
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बुधबार साँझ करिब १०० किलो सुन बरामद गर्यो।
विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएको करिब १०० किलो सुन बरामद भएको हो। उक्त सुन दिउँसो करिब २ बजे नै भन्सार पास भएर सिनामंगलस्थित विमानस्थल परिसर बाहिर आइसकेको थियो । विमास्थलबाट दैनिक अनुमानित एक सय किलो सुन पास भइरहेको सूचना केही दिनदेखि आएको र सोही आधारमा अपरेसन गर्दा सो परिणामको सुन बरामद भएको हो।
स्कुटर र मोटरसाइकलको पार्ट्ससँगै सुन लुकाएर ल्याएको सूचनापछि विभागले विमानस्थल क्षेत्रमा एउटा टोली बुधबार बिहानैदेखि परिचालन गरेको थियो। विभागमा प्राप्त गोप्य सूचनाअनुसार नै बुधबार हङकङ हुँदै करिब सय केजी आसपासको परिमाणको सुन भन्सारबाट जाँचपास भएर सजिलोसँग भित्रियो। उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा समातिएको हो।
सुन हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा स्कुटरको ब्रेक सुमा फिट गरेर ल्याइएको थियो । क्याथे फ्यासिफिकमार्फत आएको उक्त सुन हङकङबाट सिधै रेडी ट्रेड लिंक प्रालिको नाममा आएको स्रोतले बताएको छ। स्रोतका अनुसार यसरी कार्गो गरेर सुन पठाउने ब्यक्तिका र सुन लिने सम्बन्धित व्यक्तिकोसमेत पहिचान खुलेको छैन। हङकङमा पनि उक्त परिमाणको सुन कहाँबाट र कसरी आयो भन्नेबारे हालसम्म खुलेको छैन।
विभागको विशेष टिमले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेलसहित हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा यसअघि पनि पटक-पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार हुँदै दुई महिनामा करिब २८ पटक यस्तै ‘ब्रेक शु’ आयात भएको देखिन्छ।
अनुसन्धान अधिकारीका अनुसार उक्त कम्पनी करिब ३ महिना अघि मात्रै दर्ता भएको पाइएको छ। दोलखाको मेलुङ गाउँपालिका घर भएका २१ वर्षीय दिलीप भुजेल उक्त कम्पनीका मालिक हुन्।
उनी रोजगारीको खोजीमा करिब १० महिना अगाडि मात्रै काठमाडौँ आएको अनुसन्धानमा खुलेको छ। उनी सुरुमा सामान्य ज्यामी मजदुरको काम गरेको र हाल पनि चाउमिन उद्योगमा सामान्य मजदुर र चाउमिन पुर्याउने रनर ब्वाईको काम गरिरहेको बताइएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा उल्लेख भएको रेकर्ड अनुसार कम्पनीको भुजेलको एकल स्वामित्व रहेको उक्त कम्पनीको नाममा हालसम्म २८ पटक सामान आयात भएको पाइएको छ । १५ पटक ब्रेक प्याड, १२ पटक सेभर मेसिन र एकपटक मेकानिकल मोटर आयात भएको पाइएको खुलेको छ। कम्पनीको अधिकृत पुँजीमा २५ लाख रुपैयाँ राखिएको छ ।
रेडी ट्रेड प्रालिको नाममा सामान आयात गर्दा कहिले ब्रेक प्याड त कहिले दाह्री काट्ने सेभर ल्याएको पाइएको छ । ब्रेक प्याड र दाह्री काट्ने सेभर दुवै चीनबाट आयात भएको छ भने ताइवानबाट मेकानिकल मोटरसमेत आयात भएको देखिएको छ ।
सामान्यतया: स्कुटर र मोटरसाइकलको पार्ट्स हङकङ हुँदै आयात कमै मात्रामा गर्ने गरिन्छ। कार्गो मार्फत अझ कम आउने गरेको छ। लागतको हिसाबले समेत धेरै लाग्ने भएकोले समेत हवाइ कार्गो मार्फत यस्ता किसिमका सामान कम ल्याइने गरिन्छ। तर करिब ३ महिना अघि मात्रै दर्ता भएको उक्त कम्पनीले हालसम्म २८ पटक सामान हवाइ कार्गो मार्फत आयात गर्नु शंकाको पाटो बनेको छ। एक सामान्य परिवारको व्यक्तिको नाममा दर्ता भएको उक्त कम्पनीमा हरेक पटक एकै किसिमका र उति नै परिमाणको सामान आयात हुँदासमेत भन्सार विभाग र राजस्व विभागका कर्मचारीहरुको ध्यान नजानुले कर्मचारीहरुको मिलोमतो रहेको आशंका गरिएको छ।
अनुसन्धानमा संलग्न कर्मचारीका अनुसार बुधबार आयातित सुन भन्सार जाँचका क्रममा एक्सरे मेसिनमा डिटेक्ट भएको थियो। १०० किलो भन्दा धेरै सुन विमानस्थल हुँदै भित्रिन लागेको सूचनासमेत पहिले नै भन्सारमा थियो। त्यसैले कर्मचारीहरुले शंका लागेर मोटरपार्ट्स भनिएको सामग्रीको पोका खोलेर समेत हेरे तर सुनजस्तो नलागेपछि उक्त सामान भन्सार कार्यालयबाट बाहिरिएको थियो।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना भने छोटो समयमा धेरै पटक र उत्ति नै मात्राको सामान आयात हुँदासमेत कर्मचारीहरुको ध्यान नजानु केही कमजोरी भएको बताउछन्। ‘यसरी सामान पटक-पटक आयात हुँदा पनि सोधखोज नहुँनु हाम्रो कर्मचारीहरुको पनि केही कमजोरी हो भन्ने देखिन्छ,’ उनी भन्छन्, ‘कर्मचारीहरु कस्को मिलेमतो छ भन्ने लगायतका सबै कुराहरुको अनुसन्धान हुन्छ र हाल अनुसन्धानकै क्रममा छ।’
सुन आयात भएको उक्त कम्पनी करिब ३ महिना अघि मात्रै दर्ता भएको पाइको पनि उनले उल्लेख गरेका छन्। उनी भन्छन्, ‘कम्पनी सुन आयात गर्नकै लागि गलत नियतले दर्ता गरिएको थियो या अन्य केही कारण थियो त्यो पनि अनुसन्धानकै क्रममा छ।’
भन्सार विभागलाई आएको एक विशेष सूचनाको आधारमा विभागको विशेष टोलीले करिब १०० किलो सुन बरामद गरेको हो। अझै केही सुन विमानस्थलमा नै रहेको सूचनाको आधारमा विभागले विमानस्थलमा विशेष टोलीलाई खटाएको छ।
कार्गो मार्फत आएको सामान सिधै भन्सार कार्यलयमा जाँचपासको लागि पठाउने गरिन्छ। जसबाट पनि विमानस्थलमा खटिएका अन्य सुरक्षाकर्मी वा कर्मचारीहरुको मिलेमतो यसमा देखिदैन। यद्यपि घटना क्रमलाई सुक्ष्म रुपमा नियाल्ने हो भने भन्सार कार्यलयका कर्मचारीहरुको भने ठूलो चलखेल हुनसक्ने अनुमान अनुसन्धान अधिकारीहरुले गरेका छन्।
यस प्रहरणमा हालसम्म एक चिनियाँ नागरिक र सुन आयातित कम्पनीका संचालकसहित १० जना पक्राउ परिसकेका छन्।
उता उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकिर गरेका छन्। आफूलाई भ्रष्टाचारविरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनको जिकिर थियो।
उनले भने, ’हामीले सुन तस्करीबारे सम्पूर्ण रुपमा पुनरावलोकन गरेर जुन प्रकारको सचेतता, सावधानी र गाम्भीर्यता अपनाउनु पर्दथ्यो, त्यसमा कमीकमजोरी भयो। भ्रष्टाचार र अपराधका कुनै घटनाबारे अनुसन्धान गर्दा कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन। राज्यले यसरी हेर्दैन। यति बुझे हुन्छ।’
उनले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका हुन् । सो क्रममा गृहमन्त्रालयका सचिवसहित उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।