
पोखरा- हरेक बर्खायाममा फेवाताल जलकुम्भीले ढपक्कै ढाकिन्छ। भारी वर्षा हुनासाथ माथिल्लो तटीय क्षेत्रको जलकुम्भी बगाएर ल्याउँदा तल्लो क्षेत्र कुरूप हुन्छ।
भर्खर ट्रेकिङ गाइड तालिम लिएका युवायुवतीले शनिबार फेवाताललाई कुरूप बनाएको जलकुम्भी झार निकालेका छन्।
ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अगुवाइमा फेवाताल सरसफाइ गरिएको हो।
टान गण्डकीले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सँगको सहकार्यमा आयोजना गरेको ट्रेकिङ गाइड तालिममा सहभागी तीन सय जना प्रशिक्षार्थीसँगै टानमा आबद्ध पर्यटन व्यवसायी, डुंगा व्यवसायी र स्थानीयले जलकुम्भी झार निकालेका हुन्।
तालिममा सहभागीलाई पाठ्यक्रम अनुसार सामाजिक उत्तरदायित्व वहन गराउन फेवातालको जलकुम्भी झार निकालेर सरसफाइ गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए।
ट्रेकिङ गाइडमा जनचेतना जगाएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए। ट्रेकिङ गाइड सचेत हुँदा पदमार्गसँगै हिमाली क्षेत्रमा हुने फोहोरको मात्रा कम गर्न सकिने उनको भनाइ छ।
पन्थीले भने, ‘तालिममा सहभागीहरुको कोर्षअन्तर्गत नै सरसफाइ कार्यक्रम राखेर फेवातालको जलकुम्भी झार निकालेर सफा गरेका छौँ। उहाँहरूलाई चेतना हुँदा हिमालमा जादा प्लास्टिकजन्य वस्तुले वातावरणलाई गरिरहेको फोहोर कम हुनेछ्।’
झन्डै ४ सय जना सहभागी भएर पोखरा महानगरपालिका-६ क्याम्पिङदेखि खहरेसम्म तालमा भएका र निकालेर किनारमा थुपारिएको जलकुम्भी झार हटाए।
यसअगाडि पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् फेवातालको सरसफाइ गरिएको थियो।
२०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरेर १ करोड २५ लाख रुपैयाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याएको थियो ।
जलकुम्भी झार निकालेर कम्पोष्ट मल बनाउन क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याएर फेवातालमा राखिएपनि प्रयोगमा भने आउन सकेको छैन।
हेर्नूहोस् तस्बिरहरू: