
पोखरा – शुक्रबार दिउँसो अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीमा आबद्ध किसानका नेता पोखराको पृथ्वीचोकमा भेला भए। उनीहरु भेला भएका थिए, लम्पी स्किनलाई महामारीको रुपमा घोषणा गर्न सरकारलाई दबाब दिँदै विरोध जनाउन।
१२ बज्नेवित्तिकै पृथ्वीचोकको दायाँतर्फबाट ‘लम्पी स्किनलाई महामारी घोषणा गरियोस्’, ‘किसानलाई राहत दे’, ‘बिमालाई सुनिश्चित गरियोस्’, ‘बिमा कम्पनीले भुक्तानी गर’, लगायतका नारा घन्काउँदै सडकको बीचमा एक हुल पुगे।
विरोध प्रदर्शनमा आएका किसानका नेताले चक्काजाम गरेरै केहीबेर नाराबाजी गर्न चाहन्थे। ब्यानरसहित सडक कब्जा गर्न प्रयास पनि गरे। तर, प्रहरीले भने गन्तव्यमा हिँडेका सवारीलाई पृथ्वीचोक पार गराउने तारतम्य मिलाउँदै थियो।
सवारी रोक्नुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोवर्द्धन गौली सडकमै लम्पसार परेर सुते। एक पटक मात्रै होइन प्रहरीले धरपकड गर्न थालेपछि उनी पटकपटक सडकमै सुतेरै नारा लगाउथे। आधा घण्टासम्म पृथ्वीचोकमा किसानका नेताले नाराबाजी लगाए।
लम्पी स्किन रोगलाई महामारी घोषणा गरेर द्रुत गतिमा उपचारद्वारा नियन्त्रण गर्न अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गोवर्द्धन गौलीको माग छ। किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनासहित राहतको प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ।
मरेका पशुको बिमा भुक्तानी तत्काल गर्नुपर्ने मागसमेत गौलीले गरे। ‘लम्पी स्किन भन्ने डर लाग्दो महामारीको रोग हो। यो रोग किसानका गाईवस्तु समाप्त भएका छन्’, उनले भने, समाप्त भएको अवस्थामा न सरकारले क्षतिपूर्ति दिएको छ न किसानले बिमा गरेको बिमा कम्पनीहरुले रहात दिएको छ।’
उनले किसान दोहोरो मारमा परेको गुनासो गरे। सरकारले सम्बोधन गरेर बिमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने उनको माग छ। कृषिमा क्रान्ति नभइन्जेल देशमा समृद्वि नआउने गौलीको दाबी छ।
गण्डकीमा हालसम्म ५८ हजार ९८२ गाइभैसी लम्पी स्किनबाट संक्रमित भएको कृषि तथा भूमि व्यवस्था मन्त्रालय पशुपंछी विकास महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए। उनका अनुसार गण्डकीमा २ हजार २८४ गाईबस्तु मरेका छन्।
२७ हजार ११८ पशु निको हुँदा ३१ हजार ८६४ पशु अझै संक्रमित छन्। १ लाख ३ हजार २३० गाईबस्तुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको उनले बताए।
गण्डकी प्रदेशका ११ जिल्लामै लम्पी स्किन फैलिएको छ। मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङको नापाभूमि गाउँपालिकाबाहेक ८२ वटा स्थानीय तहमा लम्पी स्किनको संक्रमण फैलिएको छ।
सबैभन्दा बढी गोरखाका १६ हजार ९९६ र कम मनाङका ११ पशुचौपाय लम्पी स्किनबाट संक्रमित भएका छन्।
‘मनाङमा चौरीमा पनि संक्रमण देखिएको थियो। अहिले निको भएका छन्’, उनले भने, ‘पछिल्लो समय प्रदेशभर नै संक्रमणदर घटिरहे पनि नियन्त्रणमा भने आउन सकेको छैन।’