मक पुस्तक ‘संस्कृति चिन्तन’का कारण चर्चामा छन् उनी।
प्राध्यापक गुप्तोका लागि विश्वविद्यालय त्यति ठूलो संसार होइन, जति यहाँका आदिम गल्ली हुन्। यहाँका देवीदेवता दक्षिण एसियामै खोजेर नपाइने गुप्तो बताउँछन्। तर आजको समाजले आधुनिक सहर भनिरहँदा उनको चित्त दुख्छ। नेपालको मात्र होइन, दक्षिण एसियाको बारेमा लेख्दा पनि कहीं न कहीं पश्चिमी दृष्टिकोण आउने बताउँछन् उनी। भन्छन्, ‘राम्रो छ तर पिछडिएको छ। पूरातन छ। त्यो दृष्टिकोण मलाई मन पर्दैन। किनकि काठमाडौं, नेपाल र दक्षिण एसियाको कला हेर्दा त्यसको पछाडि जुन दर्शन शास्त्रीय (गहिरोपना) छ त्यसलाई बुझ्न र अध्ययन गर्न यहाँका स्थानीयको सहयोगबिना सकिँदैन।’
नेपालीमा ‘संस्कृति चिन्तन’ किताब ल्याउन आफैंलाई दबाब महसुस गरेको बताउँछन् गुप्तो। भन्छन्, ‘नेपालीमा लेख्न नसक्दा आफूलाई बाहिरको जस्तो अनुभव गर्थें। आउट साइडरजस्तो लाग्थ्यो।’ नेपाली भाषामा लेख्न हौसिएका उनी भारतमा पढे। नेपालमा पढे। विश्वविद्यालयहरूमा फ्रेन्च, उर्दू, अंग्रेजी, हिन्दी साहित्य र भाषालाई आत्मसाथ गरे।
अन्तर्राष्ट्रिय केही भाषा नजानेको भए गल्ली गाइड हुन सक्थिनँ भन्छन् गुप्ताे। कीर्तिपुरमा एमए पढ्न भर्ना हुनुअगाडि नै गाइडका रूपमा थुप्रै वर्ष काम गरेका थिए उनले। विदेशीलाई गाइड गरेपछि उनको अध्ययन अझै फराकिलो हुँदै गयो। ‘गाइडको भूमिकामा काम गर्दा नेपाली इतिहासको किताब धेरै अध्ययन गरें। सहरको गल्लीहरू पनि खुब चहारें’, गुप्ताेले ती दिन सम्झिए, ‘मसँग अहिले पनि ठूल्ठूलो चाट छ। र, नेपाली इतिहासको सबै डिटेल छ त्यसमा। म एकदम गहन अध्ययन गर्थें। कुनै टुरिस्टलाई लग्दाखेरि एकदमै गम्भीर भएर पढ्थें, बुझ्ने कोसिस गर्थें। पछि गएर मैले के महसुस गरें भने नहिँडी काठमाडौं बुझिंदो रहेनछ।’
गुप्तो प्राध्यापक अभि सुवेदीको ‘फ्लानरको डायरी’ पुस्तक सम्झिँदै भन्छन्, ‘निरुद्देश्य हिँडिरहने हो ।’ उपत्यकाका देवीमाथि त्यति आत्मीयता बढ्ने थिएन यदि गुप्तो त्यसरी हिँड्दैन थिए भने। उनी देवीका मूर्तिमा यति घोरिन्छन् कि त्यहाँ आजको हिरोइनका ग्ल्यामर नै भेटिएको भन्न पछि पर्दैनन् उनी।
एक अन्तरवार्तामा गुप्ताेले भनेका थिए, ‘अहिलेका मूर्तिहरू हेर्ने हो भने हिरोइनका अनुहारजस्ता लाग्छन्। मूर्तिमा ग्ल्यामर जोडिएको छ। एकपटक एउटी देवीको अनुहार बलिउड कलाकार हेमा मालिनीजस्तो देखियो भनेर व्यापक विवाद भएको थियो। यो उपभोक्तावादी संस्कृतिको प्रभावको परिणाम हो।’
