
मोरङ – बढ्दो डेंगु संक्रमण समाधानका लागि विराटनगर महानगरपालिकाले तयारी सुरु गरेको छ। सोमबार महानगर उपमेयर शिल्पा कार्की निरालासहित स्वास्थ्य महाशाखाको टोलीले महानगरपालिका भवनपरिसरबाट डेंगु हुन सक्ने सम्भावित स्थानको खोजी गर्दै लामखुट्टेको लार्भा नष्ट गरेको थियो।
महानगर उपमेयर कार्कीले महानगरका अस्पतालमा धरानबाट उपचारका लागि आएका विरामीबाहेक सीमित संख्यामा संक्रमित रहेको जानकारी दिइन्।
सोही क्रममा सोमबार विभिन्न वडाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य केन्द्रका कर्मचारीलाई डेंगु संक्रमणको विषयमा सचेतना गराउने कार्यक्रम गरिएको उपमेयर कार्कीले बताइन्।
डेंगुबारे सचेतना गराइसकेपछि महानगरभित्र पानी जमेका स्थानमा भेटिएका लार्भा नष्ट गराउने तरिका उनीहरूलाई सिकाइएको उपमेयर कार्कीले बताइन्। महानगरभित्र उपमेयर कार्कीले त्रिपालमाथि जमेको पानी, सवारी साधनको टायरमा जमेको पानीमा लामखुट्टेको लार्भा भेटिएको र नष्ट गरिएको बताइन्।
महानगरभित्र रहेको टायरमा र बकेटमा जमेको पानीमा लार्भा भेटिएपछि उनले सरसफाइ कर्मचारीलाई जमेको पानी फाल्न निर्देशन दिएकी थिइन्।
उपमेयर कार्कीले भनिन्, ‘अहिले विराटनगर महानगरभित्र डेंगुको प्रभाव धेरै देखिएको छैन। तर, हामीले लापरबाही गर्दै जाँदा त्यसले अवस्थालाई गाह्रो नबनाउला भन्न सकिन्न। त्यसैले हामी शुक्रबारबाट बृहत् रुपमा खोजी र नष्ट अभियान सुरु गर्दै छाैँ।’
महानगरले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग नियन्त्रणका लागि शुक्रबारबाट ठूलो अभियान सुरु गर्न लागेको जनाएको छ।
महानगरभित्र भएका घरपरिवारलाई शुक्रबार बिहान ७ देखि ९ बजेसम्म सर्च एण्ड डिष्ट्रोय अभियानबारे घर घरमा पुगेर जानकारी गराउने तयारी महानगरले गरेको छ। महानगरका अनुसार लामखुट्टे मार्ने औषधि आवश्यकताअनुसार छर्किंदै गएको महानगरले सुरुमा महानगरवासीलाई घरवरिपरि सफा जमेको पानी फाल्न आह्वान गरेको छ।