
मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिकामा ६ सय ५० जनामा डेङ्गु संक्रमण भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार गएको डेढ महिनामा जिल्लाभित्र पथरीशनिश्चरे नगरपालिकासहित कुल ८ सय ६५ जनामा डेङ्गु संक्रमण भएको हो। उनका अनुसार हाल पथरीशनिश्चरे नगरपालिकामा डेङ्गु संक्रमितको संख्या अधिक देखिएको हो।
उनका अनुसार हालसम्म मोरङका १७ पालिकामध्ये विभिन्न सात पालिकामा संक्रमण फैलिँदै गएको छ। जसमा सुनवर्षी नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, कानेपोखरी गाँउपालिका, केराबारी गाँउपालिका र मिक्लाजुङ गाँउपालिकामा डेङ्गु संक्रमण फैलिँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु संक्रमणका बिरामी विराटनगरमा समेत देखिएका छन्।
विराटनगरको कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चन्द्रभाल झाका अनुसार डेढ महिनायता १५ जना डेङ्गु संक्रमितको उपचार भएको छ। जसमा १२ जना निको भएर घर फर्किएको र ३ जनाको उपचार भइरहेको मेसु डा. झाले जानकारी दिए।
डेङ्गुका कारण हालसम्म मोरङमा मानवीय क्षति भने नभएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।