मूर्तिलाई अनेक पाटोबाट विश्लेषण गर्न रुचाउँछन् गुप्ताे। काठमाडौंको सबैभन्दा प्रवल विशेषता भनेकै देवीकला र मन्दिर कला रहेकाे अनि यसकाे उपस्थिति देखेर आफू छक्क परेको बताउँछन् उनी। ज्ञान र करुणाले भरिएका देवीहरू सहरको चौतर्फी बसेर संरक्षण गरेको लाग्ने सुनाए उनले । देवी पीठ अनि देवीको मन्दिर ज्ञानको देवी लाग्छ उनलाई। सरस्वती मात्र नभएर तन्त्र तथा हिन्दु र बौद्ध धर्मबाट आएका अन्य देवीदेवताले सहरलाई संरक्षण गरेको र ज्ञान दिइरहेको लाग्छ उनलाई ।
गुप्ताे भन्छन्, ‘सरस्वती मात्र होइन, टाउको काटिएकी देवी छिन्नमस्ता, बंगलामुखी, कोही रगत खाने देवी छन्। तर उनीहरू केही न केही ज्ञान दिइरहेका छन् । ज्ञानलाई प्रतिविम्बित गरेका छन् । काठमाडौंको सौन्दर्य मन्दिर, टुँडाल र मूर्तिमा देख्छन् उनी। काठमाडौंका छेउछाउमा बराही मन्दिर सम्झिन्छन्। उपत्यकाका किनार-किनार ज्ञानबाट मुखरित भएका देवी छन्, शक्तिपीठ छन्। जस्तै- ज्ञानदेवी, बगलामुखी, बज्रयोगिनी, धुम्रवाराही, काली, ताराजस्ता देवीहरू सरस्वतीका रूप मात्रै हैनन्। यी देवीहरूको आफ्नै इतिहास छ। ‘दस महाविद्या देवी हुन् यी’, उनी भन्छन्।
‘ज्ञानरूपी देवीहरूको यस्तो विविधता एउटै सहरमा कमै पाइन्छ। अझ दक्षिण एसियामा त नेपालबाहेक बनारस, दिल्ली, कलकत्तामा मुस्किलले पाइन्छ’, गुप्ताेले भने’, ‘पूराना सहरमा जति आस्था, श्रद्धा र विश्वास हुन्छ, त्यति नै रहस्यमय हुन्छ सहर। त्यसैले म अनुसन्धान गर्न रुचाउँछु ’
उपत्यकामा हिन्दु संस्कृतिभित्र नेवाः संस्कृति र बुद्धिस्ट संस्कृति जोडिएको जनाउँदै गुप्तो स्थानीय कला संस्कृतिले यस सहरलाई अझ मिथकीय बनाएकाे बताउँछन्। यहाँ भेटिने ज्ञानरूपी चित्र र कलामा त्यो अझै खोज र अनुसन्धानको विषय बन्ने गरेको लाग्छ उनलाई। जसरी मानव अधिकार र वन्यजन्तुको अधिकार खोजे झैं कलाको पनि अधिकार हुनु पर्ने बताउँछन्। भन्छन्, ‘विश्वमा अहिले आर्टको पनि अधिकार हुन्छ भन्ने बहस छेडिएको छ । आर्ट बोल्न सक्दैन। तर कलाको अधिकार संरक्षण गर्नुपर्ने हुन्छ। जस्तै- म्युजियम तथा आर्ट छ, त्यो प्रयाप्त हुँदैन।’
तर अहिलेको समाजमा मन परेको कलालाई हामी स्विकारी हाल्ने अनि यदि मन परेको छैन भने लत्याउने पनि गर्ने गरिन्छ। गुप्तोको अनुसार अहिलेको कला ‘लभ एण्ड हेट’जस्तो भयो।
जुन सहरमा कला भेटिन्छ, त्यो आफैंमा ऐतिहासिक लाग्छ। त्यो सहरको सौन्दर्य रहस्यमय लाग्छ। गुप्ताे एक घटना सुनाउँछन्- भक्तपुरमा एक देवीले मैसासुरको वध गरिसकेर मुस्कुराएर हेरिरहेकी छन्। उनी भन्छन्, ‘दक्षिण एसियामै देवी दुर्गा रिसाएको मात्रै मूर्ति भेटिन्छ। मैले एक डकुमेन्ट्रीमा देवीकै व्याख्या गरेको छु। दुर्गाले रिसले हेर्नुको साटो टाढा मुस्कानका साथ हेर्नु आफैंमा रहस्यमय लाग्छ। सायदै दक्षिण एसियामा यस्तो खालको मूर्ति नेपालबाहेक बंगाल आसामतिर भेटिन सक्ला नत्र अन्त भेटिँदैन।’ यस्ता रहस्मय ज्ञानका देवी बचाउन कलाको अधिकारको कुरा गर्न आवश्यक रहेको बताँउछन् उनी।
