
मोरङ – कोशी प्रदेशको धरान उपमहानगरपालिकामा हालसम्म डेंगुका कारण सात जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार जेठदेखि हालसम्म डेंगुका कारण सात जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा ६ जना दीर्घरोगी रहेको उनले जानकारी दिए। डेंगुका कारण हालसम्म ४ महिला र ३ पुरुषको मृत्यु भएको हो। स्वास्थ्य प्रमुख मेहताका अनुसार जेठ २३ गते धरान–१७ की ३० वर्षीया महिला, असार १५ गते धरान–११ की ४० वर्षीया महिला, साउन २ गते धरान–११ का ७९ वर्षीय वृद्ध, धरान–१८ का ८४ वर्षीय वृद्ध, साउन ३ गते धरान–५ की ५३ वर्षीया महिलाको डेंगुको कारण मृत्यु भएको हो।
त्यसैगरी, साउन ७ गते धरान–१० का ५६ वर्षका पुरुषको मृत्यु भएको मेहताले जानकारी दिए। धरान उपमहानगरपालिकाका अनुसार हालसम्म ३ हजार ५ सय ३२ जनाको डेंगु परीक्षण गरिएको छ । जसमा २ हजार ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यसैगरी, प्रदेश राजधानी विराटनगरमा हालसम्म ५ जनामा डेंगु पुष्टि भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। महानगरका स्वास्थ्य अधिकृत हैदर अलीका अनुसार मानवीय क्षति नभए पनि हालसम्म ३ वटा वडाबाट ५ जनामा संक्रमण देखिएको हो।
उनले भने, ‘हाल महानगरको तथ्यांकमा हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ। मानवीय क्षतिको अवस्था छैन। यसबाहेक निजी अस्पतालमा उपचार गराएको हकमा हामीलाई जानकारी आएको छैन।’
महानगरको वडा नम्बर १ मा २ जना, वडा नम्बर ४ मा २ जना र वडा नम्बर ७ मा १ जनामा संक्रमण पुष्टि भएको छ। हानगरपालिकाले डेंगु संक्रमण फैलिन नदिन विभिन्न सचेतनात्मक काम गर्दै आएको बताएका स्वास्थ्य अधिकृत अलीले महानगरमा रहेका १ सय १० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलाई डेंगुबाट जोगिने विषयमा तालिम दिएको जानकारी दिए।
तालिम लिएका सबै जनाले महानगरको १९ वटा वडामा डेंगुबाट जोगिने उपाय, नालामा पानी जम्न नदिने, सुत्ने बेला झुल राख्नेलगायत विषयमा जानकारी गराउँदै आएको अलीले बताए।