
काठमाडौं- ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा पक्राउ परेका दुई कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगाना धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
उनीहरु २ सहित क्लबका सिइओ रविन श्रेष्ठविरुद्ध बालबालिकाविरुद्धको कसूरमा मुद्दा दर्ता भएको थियो। श्रेष्ठ भने हाल फरार नै छन्।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले गरेको जबरजस्ती करणीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेर काठमाडौं प्रहरीको जिम्मा लगाएको थियो । तर, सरकारी वकिलले घटना भएका बेला क्लबमा उनीहरुको उपस्थिति नदेखिएको भन्दै थुनामुक्त गरिदिएको थियो ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए। संचालकहरु दुवैले आफूहरु त्यसबेला क्लबमा नभएको भन्दै इन्ट्रान्स गेटमा खटिएका कर्मचारी सेढाईँ र ढुंगानालाई पीडित र उनकी साथीले झुक्याएर कसरी प्रवेश गरे भन्ने सम्बन्धित कर्मचारीबाटै बुझिपाउँ भन्दै बयान दिएका थिए । त्यसपछि काठमाडौं प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको थियो ।