
नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जले १३३ औँ वार्षिकोत्सव मनाएको छ। वीर अस्पतालसँगसँगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रिफरल सेन्टरको रुपमा रहेको छ।
वि.सं. १९४७ मा पृथ्वी-वीर डिस्पेन्सरीको रुपमा स्थापना भएको अस्पतालको रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अस्पताल नामाकरण गरिएको थियो। अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईका अनुसार भेरीमा वर्षमा एक लाख ८० हजार चार सय ३२ जनाले सेवा लिएका छन्।
भेरी अस्पतालले गुणस्तरसँगै सेवा थपिरहेको छ। कोरोनाकालमा भेरीले ठूलो सेवा दिएको थियो। अहिले सिकलसेलका विरामीलाई विशेष सेवा दिइरहेको छ।
वार्षिकोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी संघमार्फत सञ्चालनमा रहेपनि प्रदेशले समन्वयसँगै गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता गरे।
अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दलका नेता, अस्पतालका पूर्व प्रमुखहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए। सो अवसरमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो।