घरआडैको सानो खोलाले लुट्यो १२ वर्षीय बालकको जिन्दगी

घरआडैको सानो खोलाले लुट्यो १२ वर्षीय बालकको जिन्दगी
+
-

काठमाडौं- साउन ७ गते दिनभर परेको पानीले काठमाडौं महानगरपालिका-३ रानीबारी जलमग्न बनेको थियो। सडक छेउबाट बग्ने सामाखुसी खोलामा पानीको सतह बडेर सडकभरि पनि पानी-पानी भइसकेको थियो। सामाखुसी खोलालाई सिमेन्टको स्ल्याबले कहिँ ढाकिएको छ त कहिँ खाली नै छ। बाटो जलमग्न भएकोले सडक र खोला कता छ, छुट्याउनै गाह्रो थियो। सडक छेउमा पसल गर्ने केही व्यक्तिहरुले देखेजति र आफूले कामबाट फुर्सद पाएसम्म सबै बाटो हिँड्ने व्यक्तिहरुलाई धेरै पर नजान सम्झाइरहेका थिए।

आइतबार साँझ करिब साढे पाँच तिर विद्यालयहरु विदा भएर प्राय: बालबालिकाहरु आफ्नो घर आएर खेल्न निस्किने समय भइसकेको थियो। १२ वर्षीय विधान आलेमगर पनि विद्यालयबाट घर पुगेर आफ्नो झोला राखे र खेल्न निस्किए। उनी पानीपोखरीस्थित भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ६ मा आध्ययनरत छात्र हुन्। उनी पढाइमा अब्बल त थिए नै, सँगै खेलकुदमा पनि उतिकै अगाडि थिए। तेक्वान्दो र फुटबल खेल्न रुचाउने उनी विद्यालय स्तरीय फुटसल प्रतियोगितामा पनि सहभागी हुने गरेका थिए।

सोही विधानलाई बाढीसँगै आएको सामाखुसी खोलाले आइतबार साँझ करिब ५:३० बजेतिर बगाएर बेपत्ता बनायो। पानीको बहाव बढेर सडकमै बग्दै गरेको खोलाले विधानलाई क्षणभरमै बेपत्ता बनायो। फुटसल खेल्न भनेर घरबाट निस्किएका उनी क्षणभरमै बेपत्ता भए। बग्दै गरेको खोलाले विधानलाई कहाँ पुर्‍यायो,  मंगलबार साँझसम्म केही पत्तो छैन। प्रहरीले खोजी कार्य जारी राखेपनि उनलाई भेट्टाउन सकेको छैन।

बिधान खसेको रानीबारी क्षेत्रको सामाखुसी खोला।

विधानको घर परिवारमा बोलाउने नाम साजन हो। उनी हाल आफ्नो फुपुसँग बस्दै आएका थिए। विधानका बुबा दोहोरी साँझ चलाउँछन् भने आमा करिब २ महिना पहिले मात्रै वैदेशिक रोजगारीको लागि पोर्चुगल गएकी छिन्। आमा विदेश जानुअघि बुबा आमासँगै बस्दै आएका विधान हाल फुपुसँग बस्दै आएको उनका हजुरबुबा लिला आलेमगरले बताए।

जलमग्न बनेको सडक देखेर आज खेल्न नजाऊ भन्दै विधानकी फुपुले भनिरहेकी थिइन् तर उनले भने पानीकै कारण सधैँ खेलिरहेको फुटसल खेल्न नजानुपर्ने ठानेनन्।  खेल्न जाने साथी र विधान घरको गल्लीबाट निस्किएर सामाखुसीतर्फ लागे । सडक जलमग्न भएकोले विधान र उनका साथी बाटोमा अग्ला भागहरु खोज्दै हिँडिरहेका थिए। नदीबाट सडक बनाउन उठाएको सानो पर्खाल हुँदै अघि बढ्ने क्रममा उनको आफूअघि बिजुलीको पोल देखे। बिजुलीको पोल छलेर जान खोज्दा उनको खुट्टा चिप्लिएर खोलामा पर्‍यो र उनी क्षणभरमै बेपत्ता बने।

सामाखुसी खोला नजिकैको हिलाम्ये बाटो।

रिपोर्टिङको लागि देशसञ्चारको टोली उक्त स्थानमा पुगी स्थानीयसँग कुरा गर्दा हामीले विधान खोलामा झर्दै गर्दा एकजना किराना पसलको महिलाले देखेको कुरा थाहा पायौं। उक्त प्रत्यक्षदर्शी महिलासँग कुरा गर्दा उनी हामीसँग खासै खुलेर बोल्न चाहिनन्। उनले आफूले बच्चा बगेको देखेको मात्रै बताइन्। उक्त क्षेत्रका अन्य स्थानीयका अनुसार भने ती प्रत्यक्षदर्शीले बच्चालाई खोलाले बगाएको देखेर पनि केही समयसम्म नभनी चुप लागेर बसेको गुनासो गरिरहेका थिए। सँगै खेल्न निस्किएका अर्का साथीले विधानको फुपुलाई गएर खोलाले बगाएको कुरा भनेपछि मात्रै घटना बाहिरिएको थियो।

सामाखुसी खोला।

विधान बेपत्ता भएयता उनकी फुपु, बुबा, हजुरबुबा लगायत परिवारको आँखामा आँसु सुकेको छैन। विधानका हजुरबुबा लिला आलेमगर अहिले पनि नाति यतै कतै छ कि भनेर खोलातिर हेर्दै उनलाई नै खोजिरहेका हुन्छन्।

‘एउटा मात्रै छोरा थियो। पढाइमा, खेलकुदमा जेमा पनि उतिकै राम्रो थियो। उसकै भविष्य राम्रो होस् भनेर आमा (विधानकी आमा) पोर्चुगल गएकी छ। यसरी खोलाले बगाएर हाम्रो नानी क्षणभरमै बेपत्ता होला भनेर कस्ले सोचेको थियो र?’ घरअघिबाटै बगिरहेको खोलामा नातिलाई खोज्दै उनी भन्छन्, ‘यतै कतै अल्झिएको पो छ कि जस्तो लाग्छ।’

घटना भएको स्थानबाट करिब ३/४ मिनेटको दुरीमा प्रहरी बिट छ । घटनाबारे थाहा पाइसकेपछि पनि करिब आधा घन्टापछि मात्रै प्रहरी पुगेको स्थानीय बताउँछन्।

प्रहरीले भने विधानको खोजी तीव्ररूपमा गरिरहेको छ। उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर तटीय क्षेत्रहरुमा पुगेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले खोजी गरिरहेको छ। ‘बालक बगेर तटीय क्षेत्रहरुमा पुगेको हुनसक्ने अनुमानका साथ स्वयम्भू, चोभार, कालिमाटी लगायतका तटीय क्षेत्रसँगै अन्य विभिन्न स्थानमा समेत खोजी गरिरहेका छौं,’  उनले भने।

उनका अनुसार खोजीका लागि डेडिकेटेड टिम ४५ जना खटिएको र अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ। प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त सोह्रखुट्टे, विपद् उद्धार महाशाखा सामाखुसी लगायतको टोली पनि खटिएको उनले जानकारी दिए।

यस्तै खोजीमा गोताखोर सहितको टोली चाहिने भएकोले सशस्त्र प्रहरी बलको टोली पनि खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष