
सिमकोट – कुनैबेला परिवार नियोजनका साधनहरूको नाम उच्चारण गर्न मात्र पनि लाज मान्ने महिलाहरू यतिबेला सहजै यसको प्रयोग गर्न थालेका छन्।
हिमाली जिल्ला हुम्लामा पनि अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ। बढी सन्तान नजन्माउने जनचेतना पाएपछि पछिल्ला वर्षहरूमा यी साधनहरूको प्रयोग गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको हो।
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले पालिकाभरी परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको बताएका छन्।
परिवार नियोजनको अस्थायी साधन डिपो प्रयोग गर्ने महिलाहरूको सङ्ख्या पछिल्लो तीन वर्षयता बढी रहेको पाइएको छ। तीन वर्षमा पहिलो वर्ष ५७ जना रहेकोमा त्यो सङ्ख्या दोस्रो वर्ष ६६ पुगेको थियो भने यो वर्ष वृद्धि भएर ९७ जना पुगेको हो।
त्यसैगरी, सो गाउँपालिकामा इम्प्लाण्ट प्रयोग गर्ने महिलाको सङ्ख्या ७७ जना रहेको छ भने पिल्स चक्की खाने महिलाको सङ्ख्या पनि ७८ जना रहेको छ।
पहिले स्वास्थ्य चौकीमा अस्थायी साधनहरू त्यति कै खेर गएको स्मरण गर्दै अहिले भने वृद्धि हुनु सकरात्मक पक्ष हो। यसका साथै यहाँ कन्डम प्रयोग गर्ने पुरुषको सङ्ख्यामासमेत वृद्धि भइरहेको छ।
यी साधन गाउँपालिकको पाँच वटा वडाका आठ स्वास्थ्य संस्थाबाट महिलाहरुले प्रयोग गर्दै आएका छन्। स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका मार्फत पनि यी साधन प्रयोग गर्न महिलालाई जनचेतना फैलाउने गर्दै आएका छन्।
डिपो प्रयोग गर्दै आएकी ताँजाकोट गाउँपालिका- २ की एक महिलाले पहिले धेरै बच्चा जन्मदासम्म पनि यी साधन प्रयोग गर्ने गरेकोमा अहिले भने एक सन्तान जन्मने बित्तिक्कै महिलाहरू साधन प्रयोगमा आकर्षित हुन थालेको बताइन्। उनले धेरै सन्तान जन्माए पालनपोषण र पठनपाठन गर्न कठिन हुने बुझेपछि आफूले पनि प्रयोग गर्ने र अरुलाईसमेत प्रयोग गर्न सुझाब दिन थालेको बताइन्।
यसबारेमा महिलाहरू एक आपसमा पनि खुलेर बोल्न थालेका छन्। जसले गर्दा जनसङ्ख्या बृद्धिदर पनि सो गाउँपालिकामा घटिरहेको छ।