अर्को सन्दर्भ जोड्दै गुप्तो भन्छन्, ‘जस्तै- काठमाडौंको टेकु र बसन्तपुरबाट भित्र पसेपछि भेटिने बज्रयोगिनी जस्तै खड्गीयोगिनीको मूर्ति छ। त्यसको कला मुद्रा हेर्दा थरीथरीको प्रतिविम्ब भेटिन्छ। त्यो मूर्ति हेर्दाखेरी डरलाग्दो देखिन सक्छ तर ज्ञान पाउन सकिन्छ।’
भक्तपुरमा केही समय अगाडि जाँदा गुप्ताेले नवदुर्गालाई मास्क लगाएर जलाएको देखे। देवी नै जलेपछि आशीर्वाद पाइँदैन भन्ने भयो। त्यसो भए के दुर्गा हराइन्। के दुर्गा छैनन्। कहाँ छिन् त? उनी भन्छन्, ‘देवीको उपस्थित नहुनु भनेको त रुचिकर विषय भइहाल्यो। अब त्यो देवीलाई खोज्न त हिँड्नुपर्याे। वाकिङ इन द सिटी हुनुपर्याे। बिस्तारै हिँड्नूस् घाम हुन सक्छ, वर्षा हुन सक्छ तर तपाईंलाई केही न केही नयाँ लाग्न सक्छ।’
हिँड्न सकियो भने देख्न सकिन्छ भने झैं गुप्तोलाई एथेन्स या बनारसको सहर जति पूरानो हो, त्यति नै काठमाडौं सहर पनि लाग्छ। र, पूरानो सहर हो भन्ने प्रमाण यिनै देवीदेवताको मूर्ति काफी छन्। १६ औं शताब्दीतिर बनेको मन्दिर देखेर गुप्ताेले सय वर्षअघिको काठमाडौं कल्पना गरेका थिए।
‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि! अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं’, उनी भन्छन्।
अहिले सहरको सुन्दरतामा ह्रास आएको देख्दा दुखी हुन्छन् गुप्ताे। यसको एउटै कारण हो- सहरीकरण। भन्छन्, ‘त्यो सुन्दरता अब विगत बनिगयो,’ उनी फेरि प्रा अभि सुवेदीको किताब ‘फ्लानरको डायरी’ बाट केही सुनाउँछन्, ‘सहरका अनेकौं विगत हुन्छन्, इतिहासका तह हुन्छन् त्यसलाई उपलेखन भन्न सकिन्छ। एउटा स्मृतिमाथि फेरि लेख्नु उपलेखन हो। त्यही उपलेखनका तहतहमा प्रस्तरकला, वास्तुकला, साहित्यकला, चित्रकला मूर्तिकला इत्यादि भेटिन्छन्। त्यही खोज्नु नै सहर चिन्ने दृष्टिकोण थियो।’
कुनै बेला गुप्ताेलाई काठमाडौं एउटा ‘ल्यान्ड स्केप’ लाग्थ्यो। र, यसको सुन्दरताले मोहित पार्थ्याे। सुस्केरा हाल्छन्, ‘सुन्दर देखिने चिजहरू अब छेकिँदै गएको छ।’
टेकुबाट पाटनको बीचसम्म हेर्दा छेउमा नदी छ। नदीमा पानी छ। र, पारि पहाड छ। गुप्ताे कल्पिन्छन्, ‘पचास वर्षअघि मात्रै पनि यसको सुन्दरता कस्तो थियो होला? शान्त र एकान्त यो ठाउँ कति लोभलाग्दो थियो होला?’ सहर जति आधुनिक बन्दै गए पनि सौन्दर्यलाई कायम राख्ने भनेको कलाले हो। कला जब मिथक भएर आउँछ अनि सहर कहिल्यै मर्दैन।
‘काठमाडौं सहरमा आधा त ‘मिथक’ नै छ। सहरमा धेरै कुरा भित्रिँदा पनि आधी त ‘मिथक’ नै रहन्छ। आधी ‘मिथक’ भएको सहर हो’, गुप्ताे भन्छन्, ‘यस्तो सहर अन्त छैन। यहाँ त केही कदम र केही घुम्तीमा नै मिथक भेटिन्छ।’
मन्दिरै मन्दिरको सहर हो काठमाडौं। फरक-फरक देवीदेवता भेटेन्छिन्। आफ्नै विशेषता र मिथ बोकेर बसेका छन्। गुप्तोलाई काठमाडौं सहर मिथ बोकेकै कारण आदर्श सहर लाग्छ।
‘दक्षिण एसियामै कयौं यस्ता सहर छन्, जो मिथविहीन छन्। कथाहरूको संसार वा इनाेसेन्ट छन्। दक्षिण एसियाकै प्रख्यात सहर कलकत्ता, बनारसजस्ता सहर पनि छन् तर ती त्यति मिथ बोकेको छ जस्तो लाग्दैन’, गुप्ताेले भने, ‘मैले मिथकलाई मात्रै लिएर बोलिरहँदा विरोध गर्न सक्छन्। काठमडौं सहरलाई मिथकको पाटोबाट मात्रै पनि हेर्नु हुँदैन। तर म के बुझाउन चाहन्छु भने मिथक धर्म होइन।’
तर समाजमा धर्मको आडमा मिथक बाँचिरहेको देखिन्छ। गुप्तोको अनुसार जति कलाले मिथकलाई बचाउन कोसिस गर्छ, त्यति धर्मले गर्दैन। बरु संकुचित बनाउन खोजेको चाहिं देखिन्छ।
‘मेरो साथीहरू हिन्दुमाथि बोल्नूस् न भन्दा वेद र उपनिषदबाहेक केही बोल्दैनन्। अरू कुरा पनि छन्। तान्त्रिक परम्पराहरू छन्। ब्राह्मणवादी परम्पराभन्दा पर धेरैवटा परम्परा पनि छ’, गुप्ताेले भने।
तर आजको समाजमा धर्मले मिथकलाई नियन्त्रण गर्न खोजेको लाग्छ गुप्ताेलाई। तर कलाले स्वतन्त्र खोज्ने उनी बताउँछन्। भन्छन्, ‘मिथले धर्मलाई मिथकलाई बिगार्न सक्छ तर कलाले दिएको संरक्षणले मिथकलाई बिगार्दैन।’
धर्मले आफ्नो विश्लेषण गर्दैन, मेराे सोह्रै आना ठीक भन्ने भाव दिन्छ। तर कलाले मिथकलाई करुणा र ज्ञानको दृष्टिकोणबाट पनि हेर्ने गरेको बताउँछन् गुप्तो। उनका अनुसार मिथकलाई कलाले आफ्नो विश्लेषण पनि गर्दछ। व्याख्या गर्ने शक्ति गर्दछ। त्यसको गलत कुराहरू देखाउन सक्छ तर धर्मले गर्न दिँदैन।
शक्ति पीठ तथा मन्दिरका टुडाँलहरूमा भेटिने यौनका मूर्तिहरूका बारेमा गुप्ताे एउटा उदाहरण दिन्छन्।
यक्षिक देवी छन्। आधी मानव आधा देवी हुन्। पातलाे कम्मर छ। हातले रुखको हाँगा समाएकी छन्। हिलले रुखको स्टेपलाई रब गरिरहेको छ। त्यो काम शास्त्रमा पनि हिलले रब गरिरहेको छ। बाँदरले यक्षिकका जामाभित्र पस्न खोजेका छन्।
मायादेवीको उभिने तरिकालाई यौनको विम्ब दिएको छ। यसलाई विकृति भन्न मिल्दैन। खजुरामा पनि यौनसम्बन्धी अनन्त चित्रहरू छन्। मूर्ति छन्। शिव मन्दिर अथवा तान्त्रिक मन्दिरमा मात्रै नभएर विष्णु भगवानको मन्दिरमा पनि यौनका चित्र तथा मूर्तिहरू छन्। मन्दिरभित्र विष्णुको मूर्ति छ, बाहिर यौनक्रिडा गरिरहेका मूर्तिहरू छन्। सात्विक वैष्णव छन् भित्र तर बाहिर सेक्सको विम्ब देखिन्छ।
गुप्तो मनसामंगल काव्यमा शिवले सासूसँग सेक्सका कुरा नै गरेको सन्दर्भ जोड्दै भन्छन्, ‘सेक्स भनेको शरीरको पावरफूल तत्व हो। सेक्स धेरै नै नजिक ल्याउने प्रक्रिया हो। सेक्सलाई कला र मिथकमा नराम्रो मानेको छैन।’
साखुको मन्दिरबाट काठमाडौं हेर्दा सुन्दर देखिन्छ। मन्दिरभित्र केही छैन। एउटा थुपारिएको केही हो भन्ने लाग्छ। माला छ। कुनै मूर्ति छैन। जति वैभवशाली मन्दिर छ, त्यहीअनुसार भित्र छैन। यस्तो किन हुन्छ? भन्ने प्रश्नमा गुप्ताे भन्छन्, ‘मिथकले सक्ट देखाउँछ। साइको थेरापी हुन्छ। कलाकारले सक्ट दिएको हुन्छ। बाहिर पनि सुन्दर भित्र पनि सुन्दर भए त्यसबाट मान्छेलाई खासै प्रभाव पार्दैन। सुन्दर मन्दिरको भित्र अध्याँरोमा बज्रयोगिनी मूर्ति छोपिएको छ। हामीले देखेको संसारबाट अचानक अर्को दुनियाँ देखेको संसार हेर्दा आश्चर्य हुनु नै कलाको शक्ति हो।’
गुप्तो यौनलाई कुनै विरोधाभास मान्दैनन्। उनका अनुसार सेक्सले रियलाइजेसन सिर्जना गराउँछ। सेक्सले कम्प्लिमेन्ट गर्छ। जीवनमा सेक्स भनेको त नजिक छ।
तर आजको आधुनिक सहरमा प्रविधिको दुनियाँमाझ हुर्किएका नयाँ पुस्तालाई मिथक सिकाउन भने खुबै चुनौती देख्छन् गुप्तो।
उनी भन्छन्, ‘धेरै गाह्रो छ। गम्भीर व्याख्या छ। हामी इतिहास बोकेर हिँड्छौं तर त्यसको गहनता बोकेर हिँड्न सक्दैनौं।’
कुनै पनि इतिहास धेरै समय लगाएर मिथ बनेको हुन्छ। त्यसको आफ्नै इतिहास हुन्छ। कला हुन्छ, संस्कृति हुन्छ। गहनता हुन्छ। गम्भीरता हुन्छ। प्राज्ञिकता हुन्छ। राम्रो नराम्रो दुवै हुन्छ। तर बुझ्न गाह्रो छ।
गुप्तोका अनुसार त अमेरिकामा पनि गम्भीर खोज-अनुसन्धानको अभाव हुनसक्छ। किनकि गम्भीर कुरा पढिँदैन भन्ने तर्क राख्छन् उनी। तर समाजमा कोही न कोहीले यस्ता गम्भीर विषयमा चासो नराख्ने भन्ने हुँदैन।
उनी आजका युवाहरूले नेताको पछाडि लागेर कुनै आन्दोनलको नेतृत्व गर्नु, भर्ना भीडमा हराउनुभन्दा यस्ता गम्भीर विषयमा अनुसन्धान गरेर किताब लेख्न सुखद् हुने सुझाव दिन्छन्।
एक किसिमको रहस्यमता कोलोनियलले पनि भरिएको सहर लाग्छ गुप्ताेलाई काठमाडौं। यस सहरको कला र संस्कृतिको व्याख्या गर्दा नारीवादी विचार, दर्शनको विचार, प्रकृतिको विचार, सामाजशास्त्रीय वातावरणीय चिन्तन रहस्मयता लाग्छ गुप्तोलाई।
‘सहरको सौन्दर्य हराउनुको कारण व्यावसायिकता मात्रै हेरियो। सहर हेरिएन। दक्षिण एसियामा त्यस्ता मूर्ति मुस्किलले पाइन्छ। देखिने मूर्ति पनि नदेखिने बनाइसके। सहरप्रति चिन्तन गर्नेहरूले सहरको इतिहास बुझ्नुपर्छ’, उनी भन्छन्, ‘कला बुझ्नुपर्याे। इतिहास खोज्नुपर्याे। दर्शन, इतिहास, वास्तुकलाको इतिहास। बुद्धका धेरै दर्शनलाई वास्तुकलामा उजागर गरिएको छ। मिथकीय, धार्मिक, दार्शनिक कुराहरूलाई लिएर बनेको थियो काठमाडौं। त्यो बिग्रिएर गयो। काठमाडौंको संवेदनशीलता नबुझेरै होला घरमा मात्रै सम्पन्नता खोजियो।’